कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात तले गुफा संरक्षण गरिँदै

रमेशचन्द्र अधिकारी

धनकुटा — पर्यटकीय स्थल बनाउने उद्देश्यले धनकुटा नगरपालिका १ को ओक्मालुङको जंगलमा रहेको झन्डै सय मिटर उचाईको अजंगको ढुंगाभित्र सात तले गुफामा पूर्वाधार विकास गरिने भएको छ । गुफासम्म जाने बाटो तथा पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ निकासा गरेको छ । 

सात तले गुफा संरक्षण गरिँदै

गुफा संरक्षणका लागि प्रदेश एक सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको संरक्षण समिति सचिव इन्द्र थापाले बताए । उक्त बजेटले गुफा र झरना पुग्ने पहुँचमार्ग तथा थप पूर्वाधार विकास गरिने सल्लाहाकार अर्जुन छाराहाङले जानकारी दिए । यति बेला गुफामा जाने सिढी, रेलिङ, बत्ती तथा टेवा पर्खाल निर्माणको काम समेत भइरहेको छ ।


करिब पाँच सय मिटरको दूरीमा ५० मिटर अग्लो झरना समेत रहेको छ । झरना र गुफाका कारण आफ्नो क्षेत्रमा पर्यटकको आकर्षण हुन सक्ने भन्दै स्थानीयले होमस्टेको तयारी गरेको स्थानीय उत्सव राईले जानकारी दिए । होमस्टेका लागि राई सहित युवाले आवश्यक तालिम लिएर सञ्चालनको तयारी गरेको बताए ।


लुङ्धाङ सामुदायिक वनभित्र रहेको उक्त गुफा करिब एक सय मिटर लामो छ । गुफा प्रवेश गर्ने साँगुरो ठाउँ पार गरेरभित्र पुग्दा फराकिलो भाग देख्न सकिन्छ । पहिलो तलामा पुग्दा त्यसस्थान भन्दा तल र माथि दुई तला नियाल्न सकिन्छ । हाल चार तलासम्म मात्र जान सकिने स्थानीय अर्जुन छाराहाङले बताए ।


अन्य तलामा बाटो साँगुरो र सिढीको अभावका कारण उक्लन ओर्लन कठिनाई हुने उनी बताउँछन् । अघिल्लो वर्षदेखि गुफाको अवस्थाबारे चासो राख्दै आएका स्थानीयले लुङ्धाङ गुफा पर्यटन विकास समिति नामको संस्था गठन गरेर अनुसन्धान र पूर्वाधारको काम थालनी गरेका छन् । स्थानीय राई भाषामा लुङ्धाङको अर्थ प्वाल परेको ढुंगा हुने छाराहाङले बताए ।


करिब तीन महिनाअघि पहिलो पटक गुफा पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका शुक्रबहादुर राईको अगुवाईमा केही स्थानीय युवा गुफाभित्र पहिलो पटक प्रवेश गरेका थिए । उत्तरतर्फ रहेको प्रवेशद्वारबाट करिब १६ मिनेटमा दक्षिणी द्वारबाट बाहिरिन सकिन्छ । गुफाभित्रका ढुंगामा देखिने प्राकृतिक दृश्य नियाल्न सकिन्छ । गुफाको भित्रि भागमा चमेराको झुन्ड समेत देख्न सकिन्छ । प्रारम्भिक अवस्थाका कारण गुफाभित्र बत्ति अभाव छ । बाटो समेत केहि अप्ठेरो रहेकाले त्यसतर्फ सुधारको काम भइरहेको समिति अध्यक्ष राईले बताए ।


पुस्तौदेखि स्थानीयले लुङ्धाङ देवीका रूपमा गुफाको बाहिरी भागमा रहेको ओढारमा पूजाआजा समेत गर्दै आएको स्थानीय मनकुमार राईले जानकारी दिए । भित्री भागमा आकर्षक ओढार समेत भएपछि पर्यटकीय दृष्टिले समेत महत्त्व लिएको उनी बताउँछन् । ‘यति धेरै तला भएको गुफाको चर्चा फैलिँदैछ,’ उनले भने, ‘गुफा हेर्न बाहिरबाट मानिसहरू पनि आउन थालेका छन् ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?