कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रअ विवादमा विद्यालय बन्द

मोरङ — विद्यालय व्यवस्थापन समिति र जहदा गाउँपालिकाबीच प्रअ बनाउने विवादमा आदर्श आधारभूत विद्यालयको पठनपाठन जेठ २५ गतेदेखि ठप्प छ । समितिले विद्यालयमा तालाबन्दी गरेपछि अल्पसंख्यक आदिवासी जनजाति समुदायका २ सय ५० बालबालिका पढाइबाट वञ्चित भएका छन् ।

जहदा ३ को विद्यालयमा अस्थायी शिक्षकमा कार्यरत तत्कालीन प्रधानाध्यापक राजकुमार साह शिक्षक सेवा आयोगमा अनुत्तीर्ण हुँदा स्वतः अवकास भएपछि प्रधानाध्यापकको विवाद चर्केको हो ।


विद्यालय व्यवस्थापन समितिले चैत १० गतेको बैठकले राहत शिक्षक मुंगा हेमरमलाई प्रअ बनाउने निर्णय गरेको थियो । समितिले शिक्षा ऐन, नियमविपरीत प्रअ चयन गरेपछि गाउँपालिकाले विद्यालयमा कार्यरत स्थायी शिक्षक अशोककुमार साहलाई जेठ १६ गते प्रअ नियुक्त गरेर पठायो ।


गाउँपालिकाले समितिको अधिकार मिचेको भन्दै स्थानीय केही अभिभावकको सहयोगमा समितिका अध्यक्ष गोबर्धन साहले विद्यालयमा तालबन्दी गरेको स्थानीयले बताए । अध्यक्ष साहले गाउँपालिकाले समितिको अधिकार मिचेर आफैं प्रधानाध्यापक नियुक्त गरेपछि आफूहरू विरोधमा उत्रिन बाध्य भएको स्विकारे ।


‘गाउँपालिकाले आफूहरूले प्रधानाध्यापकमा सिफारिस गरेको राहत शिक्षक हेमरमको नाममा विद्यालयको बैंक खाता सञ्चालन नगरी स्थायी शिक्षक साहलाई प्रअ नियुक्त गरेर पठायो,’ उनले भने, ‘स्थानीय अभिभावकहरूले साहलाई प्रधानाध्यापकमा स्विकार नगरेपछि तालबान्दीमा उत्रिन बाध्य भएका हौं ।’ उनले आफूहरूले जेठ २५ गते गरेको तालाबन्दी २६ गते खोलेको तर त्यही दिन अभिभावकहरूले पुनः तालाबन्दी गरेकाले पठनपाठन ठप्प भएको दाबी गरे ।


साहले आफू स्थायी शिक्षक हुँदाहुँदै समितिले पूर्वाग्रही भएर राहत शिक्षकलाई प्रअ नियुक्त गर्नु उचित नभएको बताए । ‘एउटा स्थायी शिक्षक रातह शिक्षकको मातहतमा काम गर्न स्वाभिमानले पनि मिल्दैन,’ उनले भने, ‘गाउँपालिकाले दिएको प्रअको जिम्मेबारी स्विकार गर्नु पनि मेरो बाध्यता नै हो ।’ उनले समस्याको समाधान गाउँपालिकाले शिक्षा ऐन अनुसार खोज्नेमा आशावादी

भएको बताए ।


अध्यक्ष साहले विद्यालयको कार्यक्षेत्रभित्र अल्पसंख्यक आदिवासी जनजातिको बसोबास रहेकाले हेमरमलाई नै प्रअ बनाउन दबाब दिएको स्विकारे । गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग छलफल भइरहेकाले तत्काल समस्या समाधान गरेर विद्यालयको पठन पाठन सुचारु गराउन पहल गरिरहेको बताए ।

प्रकाशित : असार ५, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?