१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

निकासी हुने बस्तुमा जुसलाई पाम आयलले उछिन्यो

कान्तिपुर संवाददाता

पर्सा — लामो समयदेखि वीरगन्ज नाकाबाट निकासी हुने मुख्य बस्तुको सूचीमा रहदै आएको जुसलाई यसपटक तयारी पाम आयलले उछिनेको छ ।

चालु आर्थिक वर्षको माघसम्मको अवधिमा यो नाकाबाट निकासी हुने बस्तुको अग्रस्थानमा पाम आयल आइपुगेको छ । पाम आयल मात्र नभई निकासी हुने मुख्य बस्तुको सूचीमा पाँचांै नम्बरमा भटमासको तेल र छैठौं नम्बरमा आयल केक समेत परेका छन् ।

तीन वटै बस्तु भारत निकासी भएको उनले बताए । भारत नेपाली बस्तुका लागि ठूलो बजार हो । भारतले नेपालमा उत्पादित बस्तु बिनाकुनै अवरोध आयात खुला गरे त्यसले नेपाली उद्योगका उत्पादनले भारतमा राम्रो बजार पाउने कुराका यी बस्तु पछिल्ला उदाहरण समेत हुन् । यी तीनवटै बस्तु भारत निकासी हुने थालेपछि निकासीको सूचीमा रहेका मुख्य १० भित्र अटन सफल भएका हुन् ।

वीरगन्ज/आईसीपी भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो ७ महिनाको अवधिमा यो नाकाबाट १ अर्ब ९० करोड बराबरको १ करोड ६८ लाख किलो तयारी पाम आयाल निकासी भएको छ । गत आवको यसै अवधिमा यो तेलको निकासी शून्य रहेको थियो ।

भारतले आयात रोकेकाले अघिल्ला वर्षहरूमा नेपालबाट भारततर्फ यो खाने तेलको निकासी रोकिएको थियो । यस वर्ष भारतले पाम आयल भटमास तेलको आयातमा लगाएको रोक फुकुवा गरेकाले नेपालबाट भारततर्फ यी तेलको निकासी सम्भव भएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतोले चालु आवको आरम्भदेखि नै भारततर्फ पाम आयलको निकासी हुन थालेको बताए । स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहित गर्न यस्तो वस्तुको निर्यातमा शून्य भन्सार शुल्क लाग्ने गरेको उनले बताए ।

ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डानेसिया लगायतका मुलुकबाट नेपाली उद्योगले पामको क्रुड आयल (कच्चा तेल) आयात गरी त्यसलाई प्रशोधनपछि तयारी तेल उत्पादन गर्छन् । यसको आयात गर्दा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्छ ।

त्यसैगरी, पाँचाैं नम्बरमा रहेको भटमासको तयारी तेल पनि उल्लेख्य परिमाणमा भारत निकासी भएको छ । चालु आवको ७ महिनामा यो नाकाबाट ४२ करोड ९३ लाख बराबरको ३२ लाख ९४ हजार किलो भटमासको तयारी तेल निकासी भएको छ । गत आवको यसै अवधिमा यो तेलको निकासी शून्य थियो । यसको निकासीमा पनि शून्य भन्सार शुल्क लाग्छ ।

भटमासको कच्चा तेल अर्जेन्टिना र ब्राजिलबाट आयात गर्छन् । यसको आयातमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । छैटौं नम्बरमा आयल केक पामको पिना रहेको महतो बताउँछन् । माघ मसान्तसम्म यो नाकाबाट ३६ करोड ९७ लाख बराबरको ९६ लाख किलो पिना निकासी भएको छ । यसको निकासीमा प्रतिकिलो ५० पैसा भन्सार शुल्क लाग्छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?