कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाँडा बन्यो सहर

विराटनगरलाई पहाडबाट झरेकाले ५ दसकभित्र विकसित थलो बनाए । उहिलेको मानगढ र अहिलेको पुष्पलाल चोकका बासिन्दा ८० प्रतिशत पूर्वी पहाडी जिल्ला खोटाङ र भोजपुरका हुन् ।
जितेन्द्र साह

विराटनगर — पुष्पलाल चोक २०३० सालसम्म उब्जनी नहुने सुख्खा डाँडा थियो । पानी थिएन । वरिपरि वयरझाडी र सिमलको रुख थियो । दिउँसो एक्लै आउँदा डर लाग्थ्यो । पहाडबाट झरेकाको २० घरधुरी थियो । उनीहरू वरिपरिको खाली जग्गामा रहर छर्थे । सहर माझ बसेकाहरू यो थलोलाई दुर्गम ठान्थे । नक्सामा मात्र सडक थियो । रिक्सा र गाडी चल्दैन्थे । 

डाँडा बन्यो सहर

किसान एवं समाजसेवी ६३ वर्षीय भोला घिमिरेले विराटनगरको सबैभन्दा विकसित बस्ती पुष्पलाल चोकको विगत संझे । ‘हाल यो थलोमा १० धुर घडेरी किन्ने र घर बनाउने धेरैको सपना हुनेगर्छ,’ उनले भने, ‘पानी ट्यांकीको टुप्पोबाट हेर्दा पक्की घर मात्र देखिन्छ ।’


विराटनगरको मुख्य सहरी क्षेत्र ट्राफिक चोकबाट ६ किमी टाढाको यो उत्तरी बस्तीमा फराकिलो कालोपत्रे सडकको माझमा बगैंचा, दुवैतिर फोहोर फाल्ने व्यवस्था, सोलार बत्ती, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय, सरकारी कार्यालय र थुप्रै शिक्षण संस्था छन् । चिटिक्क परेको यस ठाउँमा पुग्दा विकसित विदेशी भूमिमा पुगे झैं लाग्छ ।


प्राचीन नाम मानगढ भएको यो स्थान पहाडबाट झरेका किसान र सरकारी कर्मचारी परिवारले गुलजार पारेको स्थानीय ३७ वर्षीय उज्ज्वलराज नेपालले बताए । ‘महानगरको सबैभन्दा उचाइको यो बस्तीमा तल्लो सहरिया भेकको तुलनामा चिसो हुन्छ, यहाँका अधिकांश नागरिक पहाडी जिल्लाका भएकाले यसलाई विराटनगरको पहाड पनि भनिन्छ,’ नेपालले भने । यो चोकको वरिपरि खुल्ला ठाउँ छ ।


पूर्वमा थारु बहुल महानगरपालिका–१९ को बैजनाथपुर, ग्रामथान गाउँपालिकाको झोराहाट, पश्चिममा मुख्य कोसी राजमार्ग, उत्तरमा बुढिगंगा गाउँपालिका र दक्षिणमा पोखरिया बस्ती छ । हाल विद्युत् प्राधिकरणका अधिकृत नेपालको आमाबुवा भोजपुर, झापा, खोटाङ हुँदै विराटनगर झरेका थिए ।


नेपाल परिवारले यहाँ घर बनाएर बस्न थालेको २३ वर्ष भइसकेको छ । ‘मैंले देख्दा पनि यहाँ पातलो बस्ती थियो, परको घिना घाटमा मृत्यु संस्कार गरिन्थ्यो,’ उनले भने, ‘साँझबिहान एक्लै हिँड्न डर लाग्थ्यो । एउटा धर्मशाला थियो जहाँ घाटमा आएकाहरू बस्थे ।’ यहाँ २४ वर्ष अगाडि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको सालिक बनेपछि पुष्पलाल चोक भनेर नामाकरण गरिएको हो ।


विराटनगरका प्राध्यापक एवं संस्कृतिविद कृष्ण गुरागाईंका अनुसार राजा विराटको पालामा शक्रुको आत्रमणलाई निस्तेज पार्दै देशको गरिमा बचाउनलाई यहाँ हतियार एवं सेना राखिने हुनाले यो किलालाई मानगढ भनिएको थियो । संस्कृतिविद गुरागाईले यो महानगरलाई सत्ययुगमा ब्रह्मदेश, त्रेताको सुरुमा सत्यवतीदेश, द्वापरको सुरुमा मत्स्यदेश र द्वापरको अन्तिमतिर विराटदेश भनिने बताए ।


अवसरको खोजी गर्दै पहाडबाट मधेस झरेका निम्न मध्यमवर्गीले सस्तोमा जग्गा किनेर बसोबास गर्न थालेका थिए । ‘सबैखाले राजनीति विचारधारा बोक्ने नागरिकको बस्ती हो, हामी सबैको उद्देश्य यो ठाउँमा नमुना विकास गराएर देशमा चिनाउनु थियो,’ ६० वर्षीय गोपाल कटवालले भने ।


२०४६ को जनआन्दोलनपछि स्थानीय पहाडबासी यो चोकमा बीपी वा पुष्पलाल जस्ता आदर्श नेताको सालिक बनाउन चाहन्थे । ‘जिल्ला प्रशासन कार्यालयसँग सालिक बनाउने अनुमति मागिंदा त्यतिबेलाका प्रमुख जिल्ला अधिकारीले पुष्पलालको सालिक बनाउन दिने निर्णय गरे,’ कटवालले भने, ‘उहाँहरूको नाम बेचेर लाभ लिन चाहेका थिएनौं, हाम्रा लागि दुवै आदरणीय हुन्, बीपी र पुष्पलालको विचारपथमा हिँड्दै समृद्ध बस्तीको निर्माणमा लाग्न चाहन्थ्यौं ।’


खोटाङ विजय खर्क, हालको मझुवा रुपाकोट नगरपालिकाबाट २०४२ सालमा आएका उनले पूर्वाधार विकासमा यो महानगरकै उदाहरणीय बस्ती बनेको बताए । उनी २०३२ सालमा गाउँ फर्क अभियानमा वडा अध्यक्ष भएका कटवालले व्यवसाय गर्न मधेस झरेको बताए । ‘यातायातको समस्या भएको पहाड घर छाडेर विविध थरिका व्यवसाय गर्दै नागाल्याण्डमा बसेँ, फलिपाप नभएपछि व्यापार गर्नलाई विराटनगर आएँ,’ उनले भने, ‘यहाँबाट थोरै परको भट्टाचोकमा दुई वर्ष भाडाको घरमा बस्दै दाउरा, धान र जग्गाको कारोबार गरेँ ।’


कटवालले अलिक पुँजी जोडे । पुष्पलाल चोकको ठिक अघिल्तिर ५० हजार रुपैयाँ एक कठ्ठा जग्गा किने । काठको घरमा उनले चिया पसल थापे । व्यवसाय राम्रो चल्न थाल्यो । १० वर्ष अघि १० लाख रुपैयाँमा पाँच धुर जग्गा जोडे । ‘मैंले ५० हजार रुपैयाँ कठ्ठा किनेको जग्गा पछि धुरकै दुई लाख रुपैयाँ भयो,’ कटवालले भने । उनले पक्की घर बनाएर मासिक ५० हजार रुपैयाँमा भाडामा दिएका छन् ।

राजनीति र व्यापार बाहेक सरकारी जागिर एवं खेतीपातीमा पनि यहाँका स्थानीय अगाडि नै छन् । खोटाङ, इटहरी हुँदै २०५९ मा विराटनगरको यो बस्तीमा आएका ६७ वर्षीय प्रभुनाथ आचार्यले काठमाडौं जतिकै जग्गा महंगा होला भनेर कसैले कल्पना नै नगरेको बताए । माओवादी द्वन्द्वको उत्कर्षसँगै यहाँको जग्गाको भाउले आकाश छोएको उनले सुनाए ।


यो बस्तीमा बसोबास गर्नेमा बढी निजामति कर्मचारी छन् । विराटनगरबाट लोकसेवा आयोगमा नाम निकाल्ने एक तिहाइ यही बस्तीका युवायुवती हुन्छन् । छ वर्ष अगाडि लोकसेवा आयोगले लिएको अञ्चल स्तरिय खरिदार पदको परीक्षामा १७ मध्ये १४ जना पुष्पलाल चोककै भएको स्थानीय आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय सुभाष

रेग्मीले बताए ।


२०५२ मा मदिरा निषेधित यो क्षेत्रभित्र भट्टी वा रक्सी पसल छैन । घिमिरेको अनुसार यहाँ यति ठूलो विकास २० वर्षको अवधिमा भएको हो । पिउने पानीका लागि एक इनार र नजिकैको आर्यघाटमा आउनेका लागि धर्मशाला भएको यो थलोलाई धेरै वर्षसम्म धर्मशाला चोक भनेर चिनिएको थियो । हिजोआज स्थानीय ज्येष्ठ नागरिक चियाखाजा पसलमा बसेर विगत र वर्तमानका तितामिठा सुनाइरहेका भेटिन्छन् ।

प्रकाशित : वैशाख १४, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?