कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनमा उखु किसान : सरकारी अनुदान माग

किसानले पाउनुपर्ने २६ करोड ७४ लाख ५ महिनादेखि कोलेनिकाको खातामै थन्कियो
ओमप्रकाश ठाकुर

सर्लाही — सरकारी अनुदानको माग गर्दै सर्लाही, महोत्तरी र रौतहटका उखु किसानले पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवनमा सोमबार प्रदर्शन गरेका छन् । गत वर्ष बिक्री गरेको उखुको सरकारबाट पाउने अनुदान नपाएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनमा उखु किसान : सरकारी अनुदान माग

किसानले सोमबार हरिवनमा र्‍यालीको आयोजना गरी गत वर्षकै अनुदानबापतको रकम पाउनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । मिलगेट उखु उत्पादक समिति, किसान हकहित समिति, नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघले संयुक्त रूपमा सरकारी अनुदानका लागि आन्दोलन थालेका हुन् ।


हरिवन चोकबाट उखुको लाँक्रासहित निक्लेको किसानहरूको र्‍याली पूर्व–पश्चिम राजमार्ग हँुदै इन्दुशंकर चिनी उद्योगको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा किसान तथा किसानका नेताहरूले सरकारको आलोचना गरेका थिए ।


झन्झटिलो कार्यविधिका कारण किसानले पाउनुपर्ने सरकारी अनुदान कोष तथा लेखा नियन्त्रण कार्यालयमा ५ महिनादेखि थन्किदा आफूहरू मारमा परेको भन्दै किसानहरू आन्दोलनमा उत्रेको बताएका छन् । बुधबारसम्म पनि सरकारले गत वर्षको अनुदान रकम नदिए कडा आन्दोलनमा उत्रिने किसान नेताहरूले बताएका छन् ।


कोणसभामा नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले दुई तिहाइको सरकार किसान मारा भएको आरोप लगााए । उनले सरकारले अनुदान घोषणा गरे पनि झन्झटिलो कार्यविधि बनाएर किसानलाई अनुदान पाउन नसक्ने वातावरण निर्माण गरेको बताए । यस्तै किसान नेता राजकुमार उप्रेतीले किसानहरू उखु काट्ने बेलामा सडकमा आउनुपर्ने बाध्यता आइलागेको बताए । उनले किसानको पीडा सरकार र कृषि मन्त्रालयका कर्मचारीले नबुझेको आरोप लगाए । उनले सरकार र कर्मचारीको विभिन्न जालझेलका कारण किसान अनुदान रकम पाउन नसकेको बताए ।


प्रदेश ३ का प्रदेश सांसद डिल्ली उप्रेतीले किसानको धैर्यताको बाँध जुन पनि बेला टुट्न सक्ने चेतावनी दिए । ‘किसानहरू सरकारसँग रोदन मात्र गरेको छ, धैर्यता टुटाएको छैन,’ उनले भने, ‘जुन दिन किसानको धैर्यताको बाँध टुट्छ त्यो दिन कर्फयुले पनि केही गर्न सक्दैन, बेलैमा किसानको समस्या समाधान होस् । उनले कर्मचारीहरूको कमिसनतन्त्र र विभिन्न जालझेलले किसान समस्यामा परेको बताए ।


उखु किसानलाई उत्पादन लागतअनुसारको मूल्य कम भएको भन्दै मन्त्रिपरिषदले साउन १८ गते नै किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने निर्णय गरेको थियो । सोहीअनुसार जिल्लास्थित कोलेनिकामा रकम समेत आइसकेको छ । तर किसानका लागि आएको अनुदानको रकम भुक्तानी हुन सकेको छैन ।


गत वर्षकै अनुदान बापत आएको रकम भुक्तानी हुन नसक्दा सर्लाहीका किसानले पाउनुपर्ने २६ करोड ७४लाख ३१ हजार अनुदान कोलेनिकाको खातामा ५ महिनादेखि नै थन्किएको छ । मन्त्रालयले पछिल्लोपटक अनुदान भुक्तानीका लागि किसानको जग्गाको कित्ता नम्बर र क्षेत्रफलसहितको प्रमाण पुर्जा प्रतिलिपि, त्यो नभए करार सम्झौता कागजातको प्रतिलिपि र त्यो पनि नभए सम्बन्धित स्थानीय तहको सिफारिस पत्र प्राप्त भएपछि मात्र भुक्तानी दिने उल्लेख छ ।


गत सिजनमा जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल तथा धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल किसानको उखु क्रसिङ गरेका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?