कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फास्ट ट्रयाक : २ वटा ‘एनिमल पास’

निजगढ — निजगढ–काठमाडौं दु्रत मार्गमा वन्यजन्तुको सहज आवागमनका लागि २ वटा एनिमल पास बनाइने भएको छ । द्रुत मार्गको निजगढनजिक निकुञ्जको करिब २ किमि पूर्व राष्ट्रिय वनमा यी पास निर्माण गरिनेछन् ।

निकुञ्जमा रहेका जंगली हात्ती, बाघ, गैंडा, चितुवाजस्ता दुर्लभ वन्यजन्तुको सहज आवागमनका लागि पास निर्माण गर्न लागिएको हो । निकुञ्ज र राष्ट्रिय वन जोडिएका छन् ।


निकुञ्जको पूर्वी सिमानाभन्दा करिब २ किमि पूर्व बाराको राष्ट्रिय वनअन्तर्गतको सामुदायिक वनको बाटो भएर दु्रत मार्ग गुज्रेको छ । वन्यजन्तुको कुनै सीमा नहुने र उनीहरूले आहाराको खोजीमा वन क्षेत्रमा लामो यात्रा तय गर्ने भएकाले उनीहरूको सहज आवागमनका लागि दु्रत मार्ग कालोपत्रे गरिनुअघि नै एनिमल पास निर्माण गरिनुपर्ने माग सरोकारवालाहरूले राख्दै आएका थिए ।


द्रुतमार्ग निर्माणका लागि निजगढमा स्थापना गरिएको नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर राजेशकुमार देवले हाल ७२ जोड ७५० र ७२ जोड ८५० च्यानेजमा गरी २ वटा एनिमल पास निर्माण गर्ने योजना रहेको उनले बताए ।


‘यी पासको बीचमा करिब १ सय मिटर दूरी रहेको छ,’ उनले भने, ‘हात्ती, चितुवा आदि वन्यजन्तु आवागमन गर्ने परम्परागत मार्ग नबिथोलिने गरी एनिमल पासका लागि बाटो बनाइएको छ, हाललाई दु्रत मार्गको संरचना त्यहाँ केही खाली राखिएको छ, पछि मार्ग कालोपत्रे गर्दा एनिमल पासको भौतिक संरचना नै निर्माण गरिने छ ।’ हात्तीको उक्त पदमार्ग ‘हात्तिडण्डी’ नामले प्रसिद्ध छ ।


निकुञ्ज प्रशासनसँग पनि पटकपटक छलफल भएको र अन्तर्राष्ट्रिय अनुभव हेरेर पनि करिब २५ फिट अग्लो एनिमल पास निर्माण गरिने उनले जानकारी दिए । यस्तो पास बनाउँदा हात्तीको उचाइभन्दा बढी हुने गरी निर्माण गर्न लागिएको उनले बताए । दु्रत मार्गमा पक्की संरचना हुने र त्यहाँ दु्रत गतिमा सवारी गुड्नेछन् ।


वनको बीचमा नया संरचना हुने र त्यसमा दु्रत गतिमा सवारी गुडदा वन्यजन्तुले सहजै दु्रत मार्ग काट्न सक्दैनन् । यसले उनीहरूको प्राकृतिक मार्ग समेत बिथोलिने भएकाले यो समस्या आउनुअघिनै त्यसतर्फ सजगता अपनाइएको हो । हात्ती, बाघ, गैंडा तथा अन्य वन्यजन्तु निकुञ्जको पूर्वी सिमाना हुँदै बारा, रौतहट, सर्लाहीको राष्ट्रिय वन क्षेत्रसम्म पनि पुग्ने गरेका छन् ।


हाल एनिमल पास बनाउन लागिएको स्थान जंगली हात्तीको पुरानो पदमार्गका रूपमा चिनिन्छ । अतिसंवेदनशील मानिने हात्तीले जहिले पनि एउटै पदमार्ग प्रयोग गर्ने भएकाले यसो गर्दा निकुञ्जका हात्तीको पुरानो पदमार्ग पनि बिथोलिदैन । नयाँ संरचना देखेपछि संवेदनशील वन्यजन्तुले असुरक्षित महसुस गरेर हिँडडुल नै बन्द गर्ने सम्भावना पनि हुन्छ ।

प्रकाशित : माघ २८, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?