कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्नातकोत्तर क्याम्पसमा १० महिनादेखि ताला

विराटनगर — राजनीतिक भागबण्डाका आधारमा ‘बाहिरका’ शिक्षकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको विरोधमा प्राध्यापक संघले १० महिनाअघि स्नातकोत्तर क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला अझै खुलेको छैन  । ताला नखुलेपछि क्याम्पस प्रमुख अन्यत्र बसेर दैनिक प्रशासन चलाउँदै आएका छन्  ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत यहाँका तीनवटा आंगिक क्याम्पस स्नातकोत्तर, महेन्द्र मोरङ र नर्सिङ क्याम्पसको प्रमुख नियुक्त हुँदा राजनीतिक भागबण्डा गरिँदै आएको छ । स्नातकोत्तर तत्कालीन एमाओवादी, महेन्द्र मोरङ कांग्रेस र नर्सिङ क्याम्पस तत्कालीन एमालेको भागमा पर्दै आएको छ ।

राजनीतिक भागबण्डाअनुसार स्नातकोत्तर क्याम्पस प्रमुखमा तत्कालीन माओवादी समर्थक महेन्द्र मोरङ क्याम्पसको मनोविज्ञानशास्त्रका शिक्षक महेश खत्री नियुक्त भएपछि प्राध्यापक संघले बाहिरका शिक्षकलाई प्रमुखमा नियुक्त गरेको भन्दै तालाबन्दी गरेको थियो ।


‘१० महिना भो ताला खुलेको छैन’ प्राध्यापक संघका अध्यक्ष टुनाराज भट्टराईले भने, ‘प्रमुखले तालाबन्दी खुलाउने पहल समेत गरेका छैनन् ।’ तालाबन्दीले प्रमुख खत्री आफनो कार्यकक्षमा छिर्न पाएका छैनन् भने क्याम्पसको शैक्षिक कार्यक्रम पनि प्रभावित भएको भट्टराईले जनाए । यसअघि पनि यो क्याम्पसको प्रमुखमा महेन्द्र मोरङ क्याम्पसकै शिक्षक बल्लभमणि पौडेल र हरिहर भण्डारी नियुक्त भएका थिए ।


बाहिरका शिक्षकलाई प्रमुखमा नियुक्त गर्दा शैक्षिक वातावरण खस्कँदै जाँदा यो क्याम्पसमा विद्यार्थीको आकर्षण हरेक वर्ष घटदै गएको गुनासो प्राध्यापकहरूको छ । विभिन्न संकायमा दशकअघिसम्म यो क्याम्पसमा झण्डै २ हजार वद्यार्थी भर्ना हुन्थे । अहिले बढीमा अढाई सय विद्यार्थी भर्ना भए पनि नियमित पढ्न आउने विद्यार्थीको संख्या अत्यन्तै न्यून छ ।


क्याम्पसमा ५० जना शिक्षक छन् । तर, विद्यार्थी मुस्किलले अढाई सय छन् । भट्टराईका अनुसार नेपालीमा १०, ग्रामीण विकासमा ८, संस्कृतिमा ३, अंग्रेजीमा २६, राजनीतिशास्त्रमा २४, इतिहासमा शून्य, प्राणीशास्त्रमा २०, वनस्पतिशास्त्रमा २०, अर्थशास्त्रमा ४५ र समाजशास्त्रमा १५ जना विद्यार्थी भर्ना भएका छन् ।


विश्वविद्यालय अनुदान आयोगको करिब १० लाख अनुदानमा दशक पहिला यो क्याम्पसमा रिसर्च सेल पनि स्थापना भएको थियो । सेल स्थापना भएपछि क्याम्पसबाट १० जना विद्यार्थीले विद्यावारिधिको उपाधि लिएका थिए । अहिले उक्त रिसर्च सेल र इ–लाइब्रेरीका कम्प्युटर, ल्यापटप, फ्याक्स, प्रिन्टर र एयर कन्डिसनलगायत सामग्री अन्यत्र प्रयोग गरिएका छन् । क्याम्पस २०४२ सालमा स्थापना भएको हो ।


आफूलाई त्रिविले यो क्याम्पसको प्रमुख बनाएर पठाएको हो । प्रमुख खत्रीले भने तर क्याम्पसका शिक्षकहरूले कलेजकै शिक्षक प्रमुख हुनुपर्ने माग राख्दै तालाबन्दी गरेकाले ताला खुल्न नसकेको हो । तालाबन्दीले क्याम्पसको कुनै पनि गतिविधि प्रभावित नभएको खत्रीको दाबी छ । ‘पढाइ भइरहेको छ, प्रशासन चलिरहेको छ,’ उनले भने, ‘सिर्फ म आफनो कार्यकक्षमा छिर्न मात्र पाएको छैन ।’

प्रकाशित : असार २९, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?