कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यालमा तालाबन्दी

प्रदीप मेन्याङ्बो

सुनसरी — चिकित्साशास्त्रको स्नातकोत्तर तह एमडी/एमएसको प्रमुख आकर्षणको विभागमा विदेशी विद्यार्थी कोटा बढी छुट्याएको भन्दै बिहीबार जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र रेक्टरको कार्यालयमा तालाबन्दी भएको छ ।

बीपी प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यालमा तालाबन्दी

सोसाइटीले प्रतिष्ठान व्यवस्थापन पक्षलाई विदेशी कोटामाथि पुनरावलोकन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै उपकुलपति प्रा डा राजकुमार रौनियार र शिक्षाध्यक्ष प्रा डा गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेको हो । सोसाइटीले उपकुलपति रौनियार र रेक्टर खनालको कार्याकक्ष प्रवेश गर्ने मुल चेनगेटमा नै तालाबन्दी गरेर धर्नामा बसेका छन् ।

सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलले भने, ‘मेडिसिन, सर्जरी, इएनटी र पेडियाट्रिक्सको स्नातकोत्तर तह आकर्षक विभाग मानिन्छन् । ती विभागमा नेपाली विद्यार्थीको कोटा बढी हुनु पर्नेमा विदेशी कोटा बढी छुट्याइयो । यी विभागमा विदेशी दक्ष चिकित्सक उत्पादन गरेर नेपालीलाई फाइदा छैन । यो विषयमा पुनरावलोकन गर्न हामीले प्रतिष्ठानलाई आग्रह गरेपनि वेवास्ता गरेकाले तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’

सबै विभागको सिटसंख्यालाई एकिकृत मानेर कुल सिट संख्याको एक तिहाई भन्दा कम सिटमा मात्र विदेशी विद्यार्थी कोटा छुट्याएपनि सोसाइटीले प्रत्येक विभागको सिट संख्यालाई कुल सिट मानेर नेपाली र विदेशी कोटा छुट्याउनु माग गरेको छ ।

प्रतिष्ठानका जुनियर चिकित्सकहरु तालाबन्दी र धर्नामा उत्रिएपछि विभिन्न विभागको ओपिडी र वार्डमा विरामी उपचार सेवा पनि प्रभावित भएको छ । गत शनिबार प्रतिष्ठानले एमडि/एमएसको प्रवेश परीक्षा लिएको थियो । रिजल्ट समेत प्रकाशित गरिसकेको र अव पाचदिन पछि प्रवेश परीक्षा पास भएका विद्यार्थीलाई काउन्सिलिङ कार्यक्रम राखिएको छ । सोसाइटीले उक्त काउन्सिलिङ रोक्ने गरी तालाबन्दी र धर्नामा उत्रेको जनाएको छ ।

प्रतिष्ठानले राष्ट्रिय चिकित्शा शिक्षा ऐन अनुसार नै नेपाली र विदेशी विद्यार्थीकालागि सिट संख्या विभाजन गरेको जनाउदै आएको छ । यसअघि आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपकुलपति रौनियारले कुल १ सय २३ सिटमा विदेशी कोटामा गतबर्षको भन्दा दुइ सिट कम गरी यसपटक २६ सिट मात्र छुट्याएको बताएका थिए ।

यसैवीच प्रतिष्ठानमा स्नातकोत्तर तहको सिट संख्याबारे उत्पन्न विवादलाई लिएर नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा दीलिप शर्माले चिकित्सा शिक्षा आयोगलाई असार ११ गते पत्र पठाउदै आफ्नो ध्यानाकर्ष भएको जनाएको छ । पत्रमा भनिएको छ, ‘चिकित्सक शास्त्रको स्नातकोत्तर विषय मध्ये कुनै पनि विद्या आफैमा पुर्ण र विशिष्ट रहेको हुदा एक अर्काको परिपुरकको रुपमा व्यवहार गर्न नमिल्ने व्यहोरा अवगत गरिन्छ ।’


प्रतिष्ठानलाई नेपाल सरकारले स्वायत्त स्वास्थ्य संस्था मानेको छ । सरकारी शिक्षण अस्पतालका चिकित्सकहरुले अरु निजि अस्पताल वा नसिंङ होममा पनि प्राक्टिस गर्न पाउने प्रावधान रहेको छ तर प्रतिष्ठानका कुनै पनि चिकित्सकले प्रतिष्ठान बाहिरको स्वास्थ्य संस्थामा शुल्क लिएर प्राक्टिस गर्न पाउँदैनन् ।


स्वायत्त भएकाले सरकारले भौतिक पुर्वाधार निर्माणकालागि मात्र सिमित बजेट दिने गरेको तर चिकित्सक, नर्स कर्मचारीलाई तलव भत्ता सुविधा नदिने भएकाले उपचार गर्न आएका विरामी र चिकित्सा शास्त्र अध्ययन गर्न आएका विद्यार्थीले तिरेको शुल्कबाटै प्रतिष्ठान संचालन गर्नु परेको अवस्थामा पनि आफुहरुले ऐन अनुसार नै सिटसंख्या छुट्याएको उपकुलपति रौनियारले बताए । उनले भने, ‘यदि सरकारले प्रतिष्ठानमा कार्यरत फ्याकल्टिहरु चिकित्सक, नर्स, कर्मचारीलाई तलवभत्ता सुविधा दिन्छ भने कुनै पनि सिटमा विदेशी विद्यार्थी भर्ना गर्दैनौ ।’

प्रकाशित : असार १२, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?