कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिल चलेन, उखु खाडसारीलाई

चिनी मिलभन्दा झन्डै आधा सस्तो मूल्यमा किसानको उखु पाएपछि यस वर्ष जिल्लामा १ दर्जन बढी खाडसारी उद्योगले क्रसिङ सुरु गरेका छन् । 
शंकर आचार्य

पर्सा — चिनी मिल सञ्चालनमा ढिलाइ हुँदा यस वर्ष जिल्लाका खाडसारी उद्योगलाई लाभ भएको छ । चिनी मिलभन्दा झण्डै आधा सस्तो मूल्यमा किसानको उखु पाएपछि यस वर्ष जिल्लामा १ दर्जन बढी खाडसारी उद्योगले क्रसिंग सुरु गरेका छन् ।

मिल चलेन, उखु खाडसारीलाई

जिल्लामा विशेष गरी उत्तर पश्चिमी भेगका यस्ता खाडसारी उद्योग सञ्चालित छन् ।

पर्सा र बाराका किसानको उखु खरिदकर्ता एक मात्र चिनी मिल बाराको मनहर्वास्थित रिलायन्स सुगर मिल हालसम्म सञ्चालन हुन नसकेपछि खाडसारी उद्योगलाई राहत भएको हो । यहाँस्थित सुलोचना राइस मिल तथा गुड उत्पादन मिल आइतबारदेखि सञ्चालनमा आएको हो ।

उद्योगका व्यवस्थापक राम प्रसाद यादवले यस वर्ष समयमै उखु पाएपछि आफूले मिल सञ्चालन गरेको बताए । गत वर्ष उखु नपाउँदा मिल नै सञ्चालन नगरेको उनले अनुभव सुनाए ।

‘गत वर्ष उखु नपाउँदा मैले खाडसारी सञ्चालन नै गरिनँ, अघिल्लो वर्ष खाडसारी चलाएको थिएँ, गत वर्ष किसानले समयमै रिलायन्स सुगर मिल सञ्चालनमा आएपछि चिनी मिललाई नै उखु बेचेका थिए,’ उनले भने, ‘यस वर्ष रिलायन्स सुगर मिल अझै सञ्चालनमा आउन सकेको छैन, किसानले खेतमा उखु सुक्ने चिन्ताले खाडसारी उद्योगहरूलाई उखु दिन थालेका छन् ।’

अघिल्लो वर्ष ५ सय रुपैयाँ प्रतिक्विन्टल उखु खरिद गरेकामा यस वर्ष आफ्नो उद्योगले ३ सय रुपैयाँ प्रतिक्विन्टल उखु खरिद गरिरहेको यादवले बताए । ‘सुरुमा यही मूल्य चलेको छ,’ उनले भने, ‘रिलायन्स

सुगर मिल सञ्चालनमा आएपछि बिस्तारै मूल्य बढ्दै जान्छ होला ।’

सख्खर उत्पादन गरे पनि आफूहरूको सख्खर बिक्रीको ग्यारेन्टी नरहेको यादवले गुनासो गरे । भारतबाट तस्करी भई आउने सख्खरले सीमावर्ती जिल्लाहरूमा बजार लिएपछि आफूहरूलाई प्रतिस्पर्धा गर्न गार्‍हो भएको उनले बताए ।

अघिल्लो वर्ष आफूले प्रतिक्विन्टल ३ हजार ८ सय रुपैयाँमा सख्खर बिक्री गरेकामा यस वर्ष बजारमा भारतीय सख्खर प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँमा उपलब्ध रहेको उनले बताए । ‘अघिल्लो वर्षकै ५ क्विन्टल सख्खर बिक्री नभएर मसंग मौज्दात बसेको छ,’ उनले भने, ‘यस वर्ष पनि सख्खर बिक्री

होला भन्ने कुनै ग्यारेन्टी छैन, हाम्रो बजार भारतीय सख्खरले सखाप पारेको छ ।’ स्वदेशी खाडसारी उद्योगलाई बचाउन भारतीय सख्खरको अवैध आयात अविलम्ब रोक्नुपर्ने उनले बताए ।

यता किसान भने सरकारले चिनी मिल सञ्चालन गराउन नसक्ने र लाचार भएर आफूहरूले खाडसारी उद्योगलाई सस्तो मूल्यमा उखु बेच्ने अवस्था आउनु दु:खद भएको बताउँछन् । किसान हकहित संघर्ष समितिका जिल्ला सचिव पृथ्वी साह कानुले खाडसारी उद्योगलाई उखु बेच्नु किसानको रहर नभई बाध्यता भएको बताउँछन् ।

‘चिनी मिल सञ्चालनमा आउन सकेको छैन, घाम चर्किंदै गएको छ, किसानलाई उखु सुक्छ भन्ने चिन्ताले पिरोल्दै लगेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा नगदे बाली भनिएको उखुबाली किसानले कौडीको मूल्यमा बेच्नुपर्ने बाध्यता छ, सस्तोमा खाडसारीलाई उखु बेच्दा खेतीको लागत पनि उठन सक्दैन ।’

प्रकाशित : पुस १९, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?