कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी सडकमा धमाधम कालोपत्रे

अवधि सकिए पनि काम अपूरै भएपछि चौतर्फी दबाबका कारण कामले तीव्रता पाएको हो
डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडक खण्डमा कालोपत्रे गर्ने काम तीव्र पारिएको छ  । अवधि सकिए पनि काम अपूरै भएको चौतर्फी दबाबपछि कामले तिब्रता पाएको हो  ।

मध्यपहाडी सडकमा धमाधम कालोपत्रे

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने यो सडक खण्डको (८८ किलोमिटर) मध्ये दारुलाडाँडा–दिक्तेलसम्मको १८ किलोमिटर सडक यो असारसम्ममा पिच गर्ने लक्ष्यका साथ काम बढाइएको निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । अन्य भने अर्को वर्षसम्ममा मात्र सकिने सेर्पाले सुनाए ।


यो सडकको चार वटा प्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ वैशाख २ गते, तीन नम्बर प्याकेज असार १६ गते र चार नम्बर प्याकेजको चैत १६ गते दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसंग संझौता गरेको थियो । यसमध्ये एक र दुई नम्बरको प्याकेजको अवधि थपेर आगामी असारसम्म पुर्‍याइएको छ ।

तीन र चार नम्बर प्याकेजको अवधि आगामी चैतसम्मका लागि थपिएको छ । सेर्पाका अनुसार एक नम्बर च्यानडाडा–पेलुङसम्मको (१० किलोमिटर) ५० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म (८ किलोमिटर) ५० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला (९ किलोमिटर) ८० प्रतिशत र चार नम्बर प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) ९० प्रतिशत काम सकिएको छ ।


करिब एक अर्ब, नौ करोड, १९ लाख रुपैयाको लागतमा सम्पन्न हुनु पर्ने यो सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ । पेटी ठेक्का, बेलामा सडक पुल नबन्नु लगायतका कारण ढिलाइ भएको सेर्पाले बताए । यस सडक खण्डमा आठवटा पुलमध्ये दुई वटा मात्र सकिएको छ । आठमध्ये चार वटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । चारमध्ये कालिखोला र लप्से खोलाको सकिएको छ । दाम्दे र साप्सुखोलाको पुल पनि अन्तिम चरण पुगेको सेर्पा सुनाए । ‘दुईवटै पुल अन्तिम चरणमा पुगेको छ ।’

सेर्पाले भने–‘अब एक हप्ताभित्र सकेर बुझाउँने तयारीमा छौं ।’ यो सडक खण्डमै पर्ने भुल्के खोलाको पुल भने निर्माण सुरु मात्र भएको छ । यहाँ रहेको धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले उक्त पुल सार्नु पर्ने हुदाँ निर्माणमा ढिलाई भएको हो । यद्यपि अर्को वर्ष भने सकिने निर्माणमा संलग्न सगरमाथा घिमिरे निर्माण सेवा सम्बद्ध कृष्णप्रसाद घिमिरेले बताए । भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन ।

प्रकाशित : वैशाख २५, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?