कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरक्षण अनिवार्य गर्न युवा जुटे

पवन यादव

सिमरा — कानुनले सार्वजनिक सवारी साधनमा वृद्धवृद्धा, महिला, अपांग लगायतलाई आरक्षणको व्यवस्था गरे पनि काठमाडौं बाहिरका सवारी साधनमा आरक्षणको व्यवस्था नरहेको सरोकारवालाले गुनासो गरेका छन् । 

आरक्षण सिटको राख्दै नराखी यहाँका सवारी साधन गुडिरहेका थिए । कलैया, वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, गौरलगायतका स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा आरक्षण सिटको व्यवस्था भएको पाइँदैन । कानुनले दिएको आरक्षण सिटको सुविधा उपलब्ध गराउन कलैयाका युवा जमात सक्रिय भएका छन् ।


कलैया–वीरगन्ज तथा सदरमुकाम कलैयाबाट जिल्लाको ग्रामीण भेकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा आरक्षण सिट लागू तथा कार्यान्वयन गराउन आफूहरू पहल थालेको कलैया भवानीपुरका नेकपाका युवा नेता मुकेश साहले बताए ।


‘राजधानीमा गुडेका सार्वजनिक सवारीमा अनिवार्य आरक्षण सिटको व्यवस्था गरेको देखिन्छ,’ उनले भने, ‘हामीकहाँ गुड्ने सवारीमा आरक्षण सिटको व्यवस्थै थिएन ।’ राजधानी र सहरको तुलना गर्दा खिन्नता बोध हुन्थ्यो । त्यसैले सहरका लागि हामी आफैं तात्नुपर्छ भन्दै यसको कार्यान्वयनका लागि दौडधुप सुरु गरिएको उनले बताए ।


आरक्षण सिटको व्यवस्था गराउन प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई ज्ञापनपत्र बुझाएका थियौं । हाम्रो मागप्रति प्रमुख जिल्ला अधिकारी पनि सहमत देखिए । ज्ञापनपत्र पाउना साथ प्रजिअले ट्राफिक प्रहरी पोस्ट कलैयालाई निर्देशन सहित सार्वजनिक छलफल डाक्न सुझाव दिएका थिए ।


त्यसपछि कलैयामा आयोजित सर्वपक्षीय छलफलमा सार्वजनिक सवारी साधनमा आरक्षण सिट लागू गराउन सहमतिसमेत भएको उनले जानकारी दिए । छलफलमा भएको सहमतिअनुसार शुक्रबारदेखि सबै सवारी साधनमा कानुनअनुसार आरक्ष्ण सिट लेख्न थालिएको उनले जानकारी दिए ।


अपाङ्ग, ज्येष्ठ नागरिक, महिलाका लागि आरक्षण सिट दिने गरी यातायात व्यवसायीलाई अनुरोध गरिएको अभियानमा सामेल अर्का युवा सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष लुकेश सिंहले बताए । ‘हामी यसप्रति पहिलादेखि नै चिन्तित थियौं,’ उनले भने, ‘तर आरक्षण सिटलाई कार्यान्वयन गराउन चासो देखाउन सकेका थिएनौं ।’ कसैले यसप्रति ध्यान नदिएपछि आफूहरू सक्रिय भएको उनले जानकारी दिए ।


स्थानीय युवाहरूको सहयोगमा यहाँका सार्वजनिक सवारी साधनमा आरक्षण सिट अनिवार्य लागू गराउन सफलता प्राप्त गर्न सकिएको ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख सई दिपेन्द्र साहले बताए ।


उनका अनुसार सार्वजनिक बसमा ज्येष्ठ नागरिकको लागी २, अपाङ्गका लागि २ र महिलाका लागि २ वटा आरक्षण सिटको व्यवस्था गरिएको छ । त्यस्तै म्याजिकमा ज्येष्ठ नागरिक १, अपाङ्ग १ र महिला १ जनाका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । सिटीराइट बसमा ज्येष्ठ नागरिक, अपाङ्ग र महिलाका लागि १/१ वटा आरक्षण सिटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?