कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिराले लियो ज्यान

अवधेशकुमार झा

राजविराज — सप्तरी, राजविराज–६ को मेहतर बस्तीमा रक्सीको लतका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । अवैध घरेलु मदिरा दैनिक रूपमा अत्यधिक मात्रामा खाने लतका कारण यो बस्तीमा युवावस्थामै धेरै जनाले ज्यान गुमाएका छन् । 

रक्सीको लतका कारण कलेजो खराव भई मर्नेको संख्या बढ्दै गए पनि अझै पनि बस्तीमा अबैध रूपमा घरेलु मदिराको उत्पादन रोकिएको छैन । पछिल्लो पटक मंगलबार उक्त मेहतर बस्तीका दुई जनाको अत्यधिक रक्सी सेवन गरेका कारण कलेजो खराव भई मृत्यु भएको छ ।


मेहतर समुदायका अगुवा मनोज मेहतरका अनुसार ३२ वर्षीय भोला मेहतर र ४० वर्षीय देबु मेहतरको अत्यधिक रक्सी सेवनका कारण मृत्यु भएको हो । ‘दैनिक रूपमा अत्यधिक मात्रमा घरेलु मदिरा खाँदा उनीहरूको कलेजो नराम्ररी खराव भइसकेको थियो,’ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने ।


उनीहरूलाई उपचारका लागि धरान विराटनगर लगिएको भए पनि चिकित्सकले कलेजो नराम्ररी खराब भइसकेकाले बचाउने सम्भावना न्यून भएको भन्दै घर फर्काएका थिए । सोमबार दुबै जना थप थलिएपछि उपचारका लागि राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्येका भोला अञ्चल अस्पतालकै सरसफाइ कर्मचारी थिए ।


मंगलबार मृत्यु भएका देबु मेहतरका भाइ शिवा भनिने शिवनारायण मेहतरको पनि अत्यधिक रक्सी खाएकै कारण कलेजो खराब भएर केही महिनाअघि मृत्यु भएको थियो । एक महिनाअघि मात्र उक्त बस्तीका ढोकवा भनिने ललितनारायण मण्डलको समेत अत्यधिक रक्सी सेवनका कारण मृत्यु भएको थियो भने स्थानिय प्रदीप मेहतरको समेत ज्यान अत्यधिक रक्सी सेवनकै कारण गएको स्थानीय मनोज मेहतरले बताए ।


अत्यधिक मात्रामा घरेलु मदिराको सेवनका कारण कलेजोमा खराबी भएर बस्तीका अन्य धेरै पनि बिरामी रहेको मनोजले बताए ।


‘रक्सी सेवनको लत अहिलेजस्तै रह्यो भने हाम्रो बस्ती पुरुषविहीन हुने अवस्था आउन बेर लाग्देन,’ मनोजले भने, ‘१२ वर्षको उमेरदेखि नै रक्सीको लतमा लाग्नेहरू पनि छन् ।’ कतिपयले बिहानै उठेर पनि रक्सी सेवन गर्ने गरेको र दिनभरी पटकपटक गरी शारीरिक क्षमताभन्दा बढी मात्रामा घरेलु मदिरा सेवन गर्ने गरेको उनले सुनाए । ‘अहिले नै हाम्रो बस्तीमा बृद्ध भेटिन छोडयो’, मनोजले भने, ‘८० परिवार रहेको हाम्रो बस्तीमा औंलामा गन्न सक्ने मात्र बृद्ध छन्, के गर्नु भएका पुरुष जति रक्सी पिएर कलेजो खराब भई युवावस्थामै ज्यान फाल्छन् ।’


मेहतर बस्तीमा रक्सीको लत अत्यधिक हुनुको पछाडि बस्तीमा अवैध रूपमा घरेलु मदिराको उत्पादन हो । बस्तीको पूर्वमा जिल्ला प्रहरी कार्यालय छ भने बस्ती नजिकै जिल्ला कारगार । प्रहरीको निगरानीमा रहने यो बस्तीमा दैनिक सयाैं लिटर मदिरा उत्पादन हुने गरेको छ । ‘कहिलेकाहीँ छापा मारेर केही लिटर पक्राउ गर्छन् । फेरि सेलाउँछन्,’ मनोजले भने, ‘उत्पादन बन्द नभएसम्म सेवन गर्नेहरूको संख्याका कमी ल्याउन सकिँदैन ।’


राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले मेहतर बस्तीको अवस्था घरेलु मदिराको लतका कारण कहालीलाग्दो बन्न पुगेको बताए । उनले स्थानीय प्रशासनसित मिलेर चाँडै उक्त बस्तीमा अबैध मदिरा उत्पादन गर्ने कार्यलाई पूर्णत: रोक लगाउने तयारी भइरहेको बताए ।


राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले मेहतर बस्तीमा मदिराको लतका कारण मानिस मर्दे जानुले आफूहरूलाई चिन्तित तुल्याएको बताए । उनले नगरपालिकाले उक्त बस्तीमा मदिराबाट हुने क्षतिका विषयमा सचेतनामूलक कार्यक्रम गर्नेमा जोड दिँदै स्थानीय प्रशासनसित समन्वयमा उत्पादन नियन्त्रणको तयारी गरेको बताए ।

प्रकाशित : माघ ११, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?