कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बधशाला नबनाउँदा ३ करोड फिर्ता

विनु तिम्सिना

विराटनगर — विराटनगरमा व्यवस्थित पशु बधशाला बनाउन प्रदेश सरकारले महानगरलाई अनुदान बजेट उपलब्ध गराएको महिनौं भइसक्दा पनि काम अघि बढाइएको छैन । निर्माण नहुँदा ३ करोड रुपैयाँ फिर्ता भएको छ ।

बधशाला नबनाउँदा ३ करोड फिर्ता

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले महानगरपालिका ८ मधुमारामा निर्माणाधीन बधशालाका लागि ३ करोड बजेट दिएको थियो । महानगरपालिकाले समयमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नसक्दा बजेट प्रयोग हुन नसकेको हो ।


हाल बनेको संरचना बधशालाका लागि उपयुक्त नभएकाले त्यसलाई भत्काएर अर्को बनाउने कि त्यसैलाई परिमार्जन गर्ने भन्ने विषयमा महानगरपालिकाले गैरसरकारी संस्था हेफर इन्टरनेसनल नेपाललाई डिपीआर तयार गर्ने जिम्मेवारी दिएको थियो । तर उक्त संस्थाले डिपिआर तयार नगरेपछि काम सुरु हुन नसकेको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारिले बताए ।


‘अहिले बनेको संरचना बधशालाका लागि उपयुक्त छैन्,’ उनले भने, ‘यसको सट्टामा नयाँ बनाउने या त्यसलाई नै परिमार्जन गरेर बनाउने भन्ने विषयमा डिपिआर बनाउन दिइएको हो तर अहिलेसम्म रिपोर्ट आएको छैन ।’ महानगरपालिकाले टेन्डर समेत लगाउन नसक्दा रकम फिर्ता भएको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताए । ‘महानगरपालिकाले काम नै सुरु गर्न सकेन टेण्डर मात्रै आहान गरेको थियो भनेपनि बजेट भुक्तानी दिने बाटो खुल्थ्यो,’ उनले भने, ‘तर काम गर्न नसक्दा बजेट फिर्ता भएको हो ।’


प्रदेश सरकारले चालु आर्थिक वर्ष बधशाला निर्माणका लागि थप ५ करोड बजेट विनियोजन गरेको छ । बधशाला सम्पन्न गर्न २२ करोड लागत लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । उक्त लागतको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने भएको हो । उपभोक्तालाई स्वस्थ्यकर मासु उपलब्ध गराउने उद्देश्यसहित पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालयको ६० लाख र तत्कालिन विराटनगर उपमहानगरको ३८ लाख बजेटमा २०६६ बाट बधशाला निर्माणको काम सुरु भएको थियो ।


त्यसयता एक करोड १९ लाख बजेट खर्च भइसकेको छ । आर्थिक वर्ष ०७४/७५ मा संघीय सरकारले बधशाला निर्माणकालागि १ करोड २० लाख रुपैयाँ बजेट पठाएको थियो । बजेट खर्च हुन सकेन् । महनगरपालिकाले समेत आर्थिक वर्ष २०७५/७६ १ करोड विनियोजन गरेको महानगर सरसफाइ शाखा प्रमुख हिरालाल यादवले बताए । संयुक्त टोल नगर समन्वय समिति विराटनगरका अध्यक्ष राजेश मास्केले बधशाला असफल परियोजना भएको बताए ।


महानगरपालिकाले हाटबजार व्यवस्थित गर्ने बताएको भए पनि त्यो हुन नसकेको बताउँदै मास्केले बधशाला पनि निर्माण सम्पन्न भएपनि प्रयोगमा आउने कुरामा शंका व्यक्त गरे ।


आधा बनेको संरचना अहिले आएर अनुपयुक्त भएको भन्ने कुराहरू आइरहेको बताउँदै मास्केले विग १० वर्षदेखि बधशालामा बालुवामा पानी खन्याए सरी बजेट खर्च भइरहेको आरोप लगाए । महानगरपालिकाका प्रमुख भीम पराजुलीले डिपिआर बन्न केही समय लागे पनि हेफरको प्राविधिक सहयोगमा प्रदेश सरकारको समेत आर्थिक सहयोगमा आधुनिक बधशाला निर्माण गरिने बताए ।


विकृतिजन्य क्रियाकलाप

दशक बितिसक्दा पनि पशु बधशालाले पुर्णता नपाउँदा निर्माण भएको संरचनासमेत भत्कन थालेको छ । हालसम्म बधशालाको जस्ताले छाएको दुईतले संरचना बनेको छ । वरिपरि लगाइएको पर्खाल लगभग भत्कीसकेको छ भने पर्खालका इट्टाहरू हराइसकेका छन् ।


बधशाला यतिबेला लागूऔषध प्रयोगकर्ताहरू भेला हुने स्थान बनेको छ । बधशालामा रातभर लागुऔषध प्रयोगकर्ता बस्ने गरेका छन् भने दिनभर स्थानीयले गाईवस्तु बाँधेर राख्ने गरेका छन् ।


लामो समयदेखि आधामात्रै निर्माण गरेर छाडिदा बधशाला खण्डहर बनेको र रातभर लागुदार्थ सेवनकर्ताहरू आएर होहल्ला गर्ने गरेको स्थानीय मोहम्मद युनिसले गुनासो गरे । ‘यत्तिका वर्ष भइसक्यो काम पुरा भएको छैन् अहिले त खण्डहर जस्तै बनेको छ,’ उनले भने, ‘रातभर गाँजा र लागुपदार्थ खानेहरू आउँछन् हामीलाई असुरक्षाको महसुस हुन्छ ।’

प्रकाशित : श्रावण २४, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?