कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्जमै अड्यो पाइपलाइन

पर्सा — अमलेखजन्ज–रक्सौल–मोतिहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रबाहेक अरूमा पाइपलाइन विछ्याउने काम लगभग सकिएको छ ।

परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार हाल वीरगन्ज पथलैया खण्डअन्तर्गत वीरगन्जको गण्डकदेखि परवानीपुरतर्फ कंक्रिट पाइपमा फलामे पाइप हाल्ने काम अन्तिम चरणमा छ । त्यहाँ हिलो र पानी भएकाले लाइनको पाइप जोगाउन कंक्रिट पाइपभित्र उक्त पाइप राखिएको उनले बताए ।


यसबाहेक वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको सिर्सिया खोला मुनिबाट पाइप ओछ्याउने काम पनि सम्पन्न भएको छ । हाल नेपाल गेटनजिक पाइप जडानको काम अन्तिम चरणमा रहेको उनले बताए ।


‘पर्सा र बारामा गरी करिब सबै स्थानमा पाइप जडानको काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब बारामा पूर्वपश्चिम राजमार्गको समानान्तर पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा मात्र पाइप लाइनको काम पूर्ण रूपले बाँकी रहेको छ ।’ निकुञ्ज क्षेत्र परेकाले रूख काटन मन्त्रिपरिषदको निर्णय चाहिने भएकाले उक्त निर्णय लगत्तै रूख कटान भएपछि त्यहाँ पनि पाइप लाइनको काम सुरु गरिने उनले बताए ।


परियोजनाको ९ किमि पाइप लाइन त्यस क्षेत्रमा पर्छ । यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइप लाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइपलाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज पथलैया व्यापारिक मार्गमा पर्छ । हाल उक्त मार्ग ६ लेनमा बिस्तार हुँदैछ । ६ लेन सडकसँगै पाइप लाइन पनि पुरिनेछ । पाइप जमिनमुनि अढाई मिटरभित्र गाडिनेछ ।


इन्डियन आयल कर्पोरेसनको लगानीमा संञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको काम बाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड भारु रहेको छ ।

प्रकाशित : माघ ५, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?