कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तुले बाली खाए

वन्यजन्तुले गहुँ र मकै बाली बढी खाने गरेकाले यी बाली लगाउन आफूहरूले करिब छोडिसकेको किसान दीर्घमान आले बताउँछन्

पर्सा — भारतको बाल्मिकी टाइगर रिजर्भबाट आउने वन्यजन्तुले बालीनाली सखाप पार्दा यहाँका किसानलाई समस्या भएको छ । ठोरी गाउँपालिका १ तीनघरेका किसान बढी पीडित छन् । 

वन्यजन्तुले बाली खाए

नेपाल–भारत सीमामा रहेको यो टोलमा सम्साँझै घोडगधा, बंदेल, चित्तल, जरायोले बालीनाली मास्ने गरेको स्थानीय चेतबहादुर थापा मगर बताउँछन् । पछिल्लो ३ वर्षयता यो क्रम अत्यधिक बढेको छ । दिउँसो बालीनाली कुरेर बसे पनि राति त्यो सम्भव नहुने र बिहान हेर्दा बालीनाली बन्यजन्तुले खाएर नष्ट पारिसक्ने उनले बताए ।


वन्यजन्तुले गहँु र मकै बाली बढी खाने गरेकाले यी बाली लगाउन आफूहरूले करिब छोडिसकेको किसान दीर्घमान आले बताउँछन् । वर्षायाममा अन्य अन्न बाली नहुने भएकाले धानबाली लगाउनु बाध्यता भएको र त्यो बाली पनि पूर्ण रूपले आफूहरूले भित्र्याउन नपाएको उनले बताए । मुसुरो, तोरी जस्ता बालीनाली यी बन्यजन्तुले कम रुचाउने गरेकाले आफूहरूले हिउँदमा यी बाली लगाउने गरेको उनले बताए ।


मकै बाली सानो छदा चित्तलले खाने र घोगा लागेपछि बंदेलले खाएर हैरान पार्दा आफूहरूले मकै बाली लगाउनै छाडेको उनले बताए । खेतीपातीमै निर्भर यो टोलका बासिन्दा वन्यजन्तुले बालीनाली मास्दा आफूहरूलाई वर्षभरी खान पुग्ने अन्नको जोहो गर्न नसकेको गुनासो गर्छन् ।


भारत सरकारले बाघको संरक्षणका निम्ति ठोरीसँग सीमा जोडिएको वनलाई बाल्मिकी टाइगर रिजर्भका रूपमा संरक्षित गरेकाले त्यहाँ वन्यजन्तुको संख्या बढेर नेपालतर्फ आउने गरेका छन् । वन्यजन्तु कुनै मुलुकको सीमा र दायरामा नबस्ने र एक अर्को मुलुकको वनमा आउजाउ गरिराख्ने गर्छन् । नेपालतर्फ पनि वन भएकाले भारतीय निकुञ्जका वन्यजन्तु यता पनि आउने गर्छन् ।


अर्की किसान माया थापा मगरले वन्यजन्तुबाट बालीनाली जोगाउन कुरुवा बस्दा उनीहरूको आक्रमणमा पर्ने जोखिम पनि रहेको बताइन् । यसरी वन्यजन्तुबाट आक्रमणको जोखिम पनि रहेकाले कुरवा बस्दा मचानमा बस्ने गरिएको र यसरी प्रत्येक घरधुरी किसानले आआफ्नो मचान बनाएको उनले बताइन् । २६ घरधुरी रहेको यो टोलबासीलाई मचान अतिरिक्त बोझ पनि भएको छ ।


आफूहरूलाई वन्यजन्तुले आजित बनाए पनि हालसम्म आफूहरूले वन्यजन्तु धपाउने काम मात्र गरेको उनले बताइन् । पासो हाल्ने, मार्ने जस्तो कुनै गतिविधि गाउँलेले नगरेको उनले बताइन् । बिगतमा यसरी अचाक्ली वन्यजन्तु नआउँदा आफूहरूले धान, गहँु, मकै आदि अन्नबाली लगाएर वर्षभरीलाई पुग्ने अन्नबालीको जोहो गर्ने गरेकोमा ३ वर्षयता वर्षभरी खान पुग्ने अन्न उत्पादन गर्न नपाएको उनले बताइन् ।


आफूहरूमा वन्यजन्तु जोगाउनुपर्छ भन्ने चेत रहे पनि भारतीय निकुञ्ज प्रशासनले आफूहरूको मर्का बुझेर सीमामा तारबार वा विद्युतीय तारबार लगाइदिए भारतबाट वन्यजन्तु आउन बन्द हुने र आफूहरूलाई वर्षभरीलाई पुग्ने अन्न बाली उब्जने उनले बताइन् । क्षति भएको अन्नबालीको हालसम्म कुनै क्षतिपूर्ति पनि नपाएको उनले गुनासो गरिन् ।

प्रकाशित : माघ ६, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?