कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा धितो राख्दा ठगिए ४१ परिवार

विनोद भण्डारी

बेलबारी, मोरङ — आफन्त र छिमेकलाई विश्वास गरेर आफ्नो नामको जमिन निश्चित समयका लागि धितो पास गरेर ऋण लिने प्रवृत्ति बढेसँगै ठगिनेहरू पनि बढेका छन् । यस्तै समस्या मोरङको बेलबारीका ४१ परिवारले भोगिरहेका छन् ।

जग्गा धितो राख्दा ठगिए ४१ परिवार

जग्गा मालपोत कार्यालयमा धितो पास गरेर ऋण लिएका उनीहरूले आफन्त र छिमेकले धोखा दिएकाले बिचल्लीमा परेको भन्दै नगरपालिकाको न्यायिक समिति पुगेका छन् । समिति संयोजक उपमेयर ढाकाकुमारी पराजुलीका अनुसार यस्तो प्रवृत्तिले नगर क्षेत्रका दर्जनौं परिवार सुकुम्बासी बनेका छन् ।


बेलबारी ५ का हीरालाल विश्वकर्माले आफ्नै नाममा रहेको २ कठा १० धुर जग्गासहित घर पथरीकी भेषकुमारी राईका नाममा पास गरिदिएर तीन वर्षमा ब्याजसहित फिर्ता गर्ने सर्तमा ३ लाख रुपैयाँ लिए । विश्वकर्माले २०७२ माघ १० मा धितो राखेर २०७५ माघ १० गते फिर्ता गर्ने सर्त थियो ।


त्यो अवधि पुग्नुभन्दा तीन महिना पहिल्यै ३ लाख रुपैयाँ र ब्याज तयार गरेर राईलाई धितो फिर्ता गर्न बोलाए । राई आइनन् । विश्वकर्माले भने ‘पटक पटक धितो फिर्ता गर्न बोलाउँदा आइनन्, त्यसै समयमा बैंकले आफ्नो घर खाली गर्ने सूचना टाँसेर गएपछि छाँगाबाट खसेझैं भएँ ।’


राईले उनको जग्गा धरानको प्राइम बैंकमा राखेर १३ लाख ८० हजार रुपैयाँ निकालेर ब्याज नतिर्दा बैंकले जमिन र घर लिलाममा उठाएको रहेछ । हीरालालकी छोरी प्रतिमाले भनिन्, ‘घर र जमिन लिलामीबाट जोगाउन बैंकलाई ब्याज र किस्ता तिर्न थालेका छौं ।’ राईले जग्गा बैंकमा राखेर लिएको ऋणको किस्ता वैशाखमा १ लाख १७ हजार र साउनमा १८ हजार तिरेको उनले बताइन् । राई अहिले सम्पर्कमा छैनन् ।


बेलबारीकै सन्तमाया लिम्बूले आफ्नो जमिन र घर तीन महिनामा फिर्ता गर्ने सर्तमा केराबारीका तिलक राईसँग धितो राखेर २ लाख रुपैयाँ ऋण निकालेर बेलबारी २ का आफन्त धनबहादुर लिम्बूलाई ऋण दिइन् । तर धनबहादुरले उक्त रकम फिर्ता नगर्दा उनी समस्यामा छिन् ।


स्थानीय अप्सरा गुरुङले एक कठ्ठा जमिन र घर यति डेभलपमेन्ट बैकमा धितो राखेर ५५ लाख रुपैयाँ ऋण निकालिन् । पथरीका प्रकाश गिरीलाई बैंकको किस्ता तिर्ने सर्तमा २८ लाख रुपैयाँ दिएर बाँकी २७ लाख रुपैयाँ आफैंले चलाइन् । आफूले चलाएको २७ लाख र त्यसको ब्याज उनले बैंकमा जम्मा गरिन् । तर गिरीले चलाएको २८ लााख, ब्याज र किस्ता नतिर्दा अहिले बैंकले घर खाली गर्न पत्र पठाएपछि गुरुङ बिचल्लीमा परेकी छन् ।


यस्तै समस्या परेका ४१ जनाले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । आर्थिक लेनदेनका उजुरी न्यायिक समितिले हेर्न नमिल्ने भए पनि उजुरी दर्ता नगरी व्यावहारिक रूपमा मिलाउने प्रयास भइरहेको समिति संयोजक पराजुलीको भनाइ छ ।


मालपोत कार्यालय बेलबारीमा दैनिक तीन चारवटा व्यक्तिव्यक्तिबीच जग्गाको धितो पास हुने गरेको शाखा अधिकृत गणेश खड्काले बताए । ‘यसरी धितो पास गर्दा पनि किनबेचको लिखत पेस गरेर राजीनामा पास नै गराउँछन्,’ उनले भने, ‘ऋणका लागि धितो राजीनामा पास गराउँदा उल्लेख गरिएको ऋणको एक प्रतिशत सेवा शुल्क तिरे पुग्छ ।’

प्रकाशित : भाद्र १, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?