कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिनापानीले काँचो इँटा क्षति

यहाँका १ सय ५७ इँटा उद्योगमा करिब १५ करोडभन्दा बढीको क्षति पुगेको रौतहट इँटा व्यवसायी संघका अध्यक्ष रामविनोद साहले बताए
शिव पुरी

रौतहट — दुई दिनअघि परेको असिनापानीले इँटा भट्टामा क्षति पुगेपछि जिल्लाभरिका उद्यमी तनावमा परेका छन् । गरुडा बजारमा आइतबार जम्मा भएकामध्ये अधिकांशले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेका दुखेसो पोखे ।

असिनापानीले काँचो इँटा क्षति

यही शुक्रबार र शनिबार परेको पानीले जिल्लाभित्र सञ्चालित इँटा उद्योगमा करोडाैंको क्षति पुगेको हो ।


पानीसँगै झरेको असिनाले पकाउन राखिएको तयारी काँचो इँटा नष्ट भएको छ । पानीले केहीको चिम्निभट्टा बन्द भएको पाइएको छ । जिल्लामा पछिल्लो समय इँटा उद्योगप्रति उद्यमीको लगाव बढ्दै गएको थियो । यहाँका १ सय ५७ इँटा उद्योगमा करिब १५ करोडभन्दा बढीको क्षति पुगेको रौतहट इँटा व्यवसायी संघका अध्यक्ष रामविनोद साहले बताए ।


गरुडामा पत्रकारसित कुरा गर्दै साहले असिनापानीले ठूलो क्षति पुगेको सुनाए । ‘बंैकबाट ऋण लिएर उद्योग सञ्चालन गर्नु परेको छ,’ उनले भने, ‘काँचो र म्यानमा पोल्न राखेको सबै इँटा नष्ट भयो । क्षतिका कारण धेरै उद्यमी सार्थीहरूलाई आर्थिक संकटमा पारेको छ ।’


गरुडा नगरपालिका ५ मा रहेको उनको एसटीएल इँटा उद्योगमा असिनापानीले १० लाख काचो इँटा नष्ट भएको जनाए । भट्टामा करिब २५ लाख बराबर क्षति पुगेको उनको दाबी छ ।


दुई दिन लगातार परेको असिनापानीले जिल्लाभरिका उद्यमीलाई संकटमा पारेको छ । कतिपय इँटा व्यवसायीले ढिला गरी चिम्निमा आगो लगाएका थिए । यो सिजनामा शीतलहरले प्रभाव पारेन । तर असिनापानीले समस्यामा पारेको व्यवसायी मोहना साहले बताए ।


‘यस्तो अवस्थामा उद्योग चलाउन समस्या हुन्छ,’ उनले भने, ‘वर्षा सुरु हुन नपाउँदै क्षति व्यहोर्नुपर्‍यो ।’ आफ्नो भट्टामा ३० लाख बढीका क्षति पुगको साहले बताए । उनको गुजरा ७ मा रामजानकी इँटा उद्योग सञ्चालनमा छ । सबै भन्दा बढी काँचो इँटा उनकै भट्टामा थियो । बैंकबाट धेरैले ऋण लिएको गुनासो पोखे । यस्तै अवस्था रहयो भने बैंकको ब्याज तिर्न समस्या हुने उनीहरूको भनाइ थियो ।


दुर्गा भगवती गाउँपालिकामा रहेको माँ दुर्गा इँटा उद्योगका सञ्चालक मुकुन्द साहको करिब ६ लाख काँचो इँटा असिनाले नष्ट गरेको छ । काँचो इँटामा पानी परेपछि दाग देखिन्छ । पकाउँदा कमजोर हुने व्यवसायीहरू बताउँछन् । यस्तो इँटा कम मूल्यमा बिक्री हुने उद्योगीहरूको भनाइ छ । पानीले इँटा पोल्न राखेको कोइला र दाउरा समेत भिजेको छ । यो मौसममा असिनापानी पर्छ भनेर वयवसायीहरूले अनुमान गरेका थिएनन् ।


त्यसैले अधिकांशले काँचो इँटा सुरक्षित राख्न सकेनन् । उनीहरूले घाममा सुकाउन बाहिर छाडे । काँचो इँटा राम्ररी सुकेपछि मात्र पकाउन म्यानमा हालिन्छ । यसलाई ४/५ घण्टासम्म कोइलाको रापमा पोल्नुपर्छ । त्यसपछि सेलाउन झन्डै १० दिन लाग्छ । अनि मात्र बिक्रीका लागि म्यानबाट बहिर निकालिन्छ । एक दिनमा साधारण भट्टाबाट ४० हजार बढीसम्म इँटा उत्पादन हुन्छ ।


प्रदूषणरहितमा हाइड्रो सिस्टमबाट ७० हजार बढीको इँटा उत्पादन हुने व्यवसायी साहले बताए । पछिल्लो समय पुरानो जस्तापाताको बम्बाको भट्टा बन्द भइसकेको छ । सबैले फिक्स बम्बाको उद्योग सञ्चालन गरिरहेका छन् । अन्यको जस्तै इँटा उद्योगको बिमा नहुँदा उद्योगी बढी मर्कामा परेका छन् ।


इँटा उद्योगको बिमा गर्न सरकारलाई बारम्बार आग्रह गर्दा बेवास्ता गर्दै आएकाले व्यवसायीले धेरै क्षति बेहोर्नु परेको अध्यक्ष साहको भनाइ छ । गत वर्ष डुबानका कारण जिल्लाभरिको इँटा उद्योगमा झन्डै ६ करोड बढीको क्षति पुगेको उनले सुनाए । जिल्ला दैवी प्रकोप उद्धार कार्यालयको प्रतिवेदनमा ६ करोडको क्षति भएको प्रतिवेदन सम्बन्धित निकायमा पठाइएको थियो । तर पनि सरकारले उद्योगीलाई क्षतिपूर्ति नदिएको व्यवसायीको गुनासो छ ।


मकैमा पनि क्षति

जिल्लाको उत्तरी भेगमा धेरै किसानको मकै बालीमा क्षति पुगेको छ । असिनाले हुर्कंदै गरेको मकै ढलेर क्षति पुगेको किसान केदार तिमल्सिनाले बताए । ‘पहिला घोगामा दाना लागेन । त्यस बेला पनि क्षति व्यहोर्नुपर्‍यो,’ उनले भने, ‘अहिले असिनापानीले मकैको बोट ढालेर सोत्राङ बनाएको छ ।’


यता जिल्लाको दक्षिण भेगमा भने तेलहन तथा दलहन बालीमा ठूलो नोक्सानी पुगेको छ । असिनापानीले बालीका किसानलाई मारमा पारेको हो । पानीले उखु र गहुँ किसानलाई भने राहत पुगेको छ ।

प्रकाशित : माघ २९, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?