कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाक्लिए जनकपुरका सडक

३० मिटर चौडाइको सडक दायाँ–बायाँ दुई हजारभन्दा बढी घरटहरा भत्किएका  छन् । ती घर–टहराको पुनर्निर्माण सर्वसाधारणले आफ्नै खर्चमा गर्दै छन् ।
शाहीमान राई

जनकपुर — जताततै फोहर मैला, दिसापिसाब, धुलो, धुवाँले प्रदूषित प्रसिद्ध धार्मिक जनकपुरधाम सहरको मुहार बदलिन थालेको छ । यहाँका सडक फराकिलो, ग्राभेल र कालोपत्रे गरिएको छ । ह्युमपाइप ड्रेन निर्माण गरी ढल निकासको व्यवस्था गरिएको छ ।

चाक्लिए जनकपुरका सडक

सडक पेटीमा पैदल यात्राका लागि आकर्षक फुटपाथ निर्माण र टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत लाइन जमिनमुनि गाडेर सुरक्षित व्यवस्थापन गरिएको छ ।


जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजना अन्तर्गत सफा, सुन्दर, आकर्षक, रमणीय, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर बनाउने लक्ष्यका साथ सुरु गरिएको जनकपुर पुनर्निर्माण अभियान अन्तिम चरणमा पुगेको छ ।


परियोजना अन्तर्गत निर्माणधिन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत् लाइन मर्मतसम्भार कार्य ९० प्रतिशतभन्दा बढी निर्माण पूरा भएकाले प्रसिद्ध धार्मिक नगरी जनकपुरधामको मुहार बललिन थालेको हो । फोहर मैला, प्रदूषण, धुलो, धुवाँ र अव्यवस्थित सहरको कुरुपताले देश विदेशबाट जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक, दर्शनार्थी, तीर्थालु भक्तजनको नजरमा नकारात्मक प्रभाव पर्ने गरेकोमा जनकपुर पुनर्निर्माण परियोजना पूरा हुन लागेपछि सहरको स्वरुप बदलिन थालेको छ ।


एसियाली विकास बैंकको १ अर्ब ९० करोड (१९ दशमलव ४४ मिलियन डलर) आर्थिक सहयोगमा निर्माणाधीन जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजना अन्तिम चरणमा पुगेको छ । तर जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारका क्रममा उत्पन्न अवरोध र विवाद समयमा समाधान गर्न ढिलाई भएपछि ठेकेदार जेडआईपीसी रमन कन्स्ट्रक्सन कम्पनीले अन्तिम चरणको निर्माण पूरा गर्न नसकेको जनाएको छ ।


जनकपुर उपमहानगरपालिका, एसियाली विकास बैंक र ठेकेदार जेडआईपीसी रमन कन्स्ट्रक्सन कम्पनीबीच ५ डिसेम्बर २०१८ सम्म परियोजना पूरा गर्ने सम्झौता थियो । जग्गा विवाद, मुआब्जा, घर भत्काउने र पुनर्निर्माणको विषयमा लामो समय स्थानीयबासीको अवरोध हटाउँदै काम गर्नु परेकाले ठेक्का सम्झौताको म्याद गुज्रिएको हो ।


कम्पनीले निर्माण पूरा गर्न थप तीन महिनाको म्याद थप्न माग गरेको छ । ‘करिब दस प्रतिशत काम गर्न बाँकी छ, ३ महिनामा पूरा गछौं,’ ठेकेदार कम्पनीका प्रमुख इन्जिनियर अवधकिसोर साहले भने, ‘निर्माण जारी नै छ, म्याद थपेको जानकारी आउन मात्र बाँकी छ ।’ उपमहानगरपालिकाकै कमजोरीका कारण काम पूरा नभएकाले तीन महिनाका लागि म्याद थप गर्न सिफारिस गरिसकेको जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रले बताइन् ।


एसियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना अन्तर्गत ३१ किलोमिटर ह्युमपाइप विस्तार ड्रेन निर्माण, ढल निकास, ३० मिटर चौडाइको ९ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । विवादको कारण शिवचोकदेखि कदमचोकसम्म १ सय ३४ मिटर, मुरलीचोकमा सय मिटर, रेलवेस्टेसनमा सय मिटर, बन्सिचोकमा सय मिटर, जानकीमन्दिरदेखि रामानन्द चोकसम्म १५ सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको जनकपुर उपमहानगरपालिकाको योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।


सफा, सुन्दर र रमणीय सहर बनाउने उद्देश्यले जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजनाअन्तर्गत उपमहानगरको परिक्रमाभित्र पिडारीचोकदेखि थापाचोक, बन्सिचोक, मिल्सएरिया रेलवेस्टेसन, भानुचोक, कदमचोक, मुरलीचोक हुँदै जिरोमाइलसम्म, एयरपोर्टदेखि मुरलीचोक, तिरहुतियागाछी, रामचोक जनकचोक, शिवचोक हुँदै भानुचोकसम्म, रेलवेस्टेसनदेखि जलाध खोलासम्म सडक विस्तार, ग्राभेल, कालोपत्रे, सरसफाइ, ढल निकासका लागि हुमपाइप जडान ड्रेन निर्माण, फुटपाथ, टेलिफोन, खानेपानी र विद्युत् लाइन मर्मतसम्भार गरिएको छ ।


सडक पेटी दायाँ–बायाँ पैदलयात्रीका लागि निर्माण गर्नुपर्ने ३८ हजार वर्गमिटरमध्ये १९ हजार वर्गमिटर फुटपाथ निर्माण पूरा भइसकेको ठेकेदार कम्पनीका इन्जिनियर अवधकिशोर साहले बताए । सडक कालोपत्रे र फुटपाथ निर्माण गरिएको क्षेत्रमा फोहर मैला र दुर्गन्धित जनकपुरको स्वरुप फेरिंदै गएको अनुभूति भइरहेको जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकका व्यापारी दिपेन्द्र श्रेष्ठले बताए ।


परियोजना निर्माणका लागि ठेकेदार जेडआईपीसी रमन कन्स्ट्रक्सन कम्पनी संयुक्तसित १ अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता छ । त्यसमध्ये करिब ९२ करोड रुपैयाँ भुक्तानी पाइसकेको कम्पनीका इन्जिनियर अवधकिसोर साहले बताए । सन २०१६ मा सुरु परियोजनाअन्तर्गत सडक विस्तार भए पनि जनकपुर उपमहानगर क्षेत्रको फोहोर मैला व्यावस्थापनको निम्ति सेनिटरी ल्यान्डफिल्डसाइडको जग्गा व्यावस्थापनको निम्ति गुठी संस्थानसित सम्झौता गरी भाडामा लिएको जग्गामा स्थानीयवासीको अवरोध र विवाद भएपछि जग्गा व्यावस्थापन गर्न नसक्दा विनियोजित ४० करोड रुपैयाँ खर्च हुन सकेको छैन ।


विद्युत् पोल तार विस्तार मर्मतसम्भार १ करोड ४७ लाख, ५ प्रतिशत कन्टिन्जेन्सी, कन्सल्टेन्ट, कार्यालय व्यवस्थापन र कर्मचारी तलबमा खर्च भएको आयोजनाले जनाएको छ । उपमहानगर क्षेत्रमा शहरी विकास तथा भवन निर्माण विभागले समेत ८३ करोड रुपैयाँ लगानीमा सडक विस्तार, ग्राभेल, कालोपत्रे, ड्रेन, ढल, नाला, कल्भर्ट निर्माण गरेको छ ।


रामचोकदेखि तिरहुतियागाछी, महावीर चोक, जानकीमन्दिर, जनकचोक क्षेत्रमा निर्माणाधीन २१ किलोमिटर सडक विस्तार, ग्राभेल, कालोपत्रे र ह्यूमपाइप विस्तार ड्रेन निर्माण गर्नुपर्नेमध्ये २ किलोमिटर सडक कालोपत्रे र २१ किलोमिटर ड्रेन निर्माण गरिसकेको छ । सडक विस्तार र ड्रेन निर्माणको लागि ३० मिटर चौडाइको सडक दायाँ–बायाँ दुई हजारभन्दा बढी घरटहरा भत्काएर पुनर्निर्माण भइरहेका छन् । भत्काइएका निजी घर सर्वसाधारण आफ्नै लगानीमा पुन:निर्माण गर्दै छन् ।


सडक विस्तार क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्वसाधारणले गुनासो गर्दै आएका छन् । उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ तीस मिटर, सहायक सडक २० मिटर, पूराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ ।


जनकपुर उपमहानगरपालिकालाई अव्यवस्थित सहरीकरण गरी स्वच्छ, सफा, सुन्दर, आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्ने लक्ष्य पूरा हुने जनकपुर उपमहानगरपलिकाका उपप्रमुख रीताकुमारी मिश्रले बताइन् ।

प्रकाशित : पुस २१, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?