कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी अभावले व्यवसाय प्रभावित

पर्सा — पानीको अभावले अमलेखगन्जको होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको छ । यसले अमलेखगन्जमा नयाँ होटल तथा अन्य पर्यटकीय गन्तव्यको निर्माण हुन नसकेको होटल व्यवसायीहरू बताउँछन् । 

पर्सा राष्ट्रिय निकुञ्ज गत वर्ष आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएको छ । त्यसपछि थुप्रै होटल तथा पर्यटन व्यवसायी यहाँ लगानी गर्न अघि सरे पनि पानीको अभावका कारण हच्किएको स्थानीय एलिफेन्ट भिलेज रिसोर्टका व्यवस्थापक मोहन शर्मा लामिछाने बताउँछन् ।


होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका लामिछानेले जीतपुर सिमरा उपमहानगरको वडा नं २१ भरि नै पानीको चरम अभाव रहेकाले लगानीकर्ताहरू महानगरको वडा नं २२ तर्फ आकर्षित भइरहेको बताए । ‘पानीको यत्तिसारो अभाव छ कि मैले २/३ दिनमा एक ट्यांकर पानी किनेर गर्जो टारिरहेको छु, रिसोर्ट निर्माण ताकादेखि हालसम्म पनि पानीकै अभाव झेलिरहेको छु,’ उनले भने, ‘गेस्टलाई नुहाउनेदेखि भान्सामा पकाउने पानी पनि किनेरै काम चलाउँदै छु ।’ पानीकै अभावले आफूले रिसोर्टमा स्विमिङ पुल बनाउने योजना पछि सारेको उनले बताए । ‘बैंक लगानी गर्न तयार छ,’ उनले भने, ‘तर पानी अभावकै कारण म स्विमिङि पुल लगायत अन्य पूर्वाधार थप्न सक्ने स्थितिमा छैन ।’


वडा नं २१ मा हाल लामिछानेको रिसोर्ट बाहेक कल्पवृक्ष, मोहिनी रिसोर्ट, प्याराडाइज कटेज आदि सञ्चालनमा छन् । सबैले पानीकै अभाव झेलिरहेका छन् । इच्छा होटल व्यवस्थापनले पनि यहाँ आफ्नो नयाँ प्रोजेक्ट सञ्चालनको तयारी गरिरहेको छ । तर पानीकै अभावले उसको योजना पनि अघि बढ्न सकेको छैन ।


वडा नं २२ मा यो समस्या नहुँदा लगानीकर्ताहरू उक्त वडामा आकर्षित भइरहेको लामिछानेले बताए । उक्त वडामा करिब ५० करोडको लगानीमा एउटा तीन तारे होटल निर्माण हुने पक्का भइसकेको छ । त्यसैगरी फनपार्क तथा अन्य केही होटल पनि निर्माणको तयारी भइरहेको छ ।


चुरे पहाडको फेदमा रहेको अमलेखगन्जको भौगोलिक बनोट भिरालो र जमिनमुनि चट्टान रहेको छ । यो बजारमा राणाकालीन समयदेखि स्थानीय मोहन खोलाबाट परम्परागत विधिले संकलन गरी ल्याएको पानी वितरण गरिएको छ । जसबाट बजारको मागको अत्यन्त कम मात्र पानी उपलब्ध भएको छ ।


होटल व्यवसायी तथा स्थानीयको संयुक्त समूहले खानेपानी मन्त्री बिना मगरलाई डेलिगेशन दिई बजारमा ओभरहेड ट्यांकी निर्माणका लागि आग्रह गरिसकेको उनले बताए ।


उपमहानगरको वडा नं २१ का वडाध्यक्ष कृष्ण ठकुरीले अमलेखगन्ज अत्यन्त धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भए पनि पानीकै अभावले पर्यटन क्षेत्र माथि उठ्न नसकी रहेको बताए । ‘पानीको उचित प्रबन्ध भए यहाँ होटल व्यवसायमा थप लगानी भित्रिने प्रशस्त सम्भावना थियो,’ उनले भने, ‘२०७२ को भूकम्पपछि पानीको मुहान सुकेको र राणाकालीन खानेपानी वितरण प्रणाली पनि झनै अस्तव्यस्त भएको छ ।’ अमलेखगन्जमा १३ सय घरधुरी रहेको र अधिकांश घरधुरी पानीकै अभाव झेली रहेको उनले बताए । सहरी विकास मन्त्रालयले अमलेखगन्जमा पर्यटन क्षेत्रको विकासका लागि ३० करोड लगानी गर्न लागेको उनले बताए ।

प्रकाशित : माघ २७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?