कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी लोकमार्ग : मुद्दाका कारण ९ वर्षदेखि अलपत्र

निर्माणको जिम्मा पाएका कम्पनीले सडक विभागविरुद्ध दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेकाले काम अवरुद्ध  
डिल्लीराम खतिवडा

कटारी, उदयपुर — मध्यपहाडी लोकमार्गको घुर्मी–चतरा खण्डको निर्माण ९ वर्षयता अलपत्र परेको छ । सडक विभागविरुद्ध निर्माण कम्पनी अदालत गएपछि लोकमार्गसँग जोडिने यो सडक खण्ड अलपत्र परेको हो ।

मध्यपहाडी लोकमार्ग : मुद्दाका कारण ९ वर्षदेखि अलपत्र

निर्माण प्रारम्भमै सर्भे गर्ने क्रममा वातावरण प्रभाव मूल्यांकन अध्ययन नगरेको भन्दै वन कार्यालयले काम रोकेको थियो । वातावरण प्रभाव मूल्याकन अध्ययन गरेर काम सुरु गरे पनि ९ वर्षयता पुनः काम अघि बढ्न सकेको छैन ।


१ सय ६७ किलोमिटर लम्बाइको घुर्मी/चतरा सडक सुनकोसी तटीय क्षेत्रबाट निर्माण गर्ने लक्ष्यसाथ काम थालिएको थियो । करिब १० किलोमिटर मात्र ट्रयाक खोलिएपछि रोकिएको काम अहिलेसम्म हुन सकेको छैन ।


राष्ट्रिय प्राथमिकतामा परेको १ सय ६७ किमिको यो सडकखण्डलाई ०६७ सालमा मध्य पहाडी लोकमार्गले २० भागमा विभाजन गरेर ठेक्का लगाएको थियो । निर्माणको जिम्मा पाएका २० कम्पनीमध्ये अधिकांशले ट्रयाक खोल्न सुरु गरेका थिए । निर्माण क्रमसँगै कम्पनीहरूले मूल्य समायोजन र समय अवधि थपलगायत विभिन्न माग अगाडि बढाएपछि काम हुन नसकेको मध्य पहाडी सडक निर्देशनालय, योजना कार्यालय धुलिखेलले जनाएको छ ।


सडक विभागको माग दाबीविरुद्ध ठेक्कदार कम्पनी अदालत गएपछि अहिलेसम्म काम हुन नसकेको प्राविधिक बताउँछन् । घुर्मी–चतरा सडक उदयपुरको ३ वटा नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र वेलका र रौतामाई, ताप्ली र लिम्चुङबुङ ३ गाउँपालिकाको सुनकोसी नदी तटीय क्षेत्र हुँदै धरानसम्म जोडिन्छ ।

ओखलढुगा, खोटाङ र सोलुखम्बुलाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने छोटो दुरीको सडक पनि यही हो । यसले घुर्मी–चतरा सडक सुनसरी, धनकुटा, भोजपुरलगायत पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने कटारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘रोकिएको काम सुरु भई चाँडै यो सडक निर्माण भए उदयपर जिल्लाको विकासमा ठूलो टेवा पुग्ने थियो,’ नगरप्रमुख श्रेष्ठले भने ।


घुर्मी–चतरा सडकले उदयपुरका ८ स्थानीय तहलाई छुन्छ । त्यसले गर्दा विराटनगर, काडमाडौं लगायतका सहर पुग्न छोटो दुरीको सहज सडक हुने निश्चित छ । कृषि, पर्यटन र वातवरणीय दृष्टिले समेत महत्त्वपूर्ण मानिएको यो सडक उदयपुरको विकासको मेरुदण्ड रहने स्थानीय अमृता कार्कीले बताइन ।


‘घुर्मी–चतरा सडक खण्डको काम मुद्दाका कारण रोकिएको हो,’ मध्य पहाडी सडक निर्देशनालय, योजना कार्यालय धुलीखेलका प्रमुख विजय चापागाईंले भने, ‘पहिले सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीले मुद्दा दायर गरेको र अदालतमा विचाराधीन रहेकाले अहिले केही काम गर्न सकिएन ।’ अदालतको फैसला नआएसम्म काम गर्न समस्या रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?