तरकारीले वार्षिक ३० लाख 

विनोद भण्डारी

विराटनगर — छिमेककी युवा कमाउन खाडी मुलुक उडेको देख्दा मोरङ कटहरी गाउँपालिका ४ फुलटोल मधुराका शिवनाथ सिंहलाई पनि जाउँजाउँ लाग्थ्यो । विदेश गएर कमाएर ल्याए जीवन अलि सहज हुन्थ्यो भन्ने कल्पना पनि गरेका थिए । धेरै सोचे तर उनले त्यो बाटो रोजेनन् । गाउँमै कृषि कर्ममा लाग्ने निधो गरे ।

निधो त गरे तर, एकै धुर पनि जग्गा थिएन । घरनजिक रहेको विराटनगर निवासी प्रेम कार्कीको १० कठ्ठा जमिन भाडामा लिए । अनि तरकारी खेती सुरु गरे । पहिलो सालै सोचेभन्दा बढी आम्दानी गरे । त्यही आम्दानीले भाडाको जग्गा आफ्नो बनाए । एक सिजनमा एक कट्ठाको तरकारीबाट खर्च कटाएर ४० हजार रुपैयाँसम्म कमाउन सकिने उनले बताए ।

यो १५ वर्षअघिको कुरा हो । त्यसयता उनले ७ बिघा जमिन जोडिसकेका छन् । त्यही सात बिघामा अहिले तरकारी खेती गरेका छन् । खर्च कटाएर वार्षिक सरदर २५–३० लाख रुपैयाँ कमाउँदै आएको उनको भनाइ छ ।

खेतीमा ८ जनाले रोजगारी पाएका छन् । ६ महिला र दुई पुरुषलाई दैनिक ५ सय रुपैयाँ ज्याला दिन्छन् । यतिमात्र होइन, उनले पाँच वर्षयता पिता जगदीश, आमा कान्तीदेवी, आफू र पत्नी शान्तिदेवीको नाममा पनि मासिक १५ हजारका दरले पारिश्रमिक तोकेका छन् । सबैको गरी मासिक ६० रुपैयाँ तलब छुट्याएर बचेको रकम घर खर्च र तीन छोरी र एक छोरालाई बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।

परिवारका सबैको पारिश्रमिक जम्मा गर्न बैंकमा खाता खोलिएको सिंहले बताए । महिना मरेको भोलिपल्ट सबैको खातामा १५–१५ हजार रुपैयाँ जम्मा गरिदिएर भौचर दिन्छन् । ‘घरमा सामूहिक काम गर्नुपर्दा सबैले बैंकबाट आ–आफ्नो रकम झिक्ने गरेका छौं,’ सिंहले भने, ‘सबैको खातामा सरदर ७ लाख रुपैयाँ जम्मा भएको छ ।’

परिवारका सबैले आ–आफनो जिम्मेवारी सम्हाल्छन् । ‘बुवा र म खेती हेर्छौं, आमा चारवटा गाई हेर्नुहुन्छ,’ उनले भने, ‘पत्नीको भागमा बाख्रा र बिहान बेलुका खाना पकाउने जिम्मेवारी छ ।’ परिवारले दैनिक १५ लिटर दूध पनि बेच्छन् । ‘बजारको समस्या छैन,’ उनले भने, ‘प्राकृतिक प्रकोपले कहिलेकाहीँ नोक्सानी हुन्छ ।’ यो वर्षको बाढीले सात बिघा तरकारी खेतीमा करिब २० लाखको क्षति पुगेको उनको दाबी छ । ‘तर यो घाटा होइन,’ उनले भने, ‘लगानी र खर्च उठिसकेको थियो ।’ बाँकी रहेको तरकारी बारीमा बाढीले मलिलो लेदो हालेर अर्को बालीका लागि उर्बर माटो बनाई दिएको उनले बताए ।

चार वर्ष मलेसियामा श्रम गरेर फर्किएका कटहरी ४ नयाँ बजारका कोपेन्द्र सिंह पनि तरकारी खेतीबाटै करोडपति बनेका छन् । ‘मलेसियाबाट ४ लाख ६५ हजार रुपैयाँ कमाएर ल्याएँ,’ कोपेन्द्रले भने, ‘त्यहाँबाट फर्किएर तरकारी खेती गर्दा सात वर्षमा राम्रै कमाइ गर्न सकें ।’

उनले पनि सात वर्षअघि दुई कठ्ठा जमिनबाट खेती सुरु गरेका थिए । त्यही खेतीबाट कमाएर अहिले चार बिघा जमिन किनेका छन् । ‘यो खेतीबाट खर्च कटाएर अहिले वार्षिक सरदर १२–१५ लाख रुपैयाँ बचाउँदै आएको छु,’ उनले भने । ५ जनालाई दैनिक जनही ५ सय रुपैयाँ ज्याला दिएर काम लगाइरहेका छन् । उनले आफ्नो घर छेउका विदेश जाने तयारीमा बसेका १२ युवालाई कृषि कर्ममा लगाएका छन् । कोपेन्द्रले तरकारीकै कमाइले किसान कृषि फार्म पनि खोलेका छन् । करिब १८ लाखमा खोलेको फार्ममार्फत उनी तरकारी, धान, गहुँको बीउ उत्पादन गरेर बेच्छन् । यो उनको बेग्लै कमाइ हो ।

यसपालिको बाढीले तरकारी खेतीमा करिब ७ लाख क्षति पुगेको उनको दाबी छ । तर, उनी पनि यो क्षतिबाट बिचलित छैनन् । उनले तरकारी खेतीबाटै जिल्ला, अञ्चल र प्रदेश स्तरीय राष्ट्रपति कृषि पुरस्कार पाइसकेका छन् ।

कोपेन्द्रकै सुझावमा खाडी मुलुक नगई तरकारी खेती सुरु गरेका उनका छिमेकी सञ्जय सिंह अहिले वार्षिक ७–८ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । ‘साउदी जाने तयारी गरेको थिएँ,’ उनले भने, ‘कोपेन्द्रले गाउँमै तरकारी खेती गर्न सुझाव दिए ।’
चार वर्षअघि ५ कठ्ठाबाट सुरु गरेको तरकारी खेती दुई बिघामा पुगेको छ ।

खर्च कटाएर वार्षिक ७–८ लाख रुपैयाँ आम्दानी भइरहेको सञ्जयले बताए । शिवनाथ, कोपेन्द्र र संजयमात्र होइन मोरङको कटहरी र जहदामा तरकारी खेती गर्ने प्रायः सबै किसानले लोभलाग्दो कमाइ गरिरहेको कृषि निर्देशनालयका कृषि प्रसार अधिकारी हृदय पोखरेलको भनाइ छ । कटहरी र जहदा गाउँपालिकामा ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । ‘यसमा करिब दुई सय किसान सहभागी छन्,’ उनले भने ।

प्रकाशित : श्रावण २१, २०७६ १०:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खोला र जंगलमा फोहोर विसर्जन

पर्वत पोर्तेल

काँकडभिट्टा — मेचीनगरपालिकाले फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइड निर्माणको पहल २०६१ सालतिरै गरेको थियो । तत्कालीन शाही शासनकालका नगर प्रमुख कल्याण खडकाले निर्माणका लागि पहल थालेका थिए । तर, अहिलेसम्म नबन्दा नगरमा जम्मा हुने फोहोर व्यवस्थापन हुन सकेको छैन ।

जिल्लाका १५ वटै स्थानीय तहको यो साझा समस्या हो । कसैले खोलामा बगाइरहेका छन् । कसैले खुला जमिन र जंगल क्षेत्रमा विसर्जन गरिरहेका छन् । झापामा दैनिक सय टनभन्दा बढी फोहोर उत्पादन हुने अनुमान छ ।

मेची क्याम्पस भद्रपुरको वातावरण विज्ञान विभागका प्रमुख सहायक प्राध्यापक दिवस दाहालले खोला र जंगल जस्ता क्षेत्रमा फोहोर विसर्जन गरिनु दुर्भाग्य रहेको जनाए । उनका अनुसार जथाभावी फोहोर विसर्जन गर्दा निकट भविष्यमा मानवमा जटिल स्वास्थ्य समस्या देखा पर्न सक्ने दाबी गरे ।

मेचीनगरले वडा ६ काँकडभिट्टातिर जम्मा हुने फोहोर मेची खोलाको बगरमा फ्याँक्ने गरेको छ । जथाभावी फोहोर छरिएको छ । दुर्गन्धित बनेको छ । नगरको फोहोरले मेचीनगर ७ को सुकुम्बासीका टोलमा बढी दुर्गन्ध फैलिने गरेको छ ।

स्थानीय विमला तामाङका अनुसार मेचीको बाढीले फोहोर बगाएर धान खेतभरि छरिदिएको छ । ‘धान खेतभरि प्लास्टिकै प्लास्टिक छ’, तामाङले गुनासो पोखिन्, ‘फोहोरको दुर्गन्ध त सहेकै थियौं, अब खेतभरि प्लास्टिकै प्लास्टिक भएको छ त्यो पनि सहनु पर्ने हामीले ।’ मेचीनगरकै धुलाबारी, चारआली लगायतको फोहोर पनि स्थानीय खोला र जंगल क्षेत्रमा विसर्जन गरिन्छ ।

भद्रपुरले २०६५ सालमा ल्यान्डफिल बनाउने प्रकृया अघि बढायो । तर, मेचीनगर जस्तै असफल बन्यो । भद्रपुरले पनि मेची किनारमा फोहोर विसर्जन गर्दै आएको छ । नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठका अनुसार डम्पिङ साइट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन भइसकेको बताइन् ।

२०६५ मा स्थानीय विकास मन्त्रालयको करिब २६ लाख सहयोगमा ल्यान्डफिल निर्माण पहल थालिए पनि यो तुहिएको थियो । तत्कालीन नगर अधिकृत जीवनकुमार पाठकसहित संयन्त्रका सदस्यको मिलेमतोमा अनियमित तरिकाले जग्गा खरिद गरिएको भन्ने स्थानीयको आरोपपछि योजना तुहिएको हो ।

नगरपालिका र राजनीतिक संयन्त्रका प्रतिनिधिले चन्द्रगढी र ज्यामिरगढी गाविसको सिमानास्थित तत्कालीन चन्द्रगढी ७ (भद्रपुर ९) घोडामारा भन्ने स्थानको हडिया खोला बगरमा ६ बिघा ९ कठ्ठा १० धुर जग्गा खरिद गरेको थियो । जग्गा खरिदमै भ्रष्टाचार भएको आरोप लागेको थियो । पछि यो स्थान ल्यान्डफिल साइटका लागि अनुपयुक्त ठहर गर्दै अन्यत्रै बनाउने प्रकृया नगरले थालेको थियो ।

विर्तामोडले नगरको फोहोर राजमार्ग छेउको खुला जमिनमा पुर्दै आएको छ । अर्जुनधाराले बिरिङ खोलामा बगाउँछ । केही दिनअघि विरिङ खोला आसपास बसोबास गर्ने स्थानीय गुनासो लिएर नगरमा आएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।
दमकले रतुवा खोलाको माथिल्लो भागमा फोहोर विसर्जन गर्छ । कन्काईले धनुषकोटी धार्मिक पर्यटन क्षेत्र पूर्वको जंगलमा फोहोर विसर्जन गर्दै आएको छ । शिव सताक्षीले राजमार्ग उत्तरको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रमा फोहोर थुपार्छ । गौरादहले वडा १ मा रहेको एउटा पोखरीको नजिकै फोहोर पुर्ने गरेको छ ।

अस्थायी रूपमा खोला र जंगलमा फोहोर विसर्जन गर्दै आएका यी नगरले ल्यान्डफिल्ड साइट निर्माणको प्रकृया सुरु भइसकेको जनाएका छन् ।

दमकका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिगत ५ वर्षदेखि नै नगरको फोहोर निजी संस्था पाथवे नेपालले गर्दै आएको जनाएको छ । उसले रतुवा खोलाको माथिल्लो क्षेत्रमा फोहोर फ्याक्दै आएको छ । तिम्सिनाले भने, ‘हामीले गरेको फोहोर व्यवस्थापनले रतुवामा तटबन्धनको काम पनि गरेको छ, अस्थायी रूपमा फोहोर पनि विसर्जन भइरहेको छ ।’

उनका अनुसार वैकल्पिक ऊर्जा केन्द्र र विश्व बैंकको अनुदान सहयोगमा व्यवस्थित ल्यान्डफिल साइट निर्माणको काम सुरु भइसकेको छ । करिब २३ करोडको लगानीमा दीर्घकालीन फोहोर व्यवस्थापन गरिनेछ । गौरादह नगरका मेयर रोहितकुमार साहले पनि डम्पिङ साइटका लागि काम सुरु भएको जनाए । उनले नगरको ग्वालडुव्वा पश्चिममा जमिन खरिद गरिएको जनाए । बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले नगरले खाली जमिनमा फोहोर व्यवस्थापनगरिरहेको जनाए ।

प्रकाशित : श्रावण २१, २०७६ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT