२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

डम्बरसिं राई

खोटाङ — वराहपोखरी गाउँपालिकामा डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएको छ । उक्त पालिकाको वडा नं १ स्थित ढुसेनी, डाँडाखर्क, रक्तमाला सामुदायिक वनमा लागेको गाउँ पस्दा १२ वटाघर जलेर नष्ट भएको हो ।

खोटाङको वराहपोखरीमा डढेलो गाउँ पस्दा १२ घर जले

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार बुधबार दिउँसो करिब ४ बजेतिर स्थानीय रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले स्थानीय भिरगाउँका सुवास थापा मगरको एकतले एउटा घर, मोहनलाल थापा मगरको एकतले दुई वटा घर र एउटा मतान, मदन थापा मगरको एकतले घर र एउटा मतान, भद्रसिं मगरको एकतले एउटा घर र दुईवटा गोठ, पूर्णबहादुर थापा मगरको एकतले घर र तीन वटा मतान, डान्सिङटारकी गंगामाया मगरको एकतले घर र दुई वटा मतान तथा ४० वटा बाख्रा, आधा तोला सुन र ५० हजार नगद जलेर नष्ट भएको छ ।

डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले स्थानीय होमबहादुर कटवालको दुईतले एउटा घर, पदमबहादुर कटवालको दुईतले एउटा घर जलेर नष्ट भएको छ । त्यस्तै खोर्सानेका सुमन मगरको एकतले एउटा घर, छकुमार राईको एकतले एउटा घर, गहतेका लेखराज खतिवडाको एकतले एउटा घर, भन्ज्याङका बमबहादुर मगरको एक वटा भान्सा घर र एउटा बाख्राको खोर जलेर नष्ट भएको छ । आगजनीमा कति क्षति भयो भन्ने बारे विवरणका लागि चिसापानीस्थित प्रहरी निरीक्षक राजु निरौलाको टोली घटनास्थलमा खटिएको डीएसपी खड्काले बताए ।

विभिन्न सामुदायिक वनहरूमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिरहेको डीएसपी खड्काले बताए । क्षतिबारे विस्तृत विवरण आउँन बाँकी रहेको खड्काले बताए ।

प्रकाशित : वैशाख १३, २०८१ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?