कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किराँत समुदायको उँभौली रमझम

प्रकृतिका पुजारी किराँत समुदायले वैशाख पूर्णिमाको अघिका १५ दिन र पछिका १५ गरी १ महिनासम्म उँभौली रमझम हुने गर्छ
डिल्लीराम खतिवडा

उदयपुर — किराँत समुदायको चाड ‘उभौली’ को रमझम सुरु भएको छ । वैशाख पूर्णिमाअघिको १५ दिन र पछि १५ दिन गरी महिना दिनसम्म किराँत समुदायले यो चाड मनाउँछन् । 

किराँत समुदायको उँभौली रमझम

उँभौलीको अवसरमा किराँत समुदायले आ–आफनो घरको कुलपितृ गर्ने, शुभकामना आदानप्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक चण्डी नाच नाच्दै मनाउने गर्छन् । चाडकै अवसर पारेर किराँत समुदायले शनिबार चौदण्डीगढी नगरपालिका ४ वर्षे डाँडामा सामूहिक चण्डी नाचसँगै शुभकामना आदन–प्रदान गरे ।


झन्डै दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराँत समुदायले यो चाडलाई आआफ्नै भाषा र शैलीमा मनाउने गरेका छन् । पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायले उँभौली विशेष रूपमा मनाउने गर्छन् । उँभौलीलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्यादर भन्ने गर्छन् ।


किराँत समुदायले बालीनाली लगाउने र उठाउने समयलाई उँभौली र उँधौली चाडका रूपमा मनाउने बूढापाका बताउँछन् । वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुंगी क्रमशः बेंसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उँभौली यामका रूपमा लिइने गरेको चौदण्डीगढी नगरपालिका ६ सिर्वानीका ८५ वर्षीय मदनबहादुर राईले बताए ।


मदनबहादुरका अनुसार कृषि प्रणालीमा आधारित भएर जीवनयापन गरिरहेका किराँत समुदायले यही यामलाई आधार मानेर खेती लगाउने तथा खेतीपाती सप्रियोस् भनेर पूर्वजसँग आशीर्वाद माग्छन । उँभौलीकै अवसर पारेर किराँत समुदायसँग सम्बध किराँत राई ययोख्खालगायतले विभिन्न सामूहिक चेतनामूलक कार्यक्रमको आयोजना गरेको मदनबहादुरले बताए ।


चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिको किराँत बाहुल्य क्षेत्रमा साकेला शील नचाइने गरिन्छ । प्रदेश १ मा बसोबास गर्ने किराँत समुदायले उँभौलीलाई विशेष पर्वका रूपमा लिने गरेका छन । उँभौली पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । किराँत समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उँभौली मनाउने गरेका छन् ।


किराँत विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरूप यो पर्वमा भूमिपूजा गरिन्छ । प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभालगायत जिल्लाका किराँत समुदायको बसोबास रहेको क्षेत्रमा उँभौली धुमधामका साथ मनाउने गरिन्छ ।


तेह्रथुममा पनि

तेह्रथुमका विभिन्न स्थानमा किराँत समुदायको पर्व उँभौली (साकेला) शनिबार सुरु भएको छ । बुद्ध जयन्ती तथा उँभौली पर्वको अवसरमा किरातबहुल बस्तीमा उँभौली पर्व सुरु भएको हो । यस अवसरमा लालीगुराँस नगर लिम्बू समाज वसन्तपुरले स्थानीय चोत्लुङ पार्कमा विविध कार्यक्रम आयोजना गरेर मनायो ।


किराँत राई यायोक्खा लालीगुराँस नगर कमिटी वसन्तपुरले पनि सोही स्थानमा दिनभर साकेला नाचेर पर्व मनायो । बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको अवसर पारेर बौद्ध धर्मावलम्बीले समेत विविध कार्यक्रमको आयोजना गरेर बुद्ध जयन्ती मनाए ।


किराँत राई समुदायले लालीगुराँस नगरपालिका ४ चम्फुलामा गाडिएको मूल थानमा पूजाआजा गरी अपराह्न चोत्लुङ पार्कमा आएर सामूहिक साकेला नाचे । एक महिनासम्म प्रदेश १ का पहाडी जिल्लाहरू तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, पाँचथर, इलाम, ताप्लेजुङ र तराईका सुनसरी, मोरङ र झापा जिल्ला समेतमा धुमधामका साथ साकेला नाचिन्छ ।


साकेला नाचमा सबै किराँती समुदायको उपस्थित हुने गरेको छ । सबैजना गोलाकार भएर पितृको सम्झना गर्दै साकेला नाच्ने परम्परा रहेको स्थानीय हरि किराँतले बताए ।


किराँतीहरू यतिबेला भेटघाट, जीवनशैली, पौराणिक कथा र सामाजिक सम्बन्धका बारेमा नाच र गीतमार्फत उँभौली पर्वमा सहभागी भइरहेका छन् । वैशाखे पूर्णिमा र मंसिरे पूर्णिमा गरी वर्षमा दुई पटक मनाइने यो पर्वलाई किराँती समुदायले विशेष पर्वका रूपमा मनाउँदै आएको यो पर्वका जानकारसमेत रहेका लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए ।


किराँत धर्मका जानकार समेत रहेका लालीगुराँस नगर लिम्बू समाजमा उपाध्यक्ष आइतराज केरुङका अनुसार बालीनाली लगाउने समय सुरु भएको प्राकृतिक संकेत स्वरूप आफूले लगाएको बाली राम्ररी सप्रियोस्, भलबाढी नपसोस, पहिरो नआओस्, प्राकृतिक विपत्ति ननिम्तिओस् भनी भूमिको पूजा गर्दै यो पर्व मनाउने चलन बसालिएको हो ।


खोटाङमा पनि साकेला रौनक

खोटाङ– तलतल सिमसारैमा, ए होई हलहलेको साग छ, ए होई स्यामुना, कसको छोरा, कसको छोरी ए होई तिम्रै माया लाग्छ, ए होई स्यामुना ।


ढोल, झ्याम्टाको तालमा यस्तै गीतले माझकिराँत मझुवागढी शनिबार गुन्जयमान थियो । बालबालिका, तन्नेरी तथा वृद्धवृद्धासम्मले साकेला सिली खिप्दै उभौलीको स्वागत गरेका छन् ।


किरात राई यायोक्खा, किराँत सेवा समाज खोटाङ र मझुवागढी संरक्षण समितिले संयुक्त रूपमा आयोजना गरेको साकेला सिली नाचमा किराँतीहरू मात्र होइन गैरकिराँतले समेत साकेला सिली नाचे । किरातीहरूले वैशाखे पूर्णमामा उँभौली र मंसिरे पूर्णिमा उँधौली गरी वर्षमा दुईपटक साकेला सिली नाच्ने गर्छन् ।


यो बेला जलचर तथा थलचर जीवजन्तु उँभौली लाग्ने भएकाले उँभौली भनेको किराँत राई यायोक्खाका सचिव युगसन किराँतले बताए । किराँतका अनुसार उँभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस्लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने संस्कृति छ ।


त्यस्तै उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनासाथ प्रकृतिको पूजा गर्ने चलन छ । योबेला जलचर तथा थलचर जीवजन्तु उँधौली लाग्ने भएकाले मंसिरे पूर्णिमाको दिनदेखि उँधौली पर्व मनाउने गरिएको किराँतले सुनाए ।


उँभौलीको अवसरमा यो वर्ष जिल्लाभर एक महिनासम्म प्रकृतिको पूजाआराधना गरी साकेला सिली नाचिने किराँत राई यायोक्खाका सचिव किराँतले बताए । साकेला सिली किराँतीहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको मझुवागढीमा साकेला सिली नाच्न आएका जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?