कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाछोरीको हत्या प्रयास

बिर्तामोड — मेचीनगर नगरपालिका १० धुलाबारीमा बुधबार राति आमाछोरीको हत्या प्रयास भएको छ । अज्ञात व्यक्तिले घरभित्र सुतिरहेका आमाछोरीमाथि हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

हतियार प्रहारबाट धुलाबारीकी ४३ वर्षीया आरती चौहान बुढाथोकी गम्भीर घाइते भएकी छन् । उनकी छोरी ८ वर्षीया अर्पना सामान्य घाइते छिन् ।


आफ्नै घरमा छोरी र प्यारालाइसिसका विरामी ७० वर्षीया सासूआमासँग बसोबास गर्दै आएकी आरती आमाछोरीलाई बुधबार मध्यरातमा घरभिक्रै आक्रमण भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए । हतियार प्रहारबाट आरतीको टाउकोमा गहिरो चोट छ । उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । छोरी अर्पनाको गाला र घाँटीमा सामान्य चोट रहेको डीएसपी थापाले बताए । अर्पना प्रहरीको संरक्षणमा छिन् ।


घटना राति ११/१२ बजेतिरको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । घटना रातिको भए पनि बिहीबार बिहान ५ बजेतिर मात्रै गाउँलेले थाहा पाएका थिए । राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका थिए । पानी परिरहेको थियो । बिद्युत आपुर्ति बन्द भएको थियो । ‘त्यही बेलामा दुईजना मान्छे कोठाभित्र पसे । मलाई गालामा कुटे र घाँटी न्याकेर हल्ला गरे मारिदिने भने,’ प्रहरीसँग बालिकाले भनिन्, ‘त्यसपछि उनीहरूले आमाको टाउकोमा हतियार प्रहार गरे ।’


आरती बिहान कोठाभित्र अर्धनग्न अवस्थामा भेटिएको डीएसपी श्रेष्ठले बताए । ‘कोठा रक्ताम्य थियो । घाइतेसँग बोल्ने अवस्था छैन । घटना राति भए पनि बिहानमात्र सार्वजनिक भएकाले घटना रहस्यमय छ,’ डीएसपी श्रेष्ठले भने ।


अज्ञात व्यक्तिको कुटाइबाट डराएकी बालिका निदाएकाले घटना राति थाहा पाउन नसकेको उनले बताए । बालिकाले बिहान झ्यालबाट चिच्याएपछि मर्निङ वाकमा हिँडेका मानिस बुढाथोकीको घरमा जम्मा भएका थिए ।


आक्रमणकारीले सासुआमा बसेको कोठाको ढोकाको चुकुल बाहिरबाट लगाइदिएको श्रेष्ठले बताए । आरतीका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?