कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराले बिहे नगर्दा बाबुलाई कुटपिट

देवनारायण साह

मोरङ — केटी मन नपरेको भन्दै विराटनगर १४ मा एक युवाले विवाह गर्न अस्विकार गरेपछि उनको बाबुलाई कुटपिट गरिएको छ । कुटपिटबाट स्थानीय ६५ वर्षीय श्यामानन्द यादव गम्भीर घाइते भएका छन् ।

यादवको विराटनगरस्थित विराट नर्सिङ होमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घाँटीको पछाडी भागमा नसामा चोट लागेकाले हातखुट्टा चल्न नसकेको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।


विराटनगर १४ का वडा अध्यक्ष वलदेव यादवको घरमा जेठ ३२ मा पञ्चायतमा बोलाएर उनलाई कुटपट गरिएको हो । विराटनगर १८ का भोला यादवकी छोरीसँग श्यामानन्दले आफ्ना छोरा राजेशकुमार यादवको विवाह गर्न कुरो छिनेका थिए । भोलाले विवाहका लागि केटा पक्षलाई ५१ हजार रुपैयाँसमेत दिइसकेको थाहा पाएपछि राजेशले केटी आफैंले हेर्ने भने । लमीले केटी देखाउने चाँजो मिलाए । केटी हेरिसकेपछि मन नपराएका कारण विवाद सुरु भएको हो ।


विवाहको तयारी भइसकेको हुँदा केटी पक्ष केटाको घरमा छलफलका लागि गएका थिए । तर, श्यामानन्दले छोराले नै केटी मन नपराएकाले विवाह हुन नसक्ने जवाफ दिएको स्थानीयले बताए । जेठ ३२ मा भोलाले गाउँका भद्रभलादमीका साथै विराटनगर १५ का वडा अध्यक्ष संजय साह, जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादवलगायत ६०/७० जनालाई लिएर वडा अध्यक्ष वलदेवको घरमा पञ्चायत गर्न गएका थिए ।


वडा अध्यक्ष बलदेवले आर्थिक लाभ लिएर विवाह गराइदिने जिम्मा लिएपछि घटना भएको श्यामानन्दका अर्का छोरा राजेशको आरोप छ । ‘वडा अध्यक्षका छोरा शंकर भन्ने रबिन यादव मोटरसाइकल लिएर बुवालाई लिन अएका थिए,’ उनले भने, ‘बुवा जानुभयो र पछि भाइ मुकेशलाई पनि पठायौं ।’


छलफलका क्रममा बुवालाई विवाहका लागि दबाब दिँदा अस्विकार गर्ने बित्तिकै हातपात गर्न थालेको मुकेशले सुनाए । ‘वडा अध्यक्षले नकुट्न भनेपछि रोकियो,’ उनले भने, ‘वडा अध्यक्षले छोराको विवाह नगरे ५ लाख जरिबाना तिर्नु पर्ने निर्णय सुनाए तर बुवाले मान्नु भएन । नमानेपछि उनले नै पुनः कुट्न आदेश दिएका थिए ।’


बलदेवले आदेशसँगै उनका छोरा रविन, भतिजा दिपेश, केटीको बुवा भोला, उनका भतिजा वीरेशकुमारले बुवालाई कुटपिट गरेको मुकेशले बताए । ‘रविनले गर्दनमा पछाडि हातले हान्दा बुवा लडेर अचेत हुनुभयो,’ उनले भने, ‘त्यसपछि तत्काल विराट नर्सिङ होम लगिएको हो ।’


बलदेवले कुनै कानुनी कारबाही नहुने भन्दै मिल्नका लागि छलफलमा बस्न दबाब दिइरहेको राजेशले गुनासो पोखे । ‘घटनापछि प्रहरीमा उजुरी दिँदा असार २ गते इलाका प्रहरी रानीलाई घटनामा संलग्नलाई समातेर उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङले पत्रचारसमेत गरेको छ,’ उनले भने, ‘तर हालसम्म प्रहरीले कसैलाई पक्राउ नगरेपछि वडा अध्यक्ष बलदेवले प्रहरी प्रशासनलाई समेत प्रभावमा पारेको आशंका भइरहेको छ ।’


वडा अध्यक्ष संजयले आफ्नो वडाको केटी पक्ष भएकाले सामाजिक रीतअनुसार पञ्चायतमा जानै पर्ने भएकोले मात्रै गएको बताए । ‘सामाजिक पञ्चायतमा मैले केही गरिन् तर त्यहाँ छलफल हुने क्रममा केही व्यक्ति आक्रोशित भएर श्यामानन्दलाई सामान्य हातपात गरेका थिए,’ उनले भने, ‘सबै शान्त भइसकेपछि श्यामानन्दलाई रिंगटा लागेर अचेत भएपछि उपचारका लागि अस्पताल पठाएका थियौं ।’


यता वडा १४ का अध्यक्ष बलदेवले केटी पक्ष बिहानै ६०/७० जनासँगै दुई जना वडा अध्यक्षलाई लिएर आफ्नो घरमा आएपछि छलफलका लागि श्यामानन्दलाई बोलाएको स्विकारे । ‘छलफलमा अनेक मनोवृतिका व्यक्तिहरू भएकाले केही आक्रोति पनि भएका थिए,’ उनले भने, ‘त्यही क्रममा श्यामानन्दलाई रिंगटा लागेर बेहोस भएपछि उपचारका लागि अस्पताल पठाएका थियौं ।’


उनले आफूले कसैलाई पनि कुट्न आदेश नदिएको र जरिवानाको कुरो पनि नगरेको दाबी गरे । घटना मिलाउनका लागि वडा १४ र १५ का वडा अध्यक्षद्वय यादव र साहले दुवै पक्षलाई पुनः छलफल गराउन प्रयत्न गरिरहेको तर हालसम्म्म हुन नसकेको स्विकारे । केटीको बुवा भोलालगायतका व्यक्ति फरार छन् ।

प्रकाशित : असार १२, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?