कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्सवमा गैरथारूको सहभागिता बढ्दो

शंकर आचार्य

पर्सा — अर्घाखाँची घर भई वीरगन्जस्थित एक संस्थामा कार्यरत प्रकाश पाण्डे मंगलबार वीरगन्जमा पहिलो पटक माघी महोत्सवमा सरिक भए । 

यहाँका थारू समुदायले आयोजना गरेको माघी महोत्सवमा आउँदा उनले थारू पर्वबारे मात्र नभई थारू संस्कृति, रहन सहन, चालचलनबारे पनि जानकारी पाएको बताए । ‘माघी महोत्सवबारे धेरै सुनेको थिए, पहिलो पटक सहभागी पनि हुन पाएँ,’ उनले भने, ‘यसरी अरू जाति र समुदायको पर्वमा पनि सरिक हुँदा धेरै नयाँ कुरा पनि थाहा पाइन्छ ।’


महोत्सवमै भेटिएका भन्सार एजेण्ट उमेश शर्माले पनि माघी महोत्सवमा आउँदा अत्यन्त रमाइलो लागेको अनुभव सुनाए ।


‘महोत्सवमा घाटो, सामाचकवा, थारू पूर्वी नाच, झम्टा आदि थारू नृत्य हेर्न पाइयो,’ उनले भने, ‘घोङ्गी, केखरा, माछा, हाँस, परेवा, चिचर, लाई, तिल, केसर आदि थारू विशेष खाना परिकारको स्वाद लिन पाइयो ।’ पाण्डे र शर्मा जस्ता थुप्रै गैरथारूहरू पनि महोत्सवमा भेटिएका थिए । सबैले एक अर्काको चाड पर्वमा शुभकामना दिन र थारू संस्कृति, खाना, चलन आदि बारे जानकारी लिन आफूहरू महोत्सवमा आएको बताए । महोत्सवमा परम्परागत थारू परिकारदेखि थारू नृत्य, कला संस्कृति, परम्परा आदि झल्काउने प्रयास पनि गरिएको थियो ।


केही वर्षयता जिल्लास्थित विभिन्न थारू संघसंस्थाले सामूहिक रूपमा माघी पर्वलाई मनाउने र यस अवसरमा महोत्सव नै आयोजना गरेर थारू भाषा, कला, संस्कृति र परम्पराको जगेर्नाको प्रयाससमेत गर्दै आएका छन् ।


यसअघि यहाँस्थित घण्टाघरबाट निकालिएको झाँकी नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । थारू वेशभूषामा सजिएका बालबालिका तथा महिलाको झाँकीमा बढी उपस्थिति देखिन्थ्यो ।


महोत्सवस्थलमै आयोजित रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदानसमेत गरेको महोत्सव आयोजक समितिका प्रकाश थारूले बताए ।

प्रकाशित : माघ २, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?