खुम्बुक्षेत्रमा दोस्रो अवतारी लामा

कान्तिपुर संवाददाता

सोलुखुम्बु — दावा गेल्जेन र टासीफुटी शेर्पाका चार वर्षको अन्तरालमा दुई सन्तान भए, पहिलो छोरी र दोस्रो छोरा । दूधकोसी नदी किनारमा होटल व्यवसाय गर्दै आएका दावागेल्जेनले छोरा जन्मिएपछि ‘दुई सन्तान ईश्वरको बरदान’ झैं ठाने ।

छोराको नाम लामाले न्वारानामा सोनामफिन्जु राखिदिए । अढाई वर्षको उमेरमा बोल्न थालेका उनले बाटोमा हिँड्ने बटुवालाई आफ्नो गाउँघरको खबर सोध्न थाले । कतिपयलाई धेरै पहिलेदेखि प्रष्ट चिनेझैं गरी नामैले बोलाउँथे ।

बाटो हिँड्ने बटुवा पनि छक्क पर्थे । छोराको अनौठो व्यवहारले दावागेल्जेन र टासी बेलाबेलामा अचम्म मान्थे । ‘अलि प्रष्ट बोल्दै गएपछि त मेरो घर यो होइनसम्म भन्न थाल्नुभयो ।’ दावागेल्जेनले भने, ‘बिस्तारै छिमेकी र अन्य सबैले सोनामफिन्जु साधारण बालक नभएको अनुमान गरे ।’ उनको क्रियाकलापको सन्देश रोल्वालिङ गुम्बासम्म पुग्यो । गुम्बाका मान्छेले आएर अनुसन्धानपछि अवतारीका रूपमा जन्म भएको बताए ।

खुम्बुपा साङल्हामु गाउँपालिका ३ जोरसल्लेका यी बालकले रोल्वालिङमा आफ्ना आफन्त भएको बताए । साढे तीनवर्षको उमेरपछि हलेसीमा उनको गद्दी आरोहण गरियो । गद्दी आरोहणका बेला रोल्वालिङबाट आएका केही व्यक्तिलाई उनले छोराछोरीकै रूपमा सम्बोधन गरे । घरतिरका सबै कुरा सोधपुछ गरे । तीन छोरी र एक छोराका रूपमा पुकारिएका उनीहरूले आफ्नै बुवाको अर्को अवतार स्वीकार गरे ।

अहिले उनी सोलुखुम्बुकै थामे गुम्बामा छन् । गुम्बामा उनको नाम ङवाङठिलेन पल्वर राखिएको छ । उनले अब बौद्धधर्मको अध्ययन थालेका छन् । अवतारीले अघिल्लो जन्ममा लिएको ज्ञान पुनः एकपटक पढ्नुपर्ने चलन छ । अघिल्लो जन्ममा आफूले प्रयोग गरेका सामान र आफन्तको पहिचान सजिलै गर्न सक्ने क्षमता अवतारीमा हुने दावागेल्जेनले बताए ।

बौद्ध धर्ममा अवतारी लामालाई विशेष सम्मान दिन चलन छ । खुम्बुक्षेत्रमा अवतारीका रूपमा जन्मिएका उनी दोस्रो हुन् । यसअघि खुम्बुमै जन्मिएका अर्का अवतारी लामा त्याङबोचे गुम्बामा छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रअ र नगरप्रमुखबीच विवाद, पठनपाठन प्रभावित

प्रअको कार्यसम्पादन सन्तोषजनक नभएको आरोपमा सरुवा 
कमिसन नपाएपछि आफूसँग हुँदै नभएको अधिकार प्रयोग भयो : प्रअ 
श्यामसुन्दर शशि,

जनकपुर — विदेह नगरपालिका प्रमुख र स्थानीय विद्यालयका प्रधानाध्यापकबीचको विवादले बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विदेहको गिद्धा बेलापटीस्थित जनता नमुना माविको पठनपाठन प्रभावित भएको हो ।

महोत्तरीको विदेह नगरपालिकाका मेयर बेचन दासको समर्थनमा जुलुस प्रदर्शन गर्दै स्थानीयवासी ।तस्बिर : श्यामसुन्दर/कान्तिपुर

यतिबेला विद्यालयमा पठनपाठन नभएपछि अधिकांश शिक्षक हाजिर गरेर घर फर्किन्छन् । विद्यालयको खाता रोक्का रहेकाले शिक्षक कर्मचारीले तलब पाएका छैनन् । विद्यार्थी र अभिभावक दुई समूहमा विभाजित भएपछि विद्यालय नजिकैको तिनकौरिया चोक दैनिक तनावग्रस्त छ ।

विद्यालय सञ्चालन हुने बित्तिकै प्रधानाध्यापक पवनकुमार मण्डल समर्थक विद्यार्थीको समूहले विदेह नगरपालिकाका मेयर बेचन दासको विरोधमा नाराबाजी गर्दै तिनकौरियाचोकमा टायर बालेका थिए । आन्दोलनरत विद्यार्थीले मेयर दासलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमापाठ्यपुस्तकको रकम उपलब्ध गराउनु पर्ने, प्राविधिक धारका विद्यार्थीलाई दिइने छात्रवृति र काज सरुवा गरिएका प्रधानाध्यापक पवनकुमार मण्डलको थमौतीको माग गरेका छन् ।

अर्कोतर्फ मेयर बेचन दास समर्थक अभिभावक तथा स्थानीयवासी मेयर दासको समर्थनमा तथा प्रअ मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरूले नियमित पठनपाठन गराउन माग गर्दै प्रअ मण्डलमाथि कारबाहीको माग गरेका छन् । तिनकौरिया चोकबाट सुरु भएको प्रदर्शन विद्यालय परिसर हुँदै पुनः तिनकौरिया चोकमा पुगेर सम्पन्न भएको थियो । यस बीचमा दुवै पक्षका अभिभावकबीच पटक–पटक झडपको स्थिति सृजना भएको थियो ।

अवस्था साम्य पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हम्मै परेको थियो । विदेह नगरपालिकाको गत वैशाख दोस्रो साता सम्पन्न बोर्ड बैठकले विद्यालयका प्रअ मण्डललाई नगरपालिका भित्रकै शंकर जनता मावि, दुहवीमा सरुवा गरेपछि प्रअ मण्डल र नगरप्रमुख दासबीच द्वन्द्व बढेको हो । अभिभावक तथा विद्यार्थीहरू दुई ध्रुवमा विभाजित भएकाले पछिल्ला केही दिनदेखि तिनकौरियाचोक नै तनावग्रस्त छ । मण्डल समर्थक विद्यार्थीहरू शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी समेतगरेका थिए ।

प्रअ मण्डलको कार्यर् सम्पादन सन्तोषजनक नभएको तथा विद्यालयमा आर्थिक अनियमिता भएको आरोप लगाउँदै नगरपालिका बोर्ड बैठकको निर्णयले मण्डललाई काज सरुवा गरिएको मेयर दासले बताए । गत पाँच वर्षदेखि प्राविधिक धारका विद्यार्थीहरूका लागि आएको छात्रवृति, निजी शिक्षकहरूको तलब आदि शीर्षकमा भएको खर्चको विवरण दिन लिखित पत्र पठाउँदा पनि प्रअ मण्डलले कुनै जवाफ नदिए पछि बोर्ड बैठकबाट काज सरुवा गरिएको उनको कथन छ । ‘तलब भत्ता नगरपालिकाले दिने अनि आम्दानी खर्चको हिसाबसम्म नबुझाउने ? बोर्ड बैठकले नगरपालिकाको अधिकार प्रयोग गरेर नगरभित्रको विद्यालयमा काज सरुवा गरेको हो,’ मेयर दासले भने ।

तर प्रअ मण्डलले भने नगरपालिकासँग सरुवा गर्ने अधिकार नभएको तथा विद्यालयका बजेटमा कमिसन नदिएका कारण मेयर दास आफूलाई काज सरुवा गरेको आरोप लगाउँछन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘यद्यपि आधिकारिक रूपमा मलाई काज सरुवा गरेको पत्र प्राप्त भएको छैन । नगरपालिकासँग हुँदै नभएको शिक्षकको सरुवा गर्ने अधिकार उनलाईकसले दियो ?’

नगरपालिकाले निजी स्रोतका १८ जना शिक्षकको ९ महिनादेखि तथा दरबन्दीका शिक्षकहरूलाई गत चार महिनादेखि तलब उपलब्ध नगराएको आरोप प्रअ मण्डलको छ। नमुना र प्राविधिक धार तथा सामान्य धारको विद्यालय सञ्चालन शीर्षकमा विद्यालयको नाममा झण्डै ५ करोड छ तर नगरपालिकाले निकासा दिएको छैन । मेयरसाहेव कमिसन खोजी रहनु भएको छ,’ प्रअ मण्डलले भने ।
यता मेयर दासले प्रअ मण्डलमाथि निजी स्रोतका शिक्षकहरूको तलबमा अनियमिता गर्दै आएको आरोप लगाए। ‘नगरपालिका प्रत्येक २/२ महिनामा तलब निकासा दिँदै आएको थियो तर प्रअ मण्डलले शिक्षकहरूलाई एक महिना पछिमात्र तलब बाँड्थे । निजी स्रोतका शिक्षकहरूको तलबमा कमिसन खान्थे ।’ मेयर दासको आरोप छ । वैशाखमा प्रअ परिवर्तन गरेपछि नयाँ खाता खोल्न नसकिएकाले शिक्षक कर्मचारीले समयमा तलब खान नपाएको उनको कथन थियो । प्रअ मण्डलले विद्यार्थीहरूलाई आन्दोलन गर्न उक्साएको आरोप पनि मेयर दासले लगाएका छन् । कान्तिुरसँगको भेटमा उनले भने, नगरपालिकाले गरेको निर्णयविरुद्ध बालबालिकाहरूलाई सडकमा उतार्नु आपत्ति जनक हो ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT