कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा सुविधासम्पन्न अस्पताल अभाव

सुम्निमा चाम्लिङ

(इटहरी) — इटहरी ६ संगीत चोककी २० वर्षीया पुजा शर्मा आफ्नै घरको चार तला माथिबाट अचानक लड्न पुगिन् । गर्मी मौसम भएकाले बार्दलीको डिलमा बस्न खोज्दा लडिन् ।

इटहरीमा सुविधासम्पन्न अस्पताल अभाव

अवस्था गम्भीर भएकाले तत्काल एम्बुलेन्स बोलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइयो । उपचारको क्रममा उनको मृत्यु भयो । घटना सम्झदै उनका काका दिपक शर्माले भन्छन्, ‘इटहरीमै स्तरीय अस्पताल भएको भए धरान पुर्यउने समय भन्दा अगाडि नै उपचार सुरु भइसक्ने थियो । हाम्रो नानी बच्ने थिइन होला ।’


इटहरी ६ स्थित पुर्व पश्चिम राजमार्गमा पैदल यात्री इटहरी ९ बस्ने ७७ वर्षीय धनबहादुर भण्डारीलाई काठमाडौदेखि काकडभिटा जाँदै गरेको बसले ठक्कर दियो । इटहरीस्थित एपेक्स हस्पिटल पुर्‍याइयो । त्यहां उपचार सम्भव नभएपछि बीपी प्रतिष्ठान रेफर गरियो । उपचारक्रममा मृत्यु भयो ।


इटहरी वडा १० कि मन्दिरा बान्तवा राई महिनामा एक पटक धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउने गर्छिन् । प्रतिष्ठानमा सुलभ मूल्यमा विशेषज्ञबाट उपचार पाईने भएकाले उपचारका लागि आउने गरेको उनको भनाइ छ । इटहरी पुर्वी नेपालमा राम्रो आवधिक भएको शहर हो । यद्यपि स्तरीय सेवासुविधा भएको अस्पतालको अभाव छ ।


इटहरीमा उपचारका लागि धरान र विराटनगरका अस्पताल धाउनुपर्ने बाध्यता छ । नगरमा रहेका अस्पतालहरूले सामान्य उपचार मात्र दिने गरेको छ । इटहरीमा केही स्वास्थ्य संस्थाहरू त छन् तर तिनिहरूमा विशेषज्ञ चिकित्सक नहुदा हप्तौ पर्खनुपर्ने वा अन्यत्र अस्पताल लैजानुपर्ने इटहरीबासीको बाध्यता छ । भेन्टीलेटर, आइसीयु,एनआइसियु जस्ता सेवा उपलब्ध छैन ।


सुविधा अभाव

इटहरीमा ७ वटा अस्पताल र ७ वटा पोलिक्लिनिक संचालनमा छन् । नेपाल औषधी व्यवसायी संघका अनुसार झन्डै ८० को हाराहारीमा औषधी पसल संचालनमा छन् । नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चार वटा स्वास्थ्य चौकी र एक शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र छ । १५ शैयाको अस्पताल संचालन गर्ने भनेर उपमहनगरपालिकाले इटहरी प्राथमिक स्वास्थय केन्द्रलाई अस्पताल नामकारण गरेको छ । क्षेत्रफल र भौतिक पुर्वाधार समेत पर्याप्त छ । तर स्तरोन्नतीको काम भने अघि बढ्न सकेको छैन ।


इटहरीमा ठुला ठुला लगानीमा विभिन्न स्वास्थ्य संस्था स्थापना नभएका भने होईनन् । क्षेत्रमा लगानीको क्रम जारी छ । केही वर्षअघि ठुलो लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पुर्वान्चल हस्पिटल हाल लगायतका स्वास्थ्य संस्थाहरू बन्द भएका छन् । संचालनमा रहको स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्तिको अभाव छ ।


सामुदायिक अस्पताल इटहरीका व्यवस्थापक टंक दुलाल बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताउछन् । ‘एमडी फिजिसियन २४ सै घण्टाका लागि राखेका छौ’ उनले भने, ‘तर विशेषज्ञ डाक्टरहरू भने केही समय अवधीका लागी मात्र आउने गर्नुहुन्छ ।’ इटहरीमा रहेको पंचकोशी पोलिक्लिनिकका संचालक तथा नेपाल औषधी व्यवसायी संघ इटहरीका संयोजक नवीन सुवेदीका अनुसार चिकित्सकको अभावमा स्वास्थ्य संस्था संचालनमा गर्न कठीनाई हुने गरेको छ ।


आन्तरिक व्यवस्थापन र पार्किङको समस्याको कारण अस्पताल बन्द गर्नुपरेको टिआर हस्पिटलका संचालक तिलक अधिकारीले बताए । ‘व्यवस्थापन कमजोर हुँदा पाच वर्ष पछि अस्पताल बन्द गर्नुपर्‍यो ।’ उनले भने, ‘आगामी दिनमा संचालन गर्ने तयारीमा छु ।’ विराटनगर लाईनमा करिब चार करोडको लगानीमा १५ शैयाको अस्पताल सुरु गरेका थिए ।


निजीमा बढी शुल्क

नगरका अस्पतालमा उदयपुर,सुनसरी, मोरङ र धनकुटाबाट उपचारका लागि बिरामीहरू आउने गरेका छन् । पुर्जी काट्नका न्युनतम २ सय ५० रुपैया माथि शुल्क रहेको छ । यस्तै, सामान्य शल्यक्रियाका लागि भने २ हजार ५ सय देखी ४ हजार रुपैया सम्म तिर्नुपर्नेछ । दुलालका अनुसार आगामी तीन महिनादेखि हलगडा चोकमा ५१ शैयाको अस्पताल संचालन हुनेछ । जहां आईसीयु, एनआईसीयु, शल्यक्रिया, सिटी स्क्यान जस्ता सबै सेवा सुविधा हुनेछन् ।


प्रस्तावित इटहरी अस्पतालका हेल्थ असिस्टेन्ट रामकुमार धमलाका अनुसार दैनिक २ सय बढी बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा हाल एमबिबिएस चिकित्सकबाट सामान्य उपचार मात्र हुने गरेको छ । एक्सरे सेवा विगत केही महिनादेखि बन्द छ । सरकारले निशुल्क प्रदान गर्ने औषधी समेत अभाव हुने गरेको छ ।


स्वास्थ्य क्षेत्रमा नगरको बजेट

स्वास्थ्य क्षेत्रमा यस चालु आर्थीक वर्षमा कुल १ करोड २५ लाख बजेट विनियोजन भएको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बजेट कम भएको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका प्रमुखहरूको भनाइ छ । आगामी वर्षमा स्वास्थ्य क्षेत्रमा ठुलो हिस्सा स्वास्थ्य क्षेत्रमा समेत बजेट विनियोजन हुनुपर्ने उनीहरूको माग छ ।


यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरी १५ शैयाको अस्पताल संचालनमा आउन लागेको बताईन् । उनका अनुसार आउदो साउनमा उपकरण खरिदपछी संचालनमा आउनेछ । उनले भनिन्, ‘स्थानीय सरकारले १५ शैया बढी अस्पताल चलाउन पाईन्न । प्रदेश सरकारको स्वीकृतीमा १५ देखि ५० शैयाको अस्पताल चलाउन पाईन्छ ।’ इटहरीमा स्वास्थ्य क्षेत्रमा बजेट कम भएको विषयमा आलोचना भईरहदा उपमेयर गौतम भने स्वास्थ्य क्षेत्रमा देशभरीका पालिकाहरू मध्ये उत्कृष्ट पाच भित्र पर्न सफल भएको दाबी गर्छिन् ।


स्थानीय रामकुमार माण्डुपा राईले इटहरीमा सबै प्रकारका सेवासुविधा सहितको अस्पताल आवश्यक रहेको बताउछन् । ‘शैक्षिक र खेलकुदको क्षेत्रमा प्रगति भएपनी स्वास्थ्यको क्षेत्रमा इटहरी धेरै पछाडी छ ।’ उनले भने, ‘स्थानीय सरकारबाट पर्याप्त पहल हुन जरुरी छ ।’ स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको तर्फबाट समेत बेवास्ता भएको उनको गुनासो छ ।


स्थानीय, प्रदेश र संघीय सरकार,सरोकारवाला निकाय, संघसस्था, व्यक्ति तथा नागरिक समाज बीच समन्वय र सहकार्य गर्दै इटहरीमा स्तरीय अस्पताल स्थापना र संचालन गर्नुपर्ने इटहरीवासीको माग छ । स्थानीय राजु केसी पनि अनुसार इटहरीमा सबै प्रकारका सुविधा सहितको अस्पताल नहुदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेको दुखेसो गर्छन् । इटहरीमा पछिल्लो समय धेरै दुर्घटना हुन थालेको छ । त्यसैले ट्रमा सेन्टरसहित आकस्मिक कक्षको राम्रो प्रबन्ध भएको विशेषज्ञ सेवासहितको स्तरीय अस्पताल इटहरीमा अत्यावश्यक रहेको नर्सिङ प्रशिक्षक सरिता खतिवडाको भनाइ छ ।


प्रकाशित : श्रावण १, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?