त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

रासस

गाईघाट — चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।


प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी राखेको छ। तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाट समेत थप सामग्री मगाएर उद्धार कार्य शुरु गरिएको प्रजिअ खड्काले बताए।

पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिए। अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले बताए।

प्रकाशित : असार २८, २०७६ १४:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पारसको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिंगापुरमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेसियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।  


क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको मलेसिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई जितको लागि १२९ रनको चुनौती दिएको थियो।

कूल १२९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा कप्तान पारस खड्काले ८६ रनको अर्धशतकीय इनिङ् खेले। उनले ५० बल खेल्दै पाँच छक्का र आठ चौकाको मद्दतमा अविजित ८६ रनको योगदान दिएका हुन्।

त्यसैगरी शरद भेषवाकरले अविजित १६ रन जोड्दा शुरुआती ब्याट्सम्यान प्रदीप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन जोड्दै बाहिरिए।

बलिङतर्फ मलेसियाका अनवर रहमानले दुई तथा मोहमद फिट्रीले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सकेको थियो।

मलेसियाका लागि भिरन दिप सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै अहमेद फाइज मोहमद नुरले ४५ तथा मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।

मलेसियालाई १२८ रनमा समेट्नेक्रममा नेपालका करण केसी एक्लैले तीन विकेट लिए। त्यसैगरी वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट झारे।

अब नेपालले मलेसिया विरुद्वको दोस्रो तथा अन्तिम खेल भोलि आइतबार खेल्नेछ। सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा आयोजना हुदैछ।

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन्। नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ। यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिंगापुरसँग खेल्नेछ।

उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

प्रकाशित : असार २८, २०७६ १४:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT