कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ल्यान्डफिल्डको ६० करोड फिर्ता

तीन वर्ष बितिसक्दा पनि जग्गा व्यवस्थापन गर्न नसकेपछि रकम फिर्ता भएको हो
शाहीमान राई

जनकपुर — फोहोर व्यवस्थापनका लागि जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ल्यान्डफिल्ड साइटका लागि जग्गा व्यवस्थापन गर्न नसकेपछि ६० करोड रुपैयाँ फिर्ता भएको छ । 

जनकपुर उपमहानगरपालिकाले आयोजनाका लागि एसियाली विकास बैंकसित सम्झौता भएको तीन वर्ष वितिसक्दा पनि जग्गा व्यवस्थापन गर्न नसकेपछि रकम फिर्ता भएको हो ।


ल्यान्डफिल्डसाइड नहुँदा उपमहानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन गर्न कठिनाइ भएको छ । जताततै फोहोरमैला, धूलो, धूवाँ र प्रदूषणका कारण जनकपुर दुर्गन्धित बनेको छ । धार्मिक सहर जनकपुरलाई सफा, सुन्दर, रमणीय र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले अत्याधुनिक ल्यान्डफिल्ड साइट निर्माण गर्न एसियाली विकास बैंकबाट सरकारले ऋणस्वरूप प्राप्त एक अर्ब ९० करोड रुपैयाँमध्ये ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।


ल्यान्डफिल्ड साइट नहँुदा जनकपुर उपमहानगर क्षेत्रबाट संकलित फोहोर फाल्ने ठाउँ छैन । विगतमा फाल्ने गरिएको जनकपुर उपमहानगरपालिका–१८ कन्कपट्टीमा ठाउँ भरिएपछि डम्पिङसाइट छैन । ल्यान्डफिल्डसाइट नहुँदा उपमहानगरको फोहोर संकलन र व्यवस्थापन गर्न कठिनाइ भएको उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख उपेन्द्र साहले बताए । उनले तीन सातादेखि फोहोर फाल्ने ठाउँको बैकल्पिक व्यवस्था नभएसम्म वडा नम्बर २० देवपुरारुपैठास्थित केही व्यक्तिको निजी जग्गामा खाल्डो भर्न संकलित फोहोर फाल्दै आएको बताए ।


‘ल्यान्डफिल्डसाइट छैन । कामचलाउ देवपुरारुपैठामा व्यक्तिको जग्गामा खाल्डो भर्न फाल्दैछौं, त्यो पनि पुरिएपछि कहाँ फाल्ने ?,’ उनले भने, ‘फोहोरमैला व्यवस्थित गर्न जग्गा छैन । तर जग्गा प्राप्तिका निम्ति पहल जारी छ ।’ उपमहानगरपालिकाले टोलटोलमा ट्रयाक्टर लगेर बिहान बेलुकी फोहोरमैला संकलन गर्दै आएको छ । फोहोर संकलन र सरसफाइका लागि उपमहानगरमा एक सय २५ जना कर्मचारी कार्यरत छन् ।


तीन वर्षअघि आयोजना सुरु भएपछि जनकपुरधाम उपमहानगरपालिकाले क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुरस्थित जलाध खोला किनारामा ल्यान्डफिल्डसाइट निर्माण गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न नसकेपछि रद्द गरेको थियो । त्यसपछि नगराइन नगरपालिकाको फुलगाममा ल्यान्डफिल्डसाइट निर्माण गर्न गुठी संस्थानसित सम्झौता गरे पनि स्थानीयले विरोध गरे ।


उपमहानगरपालिकामा निर्वाचित पदाधिकारीले समेत फुलगाममा जग्गा व्यवस्थापन गर्न नसकेपछि वडा नम्बर १८ को भोइलमा निर्माण गर्ने निर्णय गरे । तर गुठी संस्थानसित सम्झौता भइ टेन्डर आह्वानका लागि तयारी गर्दा स्थानीयले विरोध गरेपछि फेरि रद्द गर्नुपरेको उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।


जनकपुरको फोहोरमैला व्यवस्थापन चुनौती महसुस गर्दै पटकपटक म्याद थप गर्दै ल्यान्डफिल्डसाइट निर्माण गर्ने मौका दिए पनि उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसकेपछि रकम फिर्ता भएको आयोजनाको परामर्शदाता सोइलटेस्ट विलिंक अभियान विम (स्वाब) कन्सल्टेन्ट प्रालि संयुक्तका सुपरभिजन इन्जिनियर शत्रुघनप्रसाद चौधरीले बताए ।


प्रदेश २ को नमुना सहर बन्ने सम्भावना बोकेको जनकपुरलाई असफल पार्ने नियतबस विरोधी दलका नेताको लहैलहैमा लागेर ल्यान्डफिल्डसाइट निर्माणमा अवरोध पुर्‍याएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिसोर साहले आरोप लगाए । ‘ल्यान्डफिल्डसाइटका लागि जग्गाको खोजीमा छौं । ल्यान्डफिल्डसाइट निर्माण गर्नैपर्छ,’ प्रमुख साहले भने, ‘जसरी हुन्छ, फोहोरमैला व्यवस्थापन गरी जनकपुरलाई सफा, स्वच्छ, सुन्दर रमणीय सहर बनाउँछु ।’


एसियाली विकास बैंकको कुल सहयोग एक अर्ब ९० करोडमध्ये १ अर्ब १५ करोड लगानीमा जनकपुर उपमहानगरपालिका क्षेत्रको ढल निकासका लागि ह्युमपाइप गाडेर ३१ किलोमिटर ड्रेन नाला निर्माण र ९ किलोमिटर सडक विस्तार गरी कालोपत्रे गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले ८३ करोड लगानीमा २१ किलोमिटर सडक कालोपत्रे गर्दैछ ।

प्रकाशित : माघ ११, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?