कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेला चलाएर ५ छोरा स्कुल

शंकर आचार्य

पर्सा — ३५ वर्षीय नारायण बढई हस्ताक्षर गर्नुपरे पनि दाहिने हातको बुढी औंला अघि सार्छन् । उनी पेसाले ठेला चालक हुन् । दैनिक ४/५ सय रुपैयाँ कमाएर परिवार पाल्छन् । 

ठेला चलाएर ५ छोरा स्कुल

उनकी पत्नी ३० वर्षीया विमला पनि निरक्षर छन् । विमलाको हातमा सीप छ । उनी प्लास्टिकका फुल बनाएर बेच्छिन् । वीरगन्ज २३ प्रसौनीका बासिन्दा यी दम्पतिले आफ्ना ५ छोरालाई अंग्रेजी माध्यमको स्कुलमा पढाइरहेका छन् ।


यो उदाहरणीय दम्पतिको पुख्र्यौली पेसा कठपुतलीको नाच देखाएर जीविका चलाउनु हो । अरूलाई खुशी पारेर पाउने बक्सिसले जीविका चलाउनुपर्ने भएकाले नारायणलाई पुख्र्यौली पेसाप्रति रुचि भएन ।

आफ्ना अभिभावकले आफूलाई स्कुल नपठाएर निरक्षर बनाएको पीडाले उनलाई पिरोलिरहन्थ्यो ।


तर, उनले त्यो गल्ती गरेनन् । उनका ६ देखि १६ वर्ष उमेरका ५ छोराहरू अहिले गाउँकै माउन्ट एडमन्ड इंग्लिस स्कुलमा पढ्छन् । उनकै छिमेकका स्वजातीयहरूका छोराछोरी सरकारी स्कुलमा समेत पढ्न जाँदैनन् । दैनिक कडा मिहिनेत गरेर वीरगन्जमा उनी ठेला चलाउँछन् । छोराहरूको जीवन शिक्षाको ज्योतिले उज्यालो होस् भनेर उनी ठेलामा दैनिक आफ्नो ताकत झोक्छन् ।


‘अहिले मैले चुहाएको पसिनाको फल भविष्यमा मेरा सन्तानहरूले कलम चलाएर कमाएको सानै रकमले पक्कै पनि दिनेछ,’ नारायण भन्छन्, ‘उनीहरू आमाबुवा जस्तै औंठाछाप नहुन्, उनीहरूले हामी जस्तो गर्मी, जाडो, वर्षा केही नभनेर कडा मिहिनेत गर्नु नपरोस् भनेर हामी दम्पतिले यो प्रण गरेका हौं, ईश्वरको कृपाले सबै ठिक चलिरहेको छ ।’


यो दम्पतिको जेठा छोरा १६ वर्षीय चन्दन कक्षा ६ मा पढछन् । माहिला १५ वर्षीय निरन्जन र साहिला १३ वर्षीय शिरन्जन कक्षा ५ मा, काइला ७ वर्षीय कुन्दन कक्षा १ मा र कान्छा ६ वर्षीय नीरज नर्सरीमा पढदै छन् । सबैको पढाइ राम्रो भएकाले आफूहरू सन्तुष्ट रहेको विमलाले बताइन् ।


५ छोराहरूको पढाइको शुल्क मात्रै यस वर्ष ५८ हजार रुपैयाँ तिरिसकेको नारायणले बताए । यसबाहेक पोसाक र कापी किताब, पेन्सिलमा लाग्ने खर्च बेग्लै छ । तैपनि उनले हिम्मत हारेका छैनन् । ‘मेरो शरीरमा जहिलेसम्म तागत रहन्छ, त्यतिन्जेलसम्म म यी सन्तानलाई पढाउन सक्छु भन्ने आँट छ,’ उनले भने, ‘अहिलेसम्म खान लाउन र सन्तान पढाउन पुगेको छ, गरे जे पनि सम्भव रहेछ ।’


विमलाले छोराहरू डाक्टर इन्जिनियर बनुन् भनेर कुनै ठूलो सपना र रहर नबोकेको बताइन् । ‘हाम्रा सन्तान शिक्षित हुन् र असल नागरिक बनुन् भन्ने मात्र मेरो चाहना हो,’ उनले भनिन्, ‘पढेलेखेपछि कुनै न कुनै काम पाइहाल्छन्, भोली हामीलाई हेरून्/नहेरून् त्यो पनि चिन्ता छैन, उनीहरूको जीवन बन्छ भने हाम्रो मिहिनेत र लगानी निस्कन्छ ।’


सन्तानको पढाइका लागि यो दम्पतिले दैनिक कमाएको पैसाबाट केही रकम बचत गर्छन् । मिहिनेतले एउटा पक्की घर पनि बनाएका छन् । यसबाहेक ११ धुर अर्को घडेरी पनि जोडेका छन् ।

प्रकाशित : पुस २०, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?