कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

तस्करी गर्न वनमा जीप  

नमुना सामुदायिक वन क्षेत्रको २ वटा काँचो साल काटेर गोलिया तस्करी गर्न लागेका बेला बरामद
शिव पुरी

रौतहट — डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत महेन्द्रप्रसाद जैसवालको मोबाइलमा मंगलबार अपराह्न फोन आयो । राति ठूलै तस्करी हुँदै छ भनेर सुराकीले जानकारी गराए । जैसवालले तत्कालै डिभिजन वन प्रमुख बिनोद सिंहलाई जानकारी गराए ।

तस्करी गर्न वनमा जीप  

वन कर्मचारी राति नै तस्करको पिछा गर्न खटिए । त्यही क्रममा काँचो सालको गोलिया सहित जिप बरामद भयो । तस्कर पक्रन वनको टोली पूर्वपश्चिम राजमार्गको पौराइस्थित दोस्रो लच्कामा गौडा कुरेर बसेको थियो । झन्डै ११ बजे सेतो बोलेरो जिप उत्तरतिरको जंगल भित्र पस्यो । तस्करको जमात ठूलो भएकाले अधिकृत जैसवालले वन प्रमुख सिंहलाई थप मद्दत पठाइदिन अनुरोध गरे ।


त्यसपछि हतियार सहित पुगेको वन टोलीले एकै पटक आक्रमण गर्‍यो । एक राउन्ड बन्दुक हवाई फायर गरे । तस्कर भागे । टोलीले जंगलभित्र जिप र काँचो सालको गोलिया लोड गरिएको अवस्थामा बरामद गरेको छ । यही जंगलमा गोलिया तस्कर गर्न लागेको यो दोस्रो पटक हो । वनले जिप बरामद गरे पनि तस्कर भागेको थियो । जुडिबेला सबडिभिजन वन अन्तरगतको नमुना सामुदायिक वन क्षेत्रको २ वटा काचो साल काटेर गोलिया तस्करी गर्न लागेका बेला राति बरामद गरेको हो । सुराकीका आधारमा त्यस क्षेत्रमा वनले धेरैअघिदेखि तस्करको पिछा गर्दै आएको थियो ।


राति जोखिम मोलेर जिप बरामद गर्न सफल भएको सहायक वन अधिकृत जैसवालले सुनाए । ‘वनको गाडीको बत्ती देख्नासाथ तस्कर भाग्न भ्याए,’ उनले भने, ‘यस क्षेत्रमा पटकपटक तस्करले काँचो सालको गोलिया लैजाने प्रयास गरिरहेको छ ।’


सुराकीले दिउँसो जानकारी दिए लगत्तै वनको एक टोली हतियार सहित लच्कामा तयारी अवस्थामा बसेको थियो । त्यसपछि वनले निरन्तर सुराकीसित कुरा गरिरहेको थियो । सुराकीकै आधारमा काँचो सालको गोलिया ७ थान ५६ क्युफिट सहित बेलोरो जिप बरामद गरिएको डिभिजन वन अधिकृत सिहले जानकारी दिए ।


उनीहरू भारतीय नम्बर प्लेट भएको सेतो बोलेरो जिपमा आएका थिए । अर्को जिप स्कटिङका लागि केही पर थियो । हतियार सहित तस्कर चढेको जिप भागेपछि पक्रन वनले इलाका प्रहरीलाई गुहारेको थियो । तर फोनमार्फत जानकारी गराउन नपाउँदै फरार भइसकेको थियो ।


दुई महिनाअघि बिशेष सुराकीका आधारमा त्यही स्थानबाट काँचो सालको गोलिया सहित वनले जिप बरामद गरेको थियो । अहिले त्यही स्थानबाट अर्को जिप बरामद गरिएको छ । तस्करले भारतीय नम्बर मेटाएर नेपाली नक्कली नम्बर राखेर तस्कर गर्दै आएको पाइएको छ । तस्करले जिपमा ना३च ४१२८ नम्बरको नक्कली नम्बर प्लेट राखेको छ ।


बाटोमा चेकजाँच हुँदा नेपाली नम्बरको देखेपछि समस्या नहुने भनेर तस्करले यस्तो उपाय अपनाएको वनका कर्मचारी बताउँछन् । गएको ६ महिनाभित्र वनले ४ वटा जिप बरामद गरेको छ । ती सबै नक्कली नम्बर राखेर सालको गोलिया तस्करीमा प्रयोग गरेका थिए । केही समयअघि धन्सार जंगलमा काठ तस्करी हुन लागेको सुराकीपछि वनले रातभर तस्करको पिछा गरेको थियो । तर थाहा पाई भाग्न सफल भएको थियो ।


पछिल्लो समय वनले पेसेवर तस्करको पहिचान गरी पिछा गर्न थालेको छ । उनीहरू पक्राउ परेपछि तस्कर हुने क्रम रोकिने डिभिजन वन अधिकृत सिंहले बताए । ‘पुराना तस्करहरू कोको छन् भन्ने लिस्ट तयार गरी पक्राउ गर्नेतिर लागेका छौ,’ उनले भने, ‘वनले पिछा गर्न थालेको थाहा पाएर भागेका छन् ।’


वनले जंगल प्रवेश गर्ने नाकाहरूमा ठूलाठूला खाडल (ट्रेन्च) खनेर काठ तस्करीका सवारी साधन आवतजावतमा अवरोध पुर्‍याउँदै आएको छ । मुख्य राजमार्ग तथा साहयक सडकबाट जंगल प्रवेश हुने दुई दर्जनभन्दा बढी नाकाहरूमा खाडल खनिएको साहयक वन अधिकृत अरुण कर्णले जानकारी दिए । ‘जंगलभित्र प्रवेश गर्ने नाकामा खाडल बनाए पनि नयाँ बाटो बनाएर तस्कर गर्न खोज्छन्,’ उनले भने, ‘पछिल्लो समय उनीहरूको पिछा गर्न थालिएपछि हतोत्साहित भएका छन् ।’


तीन महिनायता १० जनाभन्दा बढी काठ चोरीमा संलग्नलाई पक्राउ गरिएको छ । तस्करीमा प्रयोग गरिएको १० वटा साइकल, दुई वटा टेक्टर, तीन वटा पिकअप बलेरो जिप बरामद गरेको डिभिजन वन कार्यालयले जनायो ।

प्रकाशित : माघ ९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?