कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्प देखाएर जीविका

‘सपना त म पनि देख्छु, फुसकै छानो भए पनि मेरो आफ्नै घर होस्, जसमा मेरा बालबच्चा कम्तीमा रातभरि निश्चिन्त सुतुन्, तर हामीजस्ता निमुखाको सपना दबेरै जान्छ’
शंकर आचार्य

पर्सा — वीरगन्ज २३ स्थित एक निजी आँप बगैंचामा उनको घर छ । तर अन्यको घर जस्तो उनको घर छैन । तम्बु (टेन्ट) उनको घर हो । जहाँ उनी सपरिवार भुइंँमा पराल ओछ्याएर पराल र कपडाको गुद्रीको सिरक ओढेर सुत्छन् । राति तम्बु छेउ कराउन आउने स्याललाई धपाउन पटकपटक नाजिरले ब्युझिनुपर्छ । 

सर्प देखाएर जीविका

जीवननै यस्तै तम्बुमा बिताएका मेराज आफ्नी पत्नीसहित ४ वर्षअघि बाराको त्रिवेणीबाट बसाइँ सरेर आएका हुन् । हिउँद मात्र होइन, प्रचण्ड गर्मी र झरीमा उनको परिवारले तम्बुमै आश्रय लिएको हुन्छ । ‘मेरा लागि तम्बु नै संसार हो, बाल्यकालदेखि नै तम्बुमै सुत्दै आएको छु,’ नाजिर भन्छन्, ‘सपना त म पनि देख्छु, फुसकै छानो भए पनि मेरो आफ्नै घर होस्, जसमा मेरा बालबच्चा कम्तीमा रातभरि निश्चिन्त सुतुन् तर हामीजस्ता निमुखाको सपना दबेरै जान्छ ।’


मेराजका छिमेकी श्याम नट उनकै बाल सखा हुन् । दुबै पुख्र्यौली गाउँ बाराको त्रिवेणीबाटै बसाइँ सरेर आएका हुन् । अभिभावकले विवाह गरी दिएपछि रोजगारीको नयाँ गन्तव्य खोज्दै ४ वर्षअघि आआफ्नो नयाँ संसार बसाउन हिँडेका हुन् उनीहरू । पुख्र्यौली तम्बुमा पत्नीसहित अट्न नमिल्ने भएकाले दुबैले एक पटक पुख्र्यौली गाउँ पनि छोडेका हुन् । त्रिवेणीमा पनि नटहरूको बाक्लै बसोबास छ तर उनीहरू पनि पुस्तौंदेखि तम्बुकै जीवन बाँच्दै छन् ।


श्यामको कथाव्यथा पनि मेराजभन्दा रत्तिभर भिन्न छैन । उनी पत्नी र एक छोरीसहित तम्बुकै जीवन जिउँदै छन् । उनको दिन पनि विषालु सर्पसँगै बित्छ । ४ महिनाअघि गाउँकै एक घरमा देखा परेको विषालु गोमन सर्प उनले समाएर ल्याएका थिए । त्यही सर्पसँग उनको दोस्ती छ अचेल । पक्रेर ल्याएपछि सुरुमा सर्पको दाँत र विष झिकेर फालेको उनले बताए ।


‘यसरी सर्पलाई विषरहित नबनाए उसले हामीलाई नै डसेर मार्ने डर हुन्छ,’ श्यामले भने, ‘दिनरात सर्पसँग बस्नु छ, जोखिम मोल्नु भएन, एक डेढ वर्ष मानिससँगै बसे जुनसुकै सर्प निष्क्रिय हँुदै जान्छ, अनि उसलाई फेरि हामी जीवित रूपमै छोडिदिन्छौं, बिस्तारै प्रकृतिमा ढलेर फेरि विषालु हुन्छ, हामी सर्प मार्दैनौं ।’ हालसम्म उनले झन्डै एक दर्जन सर्पसँग यसरी दोस्ती गरिसकेको बताए । आफूहरूको पुख्र्यौली पेसा भएकाले सर्पसँग खेल्न डर नलाग्ने भए पनि वैकल्पिक पेसा नभएकाले सर्प खेलाउनु आफ्नो बाध्यता भएको उनले बताए ।


नाजिर र श्याम पुस्तौंदेखि नेपालको सरहदमा बसे पनि दुबैसँग नेपाली हुनुको कुनै पहिचान छैन । न नागरिकता न मतदाता परिचयपत्र । उनीहरूका बुबाआमासँग पनि नेपाली नागरिकता छैन । पुस्तौंदेखि अनागरिक विरासत बोकेर आइरहेका छन् उनीहरू । आफूले जटिल पेसा अपनाए पनि आफ्ना सन्तान शिक्षित बनुन् र कलम चलाएर सुखी जीवन बिताऊन् भन्ने दुबैको चाहना पनि छ । ‘हाम्रो जीवन त यसरी नै बित्ने भो तर सन्तानको हामीभन्दा राम्रो होस् भन्ने चाहना छ,’ श्यामले भने, ‘आफ्ना सन्तान पढुन् र बढुन् भन्ने हाम्रो चाहना छ ।’


सामाजिक अभियन्ता प्रकाश थारू तराईका अधिकांश जिल्लामा रहेका नट/सपेरा जातिको जीवन यस्तै कष्टकर रहेको बताउँछन् । नट जातिमध्ये केहीले ढुंगा कुँदेर सिलौटो बनाएर बेच्ने, केहीले जडीबुटी बेच्ने र केही सपेरा तथा चटकीको पेसा अपनाएर जीविका चलाउने गरेको उनले बताए । प्राय: सबै नट नम्बरी जग्गा र नागरिकता अभावमा फिरन्ताको जीवन बिताउने गरेको उनले बताए । प्राय: सबै निरक्षर हुन्छन् । कसैको नम्बरी वा ऐलानी जग्गामा नि:शुल्क बस्ने गरेका उनीहरूलाई हटाउन खोजे त्यहाँबाट अन्यत्र बास बस्न पुग्छन् ।


‘नट जाति कहिल्यै राज्यको नजरमा परेनन्,’ थारू भन्छन्, ‘दलित र पिछडा वर्ग भनेर धेरै टाठाबाठाले फाइदा उठाए, तर यी जाति ती वर्गमा पनि अटाएका छैनन्, आफ्नो अधिकार माग्ने ल्याकत अझै पनि यिनको भइसकेको छैन ।’ केन्द्र र प्रदेश दुबै सरकारले यस्ता अति विपन्न र सीमान्तकृत वर्गलाई लक्षित गरी उनीहरूको उत्थानका लागि विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : माघ ४, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?