कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाले बगाएर थप एकको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — खोलामा आएको बाढीले बगाएर झापामा शनिबार थप एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार शिवसताक्षी नगरपालिका १० बानडाँडाका देवीप्रसाद चापागाईका छोरा ९ वर्षीय सौगात चापागाईंको मृत्यु भएको हो । उनको बनियानी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौगात शिवसताक्षी ५ सालमारास्थित फुपु निर्मला पौडेलको घरमा गएका थिए । फुपुको घर छेउमा खेल्ने क्रममा चिप्लिएर बालक खोलामा खसेका थिए । बाढीले बगाएर बेपत्ता भएको बालकलाई स्थानीय र आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा शव फेला पारेका थिए ।


जिल्लामा यसअघि शुक्रबार पनि दमक नगरपालिका १० मा ६ वर्षीया बालिका एलिजा न्यौपानेको स्थानीय भालु खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । शुक्रबार नै कमल खोलाको बाढीले इलाम चुलाचुली गाउँपालिका १ का ५० बर्षीय अञ्चल लावतीको शव बगाएर ल्याएको थियो । शुक्रबार नै भद्रपुर नगरपालिका ९ स्थित हडिया खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका थिए । उनी अझैसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?