कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकलाई बल्ल चासो

शिव पुरी

रौतहट — पूर्व–पश्चिम राजमार्ग छेउका अधिकांश जमिन व्यक्तिको नाममा पास हुँदा चुप बसेको डिभिजन सडक कार्यालयले अहिले आएर रोक्न चासो देखाएको छ । सडकले राजमार्ग दायाँबायाँको क्षेत्रफल यकिन गरेर कित्ताकाट गर्न नापीलाई पत्राचार नगर्दा गम्भीर त्रुिट भएको हो । 

पछिल्लो समय रामाजर्गकै जमिन पास हुन थालेको घटना सार्वजनिक भएपछि सडकले चासो देखाएको छ । सडकले नापी र मालपोतलाई पत्र पठाई राजमार्ग छेउका जमिन छाडेर मात्र कित्ताकाट र रजिष्ट्रेसन पास गर्न पत्राचार गरेको हो ।


डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले नापी, मालपोत, जिल्ला प्रशासन लगायतको निकायमा पत्राचार गरी सडकको जमिन पास हुन रोक्न पत्राचार गरिसकेको बताए । ‘हामीले सम्बन्धित मन्त्रालय, विभागमा समेत पत्राचार गरेका छौं,’ उनले भने, ‘सडकको जमिन व्यक्तिको नामबाट फिर्ता गराइन्छ ।


अहिले सबैलाई पत्र पठाइसकेका छौं । अब सडकको जमिन व्यक्तिको नाममा पास हुँदैन ।’ सडकले चासो नदेखाएकै कारण चन्द्रपुर नगरपालिकाभित्र पर्ने महेन्द्र राजमार्ग व्यक्तिको नाममा रजिष्ट्रेसन पास भएको छ । राजमार्ग दायाँबायाँ घडेरी जमिन धमाधम पास भएको कान्तिपुरमा समाचार प्रकाशित भएपछि सडक कार्यालयले रोक्न चासो देखाएको हो ।


पूर्वपश्चिम जोड्ने यो राष्ट्रिय राजमार्ग हो । यसलाई लाइफलाइनका रूपमा हेरिन्छ । पछिल्लो केही समययता महेन्द्र राजमार्गको जंगलछेउदेखि चाादीपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका घडेरी जमिन सडक विभागले तोकेको मापदण्ड विपरीत व्यक्तिको नाममा पास हुने गरेको थियो ।


पूर्वपश्चिम राजमार्गमा २५ र सहायकमा १५ मिटर छाडेर मात्र रजिष्ट्रेसन पास गराउनुपर्छ । डिभिजन सडकले यस विषयमा कुनै चासो देखाएको थिएन । सडकबाट यति मिटर छाडेर कित्ताकाट गर्नु भनेर कुनै किसिमको पत्र नआएको नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजयकुमार साहले बताए ।


‘अहिले आएर सडकले दुबैतर्फ सडकको जमिन छाडेर मात्र कित्ताकाट गर्न पत्र पठाइएको छ,’ उनले भने, ‘यत्रो वर्षसम्म सडक किन चुप बस्यो । कम्तीमा नापी र मालपोतलाई सडककको जमिन यति छुट्याएर मात्र पास गराउनु भनेर पत्र पठाएको भए समस्या आउँदैनथ्यो ।’ सडककै कारण नापी र मालपोत अन्यौलमा पर्दै आएको छ ।


डिभिजन सडकले राजमार्ग छेउका जमिनहरू कित्ताकाट नगर्न पत्र पठाइएको थियो । त्यसपछि मुख्य राजमार्गमा २५ र जिल्ला राजमार्गमा १५ मिटर छाडेर कित्ताकाट गर्न भनेर नापीलाई अर्को पत्र पठाएको थियो । यति मिटर छुट्याएर मात्र कित्ताकाट गर्नु भनेर निर्देशन नआएकाले नापी कार्यालय अन्यौलमा पर्दै आएको थियो ।


मालपोत कार्यालय चन्द्रपुरका नायब सुब्बा केशब भट्टराईले सडकबाट दुबैतर्फको क्षेत्रफल छाडेर मात्र पास गराउन भनेर पत्र आएको बताए । मालपोतले पनि महेन्द्रराजमार्गको दुबै क्षेत्रको सडकको जमिन छाडेर मात्र कित्ताकाट गर्न नापीलाई पत्र पठाएको छ ।


जग्गाधनीले राजमार्ग छाडेर पास गराउनुपर्नेमा त्यसो नगरेकाले समस्या भएको हो । २५ मिटर छाडेर पास गराउँदा बाँकीको जमिन साविकका जग्गाधनीको नाममा रहने हँुदा पछि किचलो हुने भन्दै खरिद गर्नेहरू सरकारी राजस्व तिरेर राजमार्ग सहित पास गराउँछन् । गौर चन्द्रनिगाहपुर खण्डका जमिन समेत व्यक्तिको नाममा पास हुने गरेको छ ।


नक्सामा राजमार्ग खुलाइए पनि त्यसको दायाँबायाँको जमिनको हकमा सडक विभागले नापीलाई कुनै किसिमको निर्देशन सहितको पत्र नपठाएको दाबी गरिएको छ । सडकले २०२१ सालमा नै दायाँबायाँको क्षेत्रफल किटेर पत्राचार गरिएको दाबी गरेको छ ।


पूर्वदेखि पश्चिमका नेपालीलाई एकसूत्रमा बाँध्न महेन्द्र राजमार्गको अतुलनीय योगदान रहेको छ । यस राजमार्गको विकाससँगै देशले व्यापार वाणिज्यमा अतुलनीय बिकस गर्‍यो । पूर्वदेखि पश्चिमसम्म विभिन्न द्रुत गतिका वाणिज्य केन्द्रहरू विकास हुन सम्भव भए । चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैंडाकोटमा राजा महेन्द्रबाट विक्रम संवत् २०२२ सालमा यो राजमार्गको उद्घाटन गरिएको थियो ।


झन्डै ११ सय किलोमिटरभन्दा लामो पूर्वमा काँकडभिटा (मेची नगर) देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो यो राजमार्गको केन्द्र भागतिर भरतपुर नगर तथा चितवन उपत्यका पर्दछ । यो मार्गमा पूर्वपश्चिमका दैनिक १० हजारभन्दा बढी गाडी चल्छन् ।


राजधानी जोड्ने लाइफलाइनको संरक्षण गर्न जरुरी रहेको सरोकारवाला बताउँछन् । पछिल्लो समय अतिक्रमण र व्यक्तिको नाममा राजमार्ग पास हुन थालेको छ । यसले पछि ठूलो समस्या निम्त्याउने सडकका प्राविधिकहरू बताउँछन् । सडकको नियममा ३१ मिटर भनिए पनि हाल २५ मिटर कायम गरिएको छ ।


बाँकीको ५ मिटरमा घरधनीले कुनै किसिमको संरचना बनाउन पाउँदैन । धमाधम राजमार्ग नै व्यक्तिको नाममा पास हुन थाले पछि सडकले पूर्वको बाँके जंगल र पश्चिममा धन्सारसम्मको राजमार्गको लालपुर्जा अध्ययन थालेको छ । केही स्थानमा व्यक्तिले राजमार्ग पास भएपछि आफ्नो जग्गाको साँझ सिमाना छुट्याउने प्रयास गरेका छन् । यसो भयो भने राजमार्गमा गाडी गुड्न बन्द हुन्छ ।


यता लामो समयदेखि राजमार्गको दायाँबायाँ सडक अतिक्रमणको चपेटामा परेको छ । लामो समयदेखि स्थानीयले सडक मिचेर पसल थापे पनि सडक विभागले हटाउन चासो देखाएको छैन । गौर चन्द्रनिगाहपुर खण्ड सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ ।


यो मार्गको छेउमै पशु गोठ बनाउने र बाँध्ने गरिएको पाइएको छ । पूर्वपश्चिम राजमार्गको २५ र गौर चन्द्रनिगाहपुर खण्डमा १५ मिटर छाडेर स्थानीयले उपभोग गर्न पाउँछन् । यहाँ दुबैतिर अतिक्रमण गर्दै आएका छन् । केही स्थानमा सडकमै बजार लगाइने गरिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?