कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिमेन्ट बोक्ने ट्रकमा कपडा तस्करी

भूषण यादव

वीरगन्ज — पर्सा– बारा औद्योगिक कोरिडोरमा सञ्चालित सिमेन्ट उद्योगबाट सिमेन्ट बोकेर काठमाडाँै जाने ट्रकमा भन्सार राजस्व छली भित्र्याइएको कपडा तस्करी भएको खुलासा भएको छ ।

वीरगन्जको एक सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी पुस ९ मा काठमाडौंतर्फ गइरहेको ना७ख ९८४८ नम्बरको ट्रकलाई मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले चेकजाँच गर्दा २५ पोका कपडा र चार पोका चपरा (काठ पालिस गर्ने कपडा) बरामद गर्‍यो । सिमेन्टलाई त्यही अनलोड गरी कपडा र चपरा थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक अरुण कुश्वाहाले जनाए ।


उक्त ट्रक पुस ९ गते राति करिब साढे ११ बजे नियन्त्रणमा लिइएको थियो । चेकजाँच गर्दा ठूलो परिमाणमा भन्सार राजस्व छलेका कपडा र चपरा बरामद भएको प्रनि कुश्वाहाले बताए । जगदम्बाको अल्ट्रा सिमेन्टको बोरासँगै कपडा र चपराको पोका राखिएको उनले जनाए । वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतोले प्रहरीले पठाएको कपडा र चपरा राजस्व छलि भित्र्याएको पाइएको बताए । ‘आठ लाख ९१ हजार रुपैया धरौटी राखेर ट्रकधनीले चालक सरोज न्युपानेलाई छुटाएका छन्,’ उनले भने, ‘मुद्दा फाँटले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’ पछिल्लो समयमा अवैध कारोबारीले सिमेन्टसँगै इँट्टा बोक्ने ट्रकमा समेत कपडा तस्करी गरेका छन् ।


‘वीरगन्ज र ग्रामीण नाकाबाट अवैध रूपले भित्र्याएका कपडा इँट्टा र सिमेन्ट बोकेर काठमाडौँ जाने ट्रकमा लोड गरी कारोबार व्यापक रूपमा भइरहेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक कारोबारी भन्छन्, ‘दैनिक करिब ३ सय पोका कपडा काठमाडौँ तस्करीमार्फत गइरहेको छ ।’ पर्साको ग्रामीण भेगमा करिब दुई दर्जन इँट्टा भट्टा सञ्चालनमा छन् ।


जानकीटोला, भिस्वा, पिडारी, अमरपट्टी, बन्जारी लगायतका नाकाबाट अवैध कारोबारीले सुरक्षाकर्मीको मिलेमतोमा निर्वाध कपडा भित्र्याउने गरेका छन् । ‘ट्रकको अगाडि र पछाडि इँट्टा/सिमेन्ट लोड हुन्छ,’ सम्बद्ध स्रोत भन्छन्, ‘बीच भागमा कपडाको पोका राखिन्छ ।’


सीमावर्ती क्षेत्रमा खटिएका प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको पाइएपछि प्रदेश नम्बर दुई प्रहरी कार्यालय जनकपुरले गत साता पर्साका ५ प्रहरीलाई कारवाही गरेको छ । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले इँट्टा/सिमेन्ट उद्योगमा निगरानी बढाउने बताए । सिलाएको कपडामा २० प्रतिशत र नसिलाएको कपडामा १५ प्रतिशत भन्सार महसुलकासाथै १३ प्रतिशत मूल्य अभिवृद्धि (भ्याट) कर लाग्ने गरेको छ ।

प्रकाशित : माघ ८, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?