बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.खनाल नियुक्त

प्रदीप मेन्याङ्बो

(सुनसरी) — एक सातादेखि उपकुलपतिविहीन बनेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार निमित्त उपकुलपति पाएको छ । प्रतिष्ठान उपकुलपतिविहीन भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई निमित्त उपकुलपति पदमा नियुक्त गरेको हो । 

उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अख्तियारको ऐन २०४८ को दफा १७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः पदवाट निलम्बनमा परेकाले अर्को व्यवस्था नभएसम्मका लागि डा खनाललाई निमित्त उपकुलपतिमा नियुत्त गरिएको प्रतिष्ठानले जनाएको छ । निमित्त उपकुलपति नियुक्त डा खनालले प्रतिष्ठानको विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखा/महाशाखा प्रमुखहरुको बैठक गरी सबैलाई आ-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेको प्रतिष्ठानले जनाएको छ ।

यता प्रतिष्ठानकै चार पदाधिकारीमध्ये एक मानिएका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई पनि अख्तियारले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेकाले आर्थिक कारोबारमा समस्या भने ज्युकाँ त्यूँ छ । उनी पनि स्वत: निलम्बनमा परेकाले उक्त पद पनि रिक्त छ ।

यसैगरी लेखा प्रमुख दिनेश दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तवलाई पनि अख्तियारले मुद्दा दायर गरेकाले उनीहरु पनि स्वत: निलम्बनमा परेका छन् ।

प्रकाशित : श्रावण १, २०७६ १९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सैनिक युथलाई मुख्यमन्त्री कपको उपाधि

प्रदीप मेन्याङ्बो

सुनसरी — मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि झापाको सैनिक युथ क्लबले उचालेको छ । धरानमा रंगशालामा मङ्गलवार सम्पन्न मोरङको बेलबारी फुटबल क्लब विरुद्ध २–१ गोल गर्दै सैनिक युथ प्रदेश लिग च्याम्पियन बनेको हो । उपाधिसँगै सैनिकले नगद ५ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । लिग उपविजेतामा चित्त बुझाएको बेलबारीले नगद ३ लाख रुपैयाँ हात पार्‍यो । 

सैनिक युथलाई प्रदेश लिग च्याम्पियन बनाउन खेल सुरु भएको पहिलो मिनेटमा रेजिन माझी र खेलको ८७ औँ मिनेटमा विकेस सुब्बाले गोल गरेका थिए । बेलबारीका सौरभ कार्कीले खेलको ५२ औँ मिनेटमा पाएको कर्नर प्रहारलाई सान्त्वना गोल गरेका थिए ।

लिगको फाइनल चरणमा सैनिक युथले खोटाङलाई ६–३ गोल र उपाधिको दाबेदार मानिएको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । उता समूह एबाट विजेता बनेर फाइनलमा पुगेको बेलबारीले धनकुटाको बौद्धिक विकास समितिलाई ६–१ गोल र धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा बेलबारीका भूषण सुब्बा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । खेलका म्यान अफ द म्याच बेलबारीका शौरभ कार्की भए । उनले नगद १० हजार हात पारे ।

सैनिकका मनोज प्रधान र विमन प्रसाद राई क्रमशः उत्कृष्ट गोलकिपर र उत्कृष्ट डिफेन्स घोषित भए । धरान फुटबल क्लबका उमेश राई उत्कृष्ट मिडफिल्डर,सैनिकका विकेश लिम्बू उत्कृष्ट स्ट्राइकर, सैनिक युथका प्रवेश कट्वाल उत्कृष्ट कोच घोषित भए । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : असार ३१, २०७६ २०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT