कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शोकमा परिवार, त्रासमा सहपाठी

पाँचथर — हिलिहाङ गाउँपालिका ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्यापछि उनको परिवार शोकमग्न छ । हत्याका मुख्य योजनाकार भनिएका फाल्गुनन्द गाउँपालिका २ पात्लेभञ्ज्याङका पदम तामाङ पक्राउ नपर्दा अविभावक, आफन्त, छिमेकी, सहपाठीसँगै सिंगो गाउँका बासिन्दा त्रसित छन् ।

शोकमा परिवार, त्रासमा सहपाठी

हिलिहाङ ४ स्थित सिद्ध मावि कक्षा १० मा अध्ययनरत योङहाङको वैशाख २९ गते साँझ घर नजिकैको खाली घरमा घाँटी रेटेर हत्या भएको थियो । घटना भएको भोलिपल्ट हत्यामा संलग्न भगीरथ बास्तोला पक्राउ परे पनि मुख्य योजनाकार भनिएका पदम तामाङ भने फरार छन् ।


‘घटना भएको एक साता बित्दासम्म छोरीका हत्यारा पक्राउ परेका छैनन्, गाउँघरमै लुकेर बसेका छन् भन्ने सुनेका छौं, पक्रेर कारबाही होस् भन्ने चाहन्छौं,’ मृतककी आमा मनु योङहाङ भन्छिन् । घटनापछि आमाको अवस्था दयनीय बन्दै गएको छ । खाना खाएकी छैनन् । भाइहरू रोइरहन्छन् । ‘सम्झाउन बुझाउन कोसिस गर्दा आफ्नै मुटु गाठो परेर आउँछ,’ छिमेकी प्रेम सेरेङ भन्छन् । बुवा वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । फोन गरेर दोषी पक्राउ पर्‍यो कि छैन भनेर जिज्ञासा राखिरहेको आफन्तले बताए ।


छात्राको उपस्थिति घट्यो

उनी पढ्ने सिद्व मावि पञ्चमीमा शीतलको हत्या भएको दिनदेखि विद्यार्थी संख्या घटेको छ । छात्राको उपस्थिति लगभग ६० प्रतिशतले घटेको छ । ‘एउटै बेन्चमा बसेर पढ्ने साथीको हत्या भयो । एक सातासम्म हत्यारा पक्राउ परेका छैनन् । घर स्कुलभन्दा टाढा छ बाटोमा जंगल पनि छ जानै डर लाग्छ,’ सहपाठी सृष्टि योङहाङले भनिन् ।


‘विद्यार्थीको के कुरा शिक्षक शिक्षिका र छिमेकीलाई नै एक्लैदोक्लै हिंड्ने अवस्था छैन, नयाँ मान्छे गाउँमा देख्दा को हो र किन आयो भनेर डर लाग्छ,’ शिक्षिका अम्बिका घिमिरे भन्छिन् । हत्यारा पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको स्थानीयको आरोप छ । घटनाको तेस्रो दिन पक्राउ परेका बास्तोलालाई लिएर घटनास्थल पुगेको थियो । बाँस्तोलाले घाँटी रेटेर जंगलमा खुकुरी फ्याँकेको बयान दिएपछि विद्यार्थीसँगै खुकुरी खोजिएको प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।


घटनास्थल घर र विद्यालयको मध्यभागमा छ । हिलिहाङ गाउँपालिकाको कार्यालय पनि विद्यालयभन्दा ५ मिनेटको दूरीमा पर्छ । ‘गाउँपालिका केन्द्र नजिकै यस्तो घटना हुन्छ भने हामी कसरी सुरक्षित हुने ?’ नागरिक अगुवा ईश्वरी गिरीले भने ।


प्रहरीका अनुसार तामाङ र योङहाङ प्रेमी–प्रेमिका हुन् । तामाङ उनलाई भेट्न घटना हुनुभन्दा ४ दिनअघि योङहाङको गाउँ आएका थिए । तामाङ गाउँ आएपछि उनीहरूबीच मोबाइलको सिम साटासाट भएको थियो । चार दिनको गाउँ बसाइमा प्रेमिकालाई अरू कसैले फोन गरेको थाहा पाएपछि हत्या गरेको हुनसक्ने बाँस्तोलाको बयानबाट खुलेको प्रहरी बताउँछ ।


मृतकको परिवारलाई गाउँपालिकाले राहतस्वरूप १ लाख रुपैयाँ उपलब्ध गराएको हिलिहाङ ४ का वडाध्यक्ष श्रीप्रसाद सिगुले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?