बगेर युवक बेपत्ता, महिलाको उद्धार
विराटनगर — अबिरल वर्षापछि आएको बाढीले मोरङका विभिन्न स्थामा क्षति पुर्याएको छ । बाढीमा बगेर एक युवक बेपत्ता भएका छन् । दाउरा खोज्न खोलामा गएकी एक महिलालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी बचाएका छन् ।
रंगेलीमा गेउरिया खोलाले डाईभर्सन बगाएपछि सवारी आउजाउ बन्द भएको छ । मोटरसाइकलमा सवार एक युवक उक्त स्थानमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । अन्दाजी ३० वर्षका उनको पहिचान खुलेको छैन ।
विराटनगर महानगरपालिका वडा १, २ मा सिंगिया खोला आसपासका जोखिममा परेका सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षाका कारण सिंगिया, बक्राहालगायत खोलाहरुमा बाढी आएको छ । बाढीका कारण खोला आसपास क्षेत्रका डेढ सयभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सयौं घरहरु डुबानमा परेका छन् । विस्थापित र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
बगेकी महिलाको उद्धार
यसैबीच मोरङको उर्लाबारी र दमकबीच बग्ने मावा खोलामा आएको बाढीमा बगेकी एक महिलालाई प्रहरीले उद्धार गरी बचाएको छ । बाढीमा बगेर आएको दाउरा खोज्ने क्रममा बगेकी स्थानीय ४६ वर्षीीया सुमित्रामाया कुमाललाई स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी बचाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित : असार २७, २०७६ १०:१४