कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टहरा हटाएर हाट व्यवस्थित गरिने

आनन्द गौतम

ताप्लेजुङ — जनप्रतिनिधि आएको झन्डै दुई वर्षपछि फुङलिङ नगरपालिकाले हाट व्यवस्थापन गर्ने योजना ल्याएको छ । नगरपालिका ७ मा रहेको तोक्मेडाँडाका झुप्राझुप्री हटाएर व्यवस्थित हाट बनाउने भएको हो ।

बढ्दो सहरीकरण र सवारी साधनको चाप व्यवस्थित गर्न गाडी पार्किङ सहितको हाट बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।


कार्यपालिका सदस्य तारा बरालका अनुसार पहिलो चरणमा १ करोड २० लाख रुपैयाँ खर्च गर्ने र प्रकृया सुरु गर्ने निर्णय भएको छ । असार ३१ गतेको कार्यपालिका बैठकले निर्णयसमेत गरेको बरालले बताए । तीन रोपनी सार्वजनिक जग्गा रहेको यसलाई बहुउपयोगी बनाउने विषयमा सर्वसम्मत निर्णय भएको उनले बताए ।


तोक्मेडाँडाको नामले परिचित यो ठाउँमा विसं १९५२ देखि हाट लाग्दै आएको बुढापाका बताउँछन् । हाट लाग्ने ठाउँको तीन रोपनी जमिन सेनाले अतिक्रमण गरेर आफ्नो नाममा धनिपूर्जा लिएको छ ।


उक्त जमिन अहिले सेनाले काँडे तारले घेरेर राखेको छ । यसको उपयोग भएको छैन । गाउँबाट व्यापार लिएर आएका किसानहरू भने साँघुरो ठाउँमा चिसो भुइँमा बसेर आफ्नो सामान बिक्री गर्न बाध्य छन् । सेनाले आफ्नो कब्जामा लिएको जग्गा फिर्ताका लागि तत्कालीन जिविसले पटक/पटक पत्राचार गरेको तर सुनुवाइ नभएको जिविसमा लामो समय काम गरेर अवकास भएका दुर्गा श्रेष्ठ बताउँछन् । उनका अनुसार दिपेन्द्र सेन्दाङ, रामप्रसाद पालुङवा, विजयराज थेवे जस्तो हरेक पटकजसो भएका सभापतिले यसको माग गरेका थिए । फुङलिङ नगरपालिका ७ का सुरेस पालुङवाका अनुसार सेनाले घेराबारा गरेको जमिनमा पहिला शनिबार हाट लाग्ने गरेको थियो ।


हाट लाग्ने ठाउँमा अहिले सहरी विकास कार्यालय इलामले जस्ता पाताको छानो लगाएर ट्रष्ट बनाइदिएको छ । यी सबै ट्रष्टलाई हटाएर कम्तिमा ४ तले आकर्षक भवन बनाउने सकृयता नगरपालिकाले देखाएको हो । यसका लागि प्रदेश र केन्द्र सरकारलाई पनि अनुरोध गर्ने निर्णय गरिएको बरालले बताए ।


पहिलो चरणमा विस्तृत योजना बनाउने र निर्माणको काम सुरु गर्ने निर्णय भएको वाडा नं ७ का वडाध्यक्ष राजन गुरुङ बताउँछन् । गुरुङका अनुसार पहिलो चरणको बजेट प्रत्येक वडाबाट १० लाखका दरले छुट्याएर हालिएको हो ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?