१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जलमग्न भएपछि विराटनगरका विद्यालयमा ३ दिन बिदा

विराटनगर — अविरल वर्षाका कारण चौतर्फी जलमग्न भएपछि विराटनगर महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा तीन दिन बिदा गर्ने भएको छ । महानगरका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले आइतबार विज्ञप्ति जारी गरी नगरभित्रका सामुदायिक विद्यालयलाई बर्खे बिदामा समायोजन गर्नेगरी मंगलबारसम्म बिदा दिइएको उल्लेख गरेका छन् ।

जलमग्न भएपछि विराटनगरका विद्यालयमा ३ दिन बिदा

महानगरभित्र ५५ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालय छन् । महानगरले साउन १ गतेदेखि सामुदायिक विद्यालयलाई बर्खे बिदा दिने तयारी गरेको थियो । अविरल वर्षाको पानीले निकास नपाउँदा नगरका प्रायः सबै विद्यालय डुबानमा परेका छन् ।


त्यसैगरी निजी विद्यालयहरू पनि आइतबारदेखि केही दिनका लागि बन्द गरिएको प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्यले बताए । केही निजी विद्यालयले यसबेला परीक्षा गरिरहेका थिए । केहीले सकेका थिए । आचार्यले भने, ‘पानीले जलमग्न भएपछि परीक्षा स्थगन गरेर भएपनि केही दिनका लागि विद्यालय बन्द गरिएको छ ।’ महानगरमा १ सय ५ वटा संस्थागत विद्यालय छन् ।


त्यस्तै नगरका केही निजी कलेज र बाढीले बढी प्रभाव परेका रंगेली, रतुवामाई नगरपालिका सहित जहदा, धनपालथान र कटहरी गाउँपालिकाका अधिकाँश सामुदायिक र संस्थागत विद्यालयले पनि छुट्टि दिएका छन् ।

प्रकाशित : असार २९, २०७६ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?