जिल्लामा कुष्ठ रोगी खोजिँदै

चन्द्रपुर, वृन्दावन, गौर,गुजरा इशनाथ नगरपालिकामा भएको अनुगमन र सर्वेक्षणले कुष्ठरोगीको संख्या बढेको देखाएको छ
कान्तिपुर संवाददाता

रौतहट — जिल्लाभित्र भएका कुष्ठ रोगी खोज्न यहाँ सबै स्थानीय तहले स्वयंसेवक खटाउने भएको छन् । फागुनको पहिलो सातादेखि स्वयंसेवक रोगी पत्ता लगाउन खटिनेछ । चन्द्रपुर नगरपालिकाले कुष्ठरोग निवारण अभियानको तयारी थालेको बताएको हो । 

कुष्ठ रोग निवारणका लागि घरदैलो कार्यक्रम अभियान सञ्चालनबारे रौतहटको चन्द्रपुर नगरपालिकामा जानकारी दिँदै नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अभय ठाकुर ।तस्बिर : शिव पुरी/कान्तिपुर 

सरकारले कुष्ठरोग निवारणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पछिल्लो समय जिल्लामा यो रोग लागेकाहरूको संख्या बढेको पाइएको हो । यहाँका ५ वटा स्थानीय तहमा भएको सर्वेक्षणले कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अभय ठाकुरले फागुनको पहिलो सातादेखि स्वयंसेवकहरू घरघर पुगेर रोगी पत्ता लगाउने बताए ।

‘शरीरमा लाटो फुस्रो दाग भएर पनि कतिपय मानिस थाहा नपाएर बसेको हुन सक्छ,’ उनले भने, ‘स्वयंसेवकले त्यस्ता रोगी पत्ता लगाई उपचारको प्रक्रिया थालिनेछ ।’ नगरपालिकाले १० वटा वडाको घरघर पुगेर स्थानीयसित सोधपुछ गर्ने छन् । रोगको लक्षणका बारे सोधेपछि उनीहरूले पत्ता लगाउँछन् ।

नगरपालिकाले एउटा वडामा ८ जनाको दरले स्वयंसेवक छनौट गरेको छ । उनीहरूलाई एक दिने तालिम दिइने संयोजक ठाकुरले जानकारी दिए । यो नगरमा पुराना १३ र नयाँ ७ जना रोगी फेला परेको छ । प्रदेश सरकारले सबै नगरपालिकाभित्रका गाउँहरूमा निवारणको कार्यक्रम गर्न भनेको छ ।

कार्तिकयता चन्द्रपुर, बृन्दावन, गौर, गुजरा इशनाथ नगरपालिकामा भएको अनुगमन र सर्वेक्षणले कुष्ठरोगीको संख्या बढेको देखाएको छ । यी नगरपालिकाहरूमा चाँडो सर्ने कुष्ठ रोगका बिरामी २३ जना पुरुष र ४४ जना महिला थिए । कम सर्ने रोगीहरूमा १७ जना पुरुष र १७ जना महिला रहेको तथ्यांकले देखाएको छ ।

गएको आर्थिक वर्षमा जिल्लाको ५ वटा नगरपालिकामा कुष्ठरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू भएको थियो । रोगीको खोजी गर्दा चन्द्रपुरमा ७ जना, गौरमा ५, बृन्दावनमा २२, गुजरामा १७ र इशनाथमा ५ जना थप कुष्ठरोगीहरू भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय गौरका क्षयकुष्ठ निरीक्षक महेश साहले जानकारी दिए ।

‘कुष्ठरोग निवारणका लागि प्रदेश नम्बर २ का सवै स्थानीय तहमा ५ लाखका दरले बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो वर्ष रोगीको संख्या बढेको पाइयो । अर्को वर्ष पनि बढ्न सक्छ । त्यसैले घरदैलो अभियानको तयारी थालेका हाैं ।’

प्रदेश नम्बर २ को पर्सादेखि सप्तरीसम्मका ८ जिल्लामा कुष्ठरोगीको संख्या बढिरहेको पाइएकाले सवै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सञ्चारकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सचेतना प्रसारप्रचार तथा रोगीको खोजी गर्न हरेक स्थानीय तहमा रकम विनियोजन भएको निरीक्षक साहले जनाए ।

जिल्लाको चन्द्रनिगाहपुर र गौर अस्पतालबाट कुष्ठरोगीका लागि औषधि वितरण हँुदै आएको छ । कम सर्ने रोगीले ६ महिना र चाँडै सर्ने बिरामीले १२ महिना औषधि सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् । रोग लागेकाहरू जिल्ला जनस्वास्थ्यको नियमित सम्पर्कमा औषधि सेवन गरिरहेका छन् ।

समयमा उपचार गरे रोग सजिलै निको हुन्छ । रोगका लागि एक मात्रा औषधिले ९९ प्रतिशत काम गर्ने चिकित्सक अभिनन्दन श्रीवास्तव बताउँछन् । ‘समयमा रोग पहिचान भयो भने औषधि सेवनबाट ठीक हुन्छ,’ उनले भने, ‘रोग लुकाउनु हुँदैन । लक्षण देख्ना साथ समयमा स्वास्थ्य संस्थामा जचाउनुपर्छ ।’

रोगको उपचार नि:शुल्कका साथै उपचारमा आएकालाई सरकारले यातायात खर्च समेत दिँदै आएको छ । कीटाणुबाट रोग लाग्ने भएकाले ‘पूर्वजन्मको पाप’ भनेर भ्रम नफैलाउन जनस्वास्थ्यले अनुरोध गरेको छ । यहाँका १८ वटा स्थानीय तहमध्ये गएको कार्तिकसम्मको तथ्यांकमा यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा एउटा पनि रोगी भेटिएका छैनन् । चन्द्रपुरमा रहेको सरकारी अस्पतालमा हरेक महिनाको अन्तिम आइतबार आनन्दवनकुष्ठरोग अस्पताल ललितपुरको चिकित्सकको टोलीले शिविर सञ्चालन गर्दै आएको छ ।

३ वर्षअघिदेखि टोलीले छालाका बिरामीको उपचार र परीक्षण गर्दै आएका छन् । महिनामा सयदेखि १ सय ५० सम्म छालाका रोगीले उपचार गराउँदै आएका छन् । अझै पनि समाजमा कुष्ठरोगीलाई हेलाको दृष्टिले हेर्ने भएकाले रोग लुकाउने गरेको पाइन्छ । परोहा नगरपालिकाका ६० वर्षीय इन्द्रदेव रामलाई कुष्ठरोग लागेपछि २ पटक गाउँ निकाला गरिएको थियो । अहिले उनी बेवारिसे जस्तै सडक किनारमा बस्दै आएका छन् ।

गरिबी, जनचेतनाको कमी, अशिक्षा, लाजका कारण र नि:शुल्क उपचार हुन्छ भन्ने जानकारी नहुँदा रोग लुकाएर बसेका बिरामीहरू जिल्लामा अझै रहेको निरीक्षक साहले बताए । नचिलाउने, रातो फुस्रो दाग आएमा, छुदा थाहा नहुने दाग देखिए, हातगोडा झमझमाउने जस्ता लक्षण देखिए तत्कालै जचाउन चिकित्सकले सुझाव दिएका छन् । कतिपयले डरले र घृणा गर्छन् भन्ने सोचले त्यसो गर्दैनन् ।’

प्रकाशित : माघ २७, २०७५ ०९:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्यांकर व्यवसायीमा विभेद

कान्तिपुर संवाददाता

सिमरा — ठूला ट्यांकर व्यवसायीलाई फाइदा पुग्ने गरी नेपाल आयल निगमले बाध्यकारी नियम ल्याएको भन्दै बारा, पर्सा, रौतहटका साना ट्यांकर व्यवसायीले सच्याउन आग्रह गरेका छन् ।

निगमले एउटा व्यक्तिले एकपटकमा कम्तीमा ५ वटा ट्यांकर खरिद बिक्री गर्नुपर्ने बाध्यकारी नियम ल्याएपछि आफूहरू समस्यामा परेको यहाँका साना तथा मझौला ट्यांकरधनी गुनासो छ । १ देखि ४ वटा ट्यांकर खरिद बिक्री गर्न खोज्ने सवारीधनी बढी मारमा परेका हुन् । एउटा ट्यांकर भएका धनीलेट्यांकर साहु बने पनि आफ्नै सवारी आफ्नो नामबाट सञ्चालन गर्न पाएका छैनन् । उनीहरूले पहिला इजाजत लिइसकेका व्यक्तिको नामबाट आफ्नो ट्यांकर सञ्चालन गर्दै आएको पीडित ट्यांकरधनीले बताएका छन् ।

ट्यांकर सञ्चालन गर्न नसकेका धनीले ट्यांकर बिक्री गर्न खोज्दा पनि झन्झटिलो प्रक्रियाका कारण बिक्री गर्न पनि पाएका छैनन् । एउटा/दुईटा ट्यांकर जो व्यक्तिसँग छ, उसले कसरी र कोसँग सवारी साधन बिक्री गर्ने ? भन्दै पीडित धनीले निकास निकाली दिन नेपाल आयल निगमसँग आग्रह गरेका छन् ।

आयल निगमले एउटा/दुईटाट्यांकर खरिद बिक्री गर्न आयल निगमले प्रतिबन्ध लगाएको छ । ‘आयल निगमको ढुवानी इजाजत लिन एक जना साहुले एकैपटकमा कम्तीमा ५ वटा ट्यांकर खरिद गर्नुपर्छ,’ नाम नछाप्ने शर्तमा एक पीडित ट्यांकरधनीले भने, ‘इजाजत लिन एउटा साहुसँग कम्तीमा ५ वटाट्यांकर हुनैपर्छ ।’

उक्त ट्यांकर बिक्री गर्दा पनि एकै पटकमा ५ वटै ट्यांकर एउटै व्यक्तिसँग बिक्री गर्नुपर्छ । जसको नाममा पहिलादेखि ढुवानी इजाजत छ । त्यसै व्यक्तिसँग मात्र एउटा/दुईटाट्यांकर खरिद बिक्री गर्न पाउने अवस्था सृजना भएको पीडित ट्यांकरधनीले गुनासो गरेका छन् ।

विगतमा एउटा ट्यांकर खरिद बिक्री गर्दा ट्यांकरधनीले सहजै ढुवानी इजाजतपत्र पाउने गरेका थिए । ४ वर्षयता आयल निगमले ढुवानी इजाजतपत्र दिन यस्तो बाध्यकारी नियम ल्याएको उनीहरूले आरोप लगाए । करिब एक सयभन्दा बढी संख्यामा रहेका ट्यांकरको ढुवानी इजाजतपत्र अर्कै व्यक्तिको नाममा रहेको स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT