कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीटार विमानस्थल : फेरि सम्भाव्यता अध्ययन

तेह्रथुम — नागरिक उड्डयन प्राधिकरणले पाँचथरको फिदिम नगरपालिका ७ रानीटारमा निर्माण गर्न लागेको प्रस्तावित विमानस्थलको पुन: सम्भाव्यता अध्ययन गरेको छ । रानीटारको स्याउडाँडामा निर्माणका लागि प्राधिकरणले सम्भाव्यता अध्ययन थालेका हुन् ।

प्राधिकरणले पहिलो पटक ०६७ सालमा धावनमार्गको लम्बाइ ८ सय मिटर हुने गरी अध्ययन गरेको थियो । पछिल्लो पटक रनवेको लम्बाइ बढाएर १ हजार २ सय मिटर बनाएर पुन: सर्भेक्षण गरिएको छ । पहिलो सर्वेक्षणपछि तत्कालीन जिल्ला विकास समिति र सांसदले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिँदै आएका थिए ।


नागरिक उड्डयन प्राधिकरणमार्फत आएको ‘रियलपाथ इन्जिनियरिङ कन्सल्टेन्सी’ का प्राविधिकको टोलीले विमानस्थलका लागि पुन: सम्भाव्यता अध्ययन गरेर फर्किएको हो । टोलीले प्रस्तावित विमानस्थल क्षेत्रमा ड्रोन क्यामेरामार्फत पनि परीक्षण गरेको छ । टोलीका इन्जिनियर ओजश्वीबाबु मल्लका अनुसार अध्ययनले उक्त स्थानमा १ हजार २ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गको सम्भावना देखाएको छ ।


अध्ययनअनुसारको निर्माण सम्पन्न भएमा ५० सिट क्षमताको जहाजले अवतरण र उडान भर्न सक्ने उनले बताए । अध्ययन प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा बुझाइएको अर्का इन्जिनियर स्मरण भट्टले जानकारी दिए । सम्भाव्यता अध्ययनका क्रममा सबै हिसाबले उक्त स्थानमा विमानस्थल निर्माण गर्न उपयुक्त देखिएको टोलीले जानकारी दिएको छ । निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ खर्च लाग्ने टोलीले प्रारम्भिक अनुमान गरेको छ ।


उच्च पहाडी क्षेत्र भएको र धेरै जमिन सम्याउनुपर्ने भएकाले अन्य स्थानमा भन्दा यहाँ विमानस्थल निर्माण खर्च बढी लाग्ने टोलीको निष्कर्ष छ । सम्भाव्यता अध्ययन सम्पन्न भएको र विमानस्थल निर्माणका लागि तत्कालै विस्तृत अध्ययन थालिने सर्भेका लागि खटिएको प्राधिकरण टोलीले जनाएको छ ।


अध्ययन टोलीका अनुसार पछिल्लो पटक निर्माण गरिएका विमानस्थलमा ठूला जहाज मात्रै सञ्चालनमा आउन थालेका छन् । यसैले पछिल्लो पटक सर्वेक्षण गरिएको यस विमानस्थलको पनि क्षमता बढाएर १ हजार २ सय मिटर बनाएर अध्ययन गरीएको हो । विमानस्थलका लागि ०६७ सालमै स्थानीयले ३ सय ५० रोपनी क्षेत्रफल जमिन नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।


थप जग्गा आवश्यक परेमा १ सय रोपनी जग्गा नि:शुल्क र सोभन्दा बढी जग्गा चाहिए प्रतिरोपनी १० हजार रुपैयाँका दरले दिन स्थानीय तयार रहेको विमानस्थल निर्माण सरोकार समितिका सचिव सूर्य अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?