'एलिफेन्ट टु रेडपाण्डा’ यात्रा

कान्तिपुर संवाददाता

कांकडभिट्टा — हात्ती कोरिडोर र रेडपाण्डाको वासस्थान संरक्षणका लागि नेपाली र भारतीय युवाले काँकडभिट्टादेखि इलामको सन्दकपुरसम्म मोटरसाइकल यात्रा सुरु गरेका छन् । प्रदेश सरकारको पर्यटन तथा वातावरण समितिकी सभापति सांसद सीता थेवेले काँकडभिट्टाबाट यात्रीलाई बिदाइ गरिन् ।'

कांकडभिट्टाबाट एलिफेन्ट टु रेडपाण्डा मोटरसाइकल यात्रा सुरु गर्दै सीता थेवे । तस्बिर : पर्वत/कान्तिपुर

यात्रामा नेपाल र भारतका २० मोटरसाइकल यात्री सहभागी छन् । आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन समितिका कार्यकारी निर्देशक केशव धौरालीले मेची पहाडी क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचानसँगै सन्दकपुर क्षेत्रको थप चिनारीका लागि यात्रा सुरु गरिएको जानकारी दिए । उनका अनुसार सन्दकपुरमा बर्सेनि हजारौं पर्यटक भारतीय बाटोबाट घुम्न आउँछन् । ‘नेपालको बाटोबाट पनि सन्दकपुर पुग्न सकिन्छ भन्ने सन्देश दिन यात्रा आयोजना गरिएको हो,’ द्यौरालीले भने, ‘यो बाटो प्रयोग भए नेपालका अन्य पर्यटकीय गन्तव्यको समेत प्रवर्द्धन हुन सक्नेछ ।’

यात्राका क्रममा रेडपाण्डाको बासस्थान र हात्ती कोरिडोरको अवस्थाका बारेमा अध्ययन अवलोकन गरिने जनाइएको छ । मूलतः झापाको उत्तर भेग हात्तीको कोरिडोर हो । तर, मानव बस्ती बसेपछि उनीहरू हिँड्ने बाटो मासिँदै गएको देखिन्छ । ‘हात्ती संरक्षण गरेर पर्यटक तान्ने माध्यम बनाउन सकिन्छ,’ झापाको ग्रिन जेनेरेसनका अध्यक्ष अर्जुन कार्कीले भने, ‘हात्ती विदेशी मुद्रा आर्जन गर्ने दरिलो माध्यम हुन सक्छ ।’
यात्राका क्रममा टोलीले विभिन्न पर्यटकीय गन्तव्यहमा नेपाली कला र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसहित पर्यटन विकासबारे स्थानीयसँग प्रत्यक्ष संवाद पनि गर्नेछ ।

प्रदेश सरकारका पर्यटन सचिव वद्री ढुंगानाले मेची पहाडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा यात्रा कोसेढुंगा सावित हुने बताए । प्रदेश सांसदहरू राम राना (इलाम), श्रीप्रसाद मैनाली (झापा) र मेचीनगरका मेयर विमल आचार्यले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा गर्न सघाउ पुग्ने बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लक्ष्यभन्दा बढी राजस्व

१७ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा संकलन बढी भए पनि दक्षिणी क्षेत्रमा लक्ष्य भेटाउन हम्मे
देवनारायण साह

(मोरङ) — स्थानीय तहमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ । जिल्लाका उत्तरी क्षेत्रमा राजस्व असुली बढे पनि दक्षिणी क्षेत्रमा भने लक्ष्य पुर्‍याउन हम्मे भइरहेको छ ।

केराबारी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएपछि संशोधन गरेको छ । गाउँपालिकाले ५ करोड ६२ लाख ४४ हजारको लक्ष्य राखे पनि १७ करोड ७० लाख ७० हजार १ सय ५२ रुपैयाँ राजस्व असुली गरेको छ । गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुभाष सुवेदीका अनुसार संशोधनमा १८ करोड २६ लाख ३६ हजार राखिएको छ ।

जिल्लाका १७ स्थानीय तहमध्ये राजमार्ग वरिपरिकाले लक्ष्यभन्दा बढी राजस्व असुली गरिरहेका छन् । उर्लाबारी नगरपालिकामा पनि यस वर्ष लक्ष्यभन्दा अधिक राजस्व असुली भएको छ । चालु वर्षका लागि नगरपालिकाले ४ करोडको लक्ष्य लिएकोमा वैशाख महिनासम्ममा नै ६ करोड ३५ लाख ५ हजार ८ सय २४ रुपैयाँ असुली भइसकेको राजस्व शाखाका भरत अधिकारीले बताए । उनले नगरमा आफूहरूले सोचेभन्दा धेरै कर असुली भएकाले राजस्व असुलीमा उल्लेख्य वृद्धि भएको बताए ।

विराटनगर महानगरमा चालु वर्षमा लक्ष्यको आधा मात्रै राजस्व संकलन भएको छ । महानगरले चालु वर्षको जेठ १५ गतेसम्ममा २८ करोड ४८ लाख ७७ हजार ७ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षमा महानगरको ५४ करोड ३ लाख राजश्व संकलन लक्ष्य छ ।

चालु आर्थिक बर्षको डेढ महिना बाँकी रहदासम्ममा महानगरले ५२ दशमलव ७३ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ । महानगरस्थित १९ वटा वडामध्ये सबभन्दा बढी वडा ९ ले २ करोड ६१ लाख ३९ रुपैयाँ राजश्व संकलन गरेको छ भने सबभन्दा कम वडा १८ मा १० लाख ४३ हजार ३ सय ७९ रुपैयाँ मात्रै राजश्व संकलन भएको भएको महानगरको तथ्यांक छ । महानगरको वडा १, ८, १२, १३, १४, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाले करोडभन्दा कम राजश्व असुली गरेको छ भने वडा २, ३, ४, ५, ६, ७, ९, १० र ११ गरी ९ वटा वडाले करोडभन्दा माथि कर असुली गरेको तथ्यांकमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले चालु आर्थिक बर्षमा लक्ष्य अनुसारको कर उठिरहेको अबस्था नभएको स्विकारे । ‘महानगरमा करदाताहरूका लागि करमैत्री संरचना पनि नरहेकोले राजश्व संकलनमा केही समस्या भएको छ,’ उनले भने, ‘अनलाइनमार्फत कर बुझाउने, व्यवसाय दर्त्ता गराउनेलगायतका संरचना निर्माण भइसकेको अबस्था छैन ।’ चालु आर्थिक बर्षमा बजार क्षेत्रमा भइरहेका विकास निर्माणले बजार तथा व्यवसाय अनुगमन प्रभावकारी हुन नसकेकोले पनि लक्ष्य अनुसारको राजश्व असुलीमा समस्या भइरहेको अधिकारीको भनाई थियो । ‘यहाँ आर्थिक बर्षको अन्त्यमा सम्पति करलगायतका कर चुक्ता गर्ने प्रवृतिले पनि केही समस्या भएको छ,’ उनले भने, ‘यहाँका ठूला करदाताहरूले कर तिर्न बाँकी नै रहेकोले निरासै भइहाल्ने पनि अबस्था अहिले नै आइसकेको छैन ।’

कर संकलन अभियानलाई तिब्रता दिन तत्काल प्रत्येक वडा कार्यालयहरूमा कर सहजकर्त्ता खटाउने तयारी गरेको अधिकारीले बताए । त्यसले पनि कर संकलनमा वृद्धि हुनेमा आशावादी रहेको उनी भन्छन् । गत वर्षभन्दा दोब्बर राजस्व लक्ष्य राखेकाले पनि लक्ष्यअनुसारको राजस्व संकलनमा समस्या भएको अधिकारीले बताए ।

जहदा गाउँपालिकामा पनि लक्ष्य अनुसारको राजस्व असुली हुन सकेको छैन । हालसम्ममा लक्ष्यको ६३ दशमलव ९८ प्रतिशत ५७ लाख ५८ हजार मात्रै राजस्व असुली भएको गाउँपालिकाका सूचना अधिकारी रोशनकुमार साहले बताए । गाउँपालिकाको राजस्व असुली लक्ष्य ९० लाख छ ।

अर्थविद् भेषप्रसाद धमलाले जिल्लाको दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा आर्थिक गतिविधि बढी भइरहेकाले त्यहाँका मानिसमा कर तिर्ने क्षमता धेरै भएकाले उत्तरी क्षेत्रका स्थानीय तहमा बढी राजस्व असुली भएको बताए । उनले दक्षिणी क्षेत्रका बासिन्दामा कर तिर्ने क्षमता कम भएकाले नै स्थानीय तहहरूले लक्ष्य अनुसारको राजस्व असुली गर्न नसकिरहेको बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ १०:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT