पर्यटकीय र व्यापारिक नाका तानातान
ठोरी, पर्सा — नेपाल–भारतबीचको व्यापारिक नाकाको सम्भावना बोकेको रमणीय र पर्यटकीय स्थल ठोरीमा कपुरबोट मिडिया प्रालिले प्रथम ठोरी महोत्सव आयोजना गरेको छ ।
ठोरीको पहिचान र समृद्धि बढाउने भन्दै राईधारा चौरमा आयोजित १० दिने महोत्सवको शुक्रबार
उद्घाटन थियो ।
संघीय पशुपक्षी मन्त्री रामकुमार चौधरीले उद्घाटन गरेको महोत्सव स्थलमा आयोजित सभामा पर्साका नेकपाका नेता प्रभु हजराले ठोरी पर्यटकीय र व्यापारिक नाका भएकोले प्रदेश २ बाट छुटिनुहुन्न भन्ने अभिव्यक्ति दिए ।
हुलाकी मार्ग र सीमा विकास कार्यक्रमले ठोरीको क्रमिक विकास सुरु भएकाले यसको विकल्प नसोच्न उनको आशय थियो । तर यी अभिव्यक्ति दिए लगत्तै स्थानीयले अभिव्यक्तिको प्रतिवाद गर्दै हुटिङ गरे, नाराबाजी गरे । अभिव्यक्ति फिर्ताको माग गर्दै बबाल मच्चियो । पछि सामसुम भयो ।
तेस्रो मधेस आन्दोलनअगावै राज्य पुन:संरचना आयोगले ठोरीलाई प्रदेश ३ मा मिसाउने प्रयास गरेको चर्चा बाहिर आएको थियो । स्थानीयले त्यसताका खुसी भएर दीपावली गरेका थिए । तर त्यसको विरुद्धमा वीरगन्जमा आन्दोलन भयो ।
सबै दलका नेता ठोरी पर्साबाट छुटिनुहुन्न भन्नेमा एक मत हुँदै आन्दोलन चर्काए । फलस्वरूप ठोरीलाई प्रदेश ३ मा मिसाउने प्रयासबाट आयोग पछि हट्यो । त्यसपछि यो विषय समासुम भएको थियो । २० हजार जनसंख्या रहेको ठोरी गाउँपालिकाका तीन चौथाई बासिन्दाले प्रदेश ३ मै ठोरी हुनुपर्ने आवाज उठाउँदै आएका छन् । साबिक ठोरी, निर्मलबस्ती र सुवर्णपुर मिसाएर अहिले ठोरी गाउँपालिका छ ।
पालिकाको केन्द्र साबिक सुवर्णपुरमा छ । केन्द्रको विषयमा ठोरीवासी विभाजित छन् । वडा १ देखि ४ सम्मका अधिकांश ठोरीवासी, जो पहाडी समुदायका छन् उनीहरू प्रदेश ३ मा जाने पक्षमा देखिन्छन् । र, दक्षिणतर्फका जो मधेसी बाहुल्य साबिकको सुवर्णपुरका बासिन्दा (वडा–५) छन्, तिनीहरूमा प्रदेश २ मै रहने सोच छ । त्यसैले त्यहाँ पालिकाको केन्द्र राख्ने विषयमा समेत दुई खेमामा विभाजित छन् ।
५ वटा वडा रहेको ठोरी पालिकाको बहुमत सदस्यले घ्याङ डाँडा विजयबस्तीमा केन्द्र सानुपर्ने निर्णय गरिसकेको छ । तर कार्यान्वयनमा आएको छैन । विवादले गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ पालिकामा बस्न त्यति रुचाउँदैनन् ।
‘विवादले वीरगन्ज बसेर फोनमा समन्वय गरी काम गर्नु हुन्छ, कहिलेकाहीँ पालिकामा आउनुहुन्छ,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन लामाले भने, ‘पालिकाको साइन बोर्डमा ‘ठोरी’ लेखिएकोमा त्यसलाई मेटिदिएका छन् ।’
वडा नम्बर २ का वडाध्यक्ष किशोर लामाका अनुसार पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ठोरी पर्यटकीय र व्यापारिक नाकाले आकर्षणको केन्द्र छ, त्यसैले यो ठाउँ तानातान छ । ‘उत्तर ठोरीवासीले प्रदेश ३ मा जाने इच्छाएका छन्,’ उनले भने ।
उनका अनुसार प्रकृतिले यस ठाउँलाई पहाडी, भित्री मधेस र तराईको भूभाग गरी तीनथरिले चिनाएको छ, त्यसैले यो ठाउँमा अकर्षण बढेको छ । यस क्षेत्रको बासिन्दाको मुख्य आय स्रोत कृषि हो ।
भरिभराउ ठोरी
अंग्रेजीको नयाँ वर्ष २०१९ सँगै सातादेखि यहाँ जारी महोत्सवले जंगल, खोला र डाँडाको बीचमा पर्ने ठोरी यतिखेर भराउभराउ छ । स्वेदेशी, स्थानीय र भारतीय पर्यटकले चहलपहल छ ।
पर्साको सदरमुकाम तथा ठूला सहर वीरगन्ज भन्दा ७० किमि उत्तर–पश्चिम भागमा पर्ने ठोरीमा तामाङ र थारू जातिको बाहुल्य छ । यहाँ २०२१ सालदेखि बसोबास छ । २०३४ अघि यो ठाउँ चितवनमा थियो । पछि पर्सामा आयो ।
पारि भारतको घना जंगलसँगै भिखना ठोरी र जमुनिया गाउँ छ । त्यस जंगललाई वाल्मीकि ब्याघ्र परियोजनाअन्तर्गत भारतले बाघ संरक्षित (टाइगर रिजर्भ) क्षेत्र बनाएको छ । पहेंलो, सेतो र रातो पहाड ठोरीको विशेषता हो । यहाँ छोटी भन्सारसमेत छ । त्यहाँ दुवै देशको सशस्त्र सीमा सुरक्षा बल तैनाथ छ । दशगजासँगै जोडिएको ठुटे खोला छेउमा आकर्षक ठोरी बजार छ ।
ठुटे खोलामा सय मिटर लामो पक्की पुल बनेको २ वर्ष भए पनि सिमाना विवादले प्रयोगमा छैन । पूर्व–पश्चिम हुलाकी मार्गमा पर्ने उक्त पुललाई भारतीयले समेत आफ्नो सिमानाभित्र पर्ने भन्दै विवाद झिक्दै आएका छन् ।
त्यहाँ पटकपटक भारतीय र नेपालीबीच सीमाना विवादले उग्र रूप लिने गरेको छ । प्रदेश २ अन्तर्गतको यो ठोरीलाई उत्तरमा चितवन (प्रदेश ३) र दक्षिण–पूर्वमा पर्सा राष्ट्रिय निकुञ्जले छोएको छ । ठोरीबाट नारायणघाट ७२ किमि उत्तर पर्छ ।
पश्चिममा प्रदेश ४ को पूर्वी नवलपरासीको त्रिवेणीधाम छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संगम स्थलसँगै भारत–नेपालको व्यापारिक नाकाको लागि यो ठाउँ सम्भावनायुक्त छ ।
‘सरकारले केरुङ–ठोरी जोड्ने कहिलेकाहीं चर्चामा ल्याउँछ । त्यसैले भारत–नेपाल र चीनका लागि यो ठोरी महत्त्वपूर्ण भएकाले तानातान छ,’ स्थानीय पत्रकार प्रेम लामाले भने, ‘त्यहाँबाट भारतको नरकटियागन्ज २९ किमि पर्छ ।
पारि भिखना ठोरी भारतीय गाउँ छ ।’ व्यापारिक नाका र पर्यटकीय स्थलको प्रचुर सम्भावना रहेकाले यो क्षेत्रलाई प्रदेश २ र प्रदेश ३ ले आ–आफ्नैतिर तान्ने योजनामा रहेको उनले बताए । ठोरी–४ विजयबस्तीका ६१ वर्षीय समाजसेवी अमर निर्दोषका अनुसार यो ठाउँ राणाकालीन अवस्थामा व्यापारिक नाका थियो, अहिले पनि त्यो सम्भावना छ, त्यसैले ठोरीमाथि हानथाप छ ।
ठोरी आसपासको क्षेत्रमा दशगजा देखिँदैन । दशगजामै कतै खेतीपाती, सडक छ भने कतै खोला र
कतै गाउँबस्ती भएकाले त्यो देखिँदैन । ठोरी क्षेत्र सीता गुफा, राईधारा, रानी वन, हाइट हिल, अमृत धारा, वनशक्ति मन्दिरले पनि रमणीय छ ।
प्रकाशित : पुस २०, २०७५ ०९:१९