कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम गाउँ र नगरसभा

गाउँपालिकाले विकास पूर्वाधार निर्माणका लागि ग्रेडर, रोलर र सेफ्टी ट्यांकी खरिदमा बजेट विनियोजन
भरत जर्घामगर

सिरहा — यहाँका ७ नगरपालिका र ९ गाउँपालिकामध्ये धनगढीमाई नगरपालिका र नवराजपुर गाउँपालिकाले नगर र गाउँ सभा गरी बजेट सार्वजनिक गरिसकेका छन् । अन्य स्थानीय तहले पनि सभाको तयारी गरेका छन् । 

धनगढीमाई नगरपालिकाको चालु आर्थिक वर्षको बजेट ६२ करोड ९ लाख ५१ हजार ५ सय ३४ रुपैयाँ छ । नगरपालिकाको तेस्रो नगरसभाको सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख हरिनारायण चौधरीले उक्त बजेट सार्वजनिक गरे ।


असारमा सम्पन्न नगरपालिकाको दोस्रो नगरसभाले ५९ करोड ९९ लाख ७२ हजार रूपैयाँ विनियोजन गरेकोमा नेपाल सरकारबाट थप शीर्षकहरूमा सशर्त अनुदान प्राप्त भएपछि धनगढीमाईको बजेटको आकार बढेको हो । चालु आवको पछिल्लो ६ महिनाको अवधिमा विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ९ करोड १८ लाख ५३ हजार ३ सय १६ रुपैयाँ तथा पुँजीगततर्फ ४ करोड ५८ लाख ८५ हजार ५ सय ५ गरी १३ करोड ५४ लाख ४१ हजार ८ सय २२ खर्च गरिसकेको छ ।


तेस्रो नगरसभाले नगरपालिकाको विनियोजन ऐन २०७५ लाई संशोधन गर्नुका साथै धनगढीमाई नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गरेको छ । नगरपालिकाले प्रदेश नम्बर २ का स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को अनुसूची १ मा उल्लेखित वडा सदस्यहरूको मासिक सुविधालाई न्यूनतम रूपमा १५ हजार बनाउन र दफा ४ मा भएको बैठक भत्तासम्बन्धी व्यवस्थालाई संशोधन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।


यस्तै, नवराजपुर गाउँपालिकाले दोस्रो गाउँसभा गरी बजेट सार्वजनिकीकरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले गाउँपालिकाको १६ करोड ४४ लाख २७ हजारको बजेट सार्वजनिक गरे । गाउँपालिकाले विकास पूर्वाधार निर्माणका लागि ग्रेडर, रोलर र सेफ्टी टैंकी खरीदमा बजेट विनियोजन गरेको छ । सिरहाका अन्य स्थानीय तहले जनप्रतिनिधिलाई सवारी साधन खरिदमा रकम खर्चे पनि नवराजपुर गाउँपालिकाले पूर्वाधार निर्माणका लागि सवारी खरिद बजेट विनियोजन गरेको छ ।


‘तराई मधेसको सुगम जिल्ला भए पनि नवराजपुर गाउँपालिका विकासका दृष्टिले अन्य स्थानीय तहभन्दा पछाडि छ,’ नवराजपुर गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले भने, ‘पहिला विकास गरौं भन्ने दृष्टिकोणले पूर्वाधार निर्माणमा प्रयोग हुने सवारी खरिदलाई गाउँसभाले प्राथमिकतामा राखेको हो ।’

प्रकाशित : माघ ४, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?