कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पप्पुले थाल्यो काम

'जुन गतिमा निर्माणको काम हुनुपर्थ्यो त्यो हुन सकेको छैन । यस्तै कछुवा गतिमा काम भए यस वर्ष पनि पुल सम्पन्न हुने छाँट छैन ।’ 
शिव पुरी

रौतहट — गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा निर्माणाधीन पुल बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले कामको पुनः थालनी गरेको छ । गत भदौ ९ मा टिकुलिया घाटमा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

पप्पुले थाल्यो काम

घटनापछि निर्माणको काम थाल्न चौतर्फी दबाब खेपेको कन्स्ट्रक्सनले बिस्तारै काम थालेको हो ।


उसको रबैयाले सडक डिभिजन चन्द्रनिगाहपुरका प्राविधिकहरू पनि आजित छन् । चार बर्षको अवधिमा ६० प्रतिशत पुलको सम्पन्न भएको छ । अहिले तेस्रो स्पानको काम भइरहेको छ । ठेकेदारले जति सक्दो चाडो रकम लगानी गरेर निर्माणको काम सक्नुपर्ने सडकका इन्जिनियर श्यामनारायण झाले बताए ।


पुल समयमा बन्न नसके पछि यस क्षेत्रको लाइफलाइन अस्तव्यस्त छ । ‘जुन स्पिडमा निर्माणको काम हुनुपर्थ्यो त्यो निकै कम छ,’ उनले भने, ‘अहिले कछुवा गतिमा काम भइरहेको छ । यो तालले यस वर्ष पनि सम्पन्न हुने छाँट छैन ।’ सडकले ठेकेदारलाई कामको स्पिड बढाउन भनेको छ । तागेता गरे पनि ठेकेदार चुप छ ।


एक वर्षअघि नै म्याद सकिएको पुलको सडकबाट थप समेत भएको छैन । कामको अवस्था हेरी थप्ने दाउमा सडक बसेको छ । यस्तै गतिमा काम भयो भने म्याद थपिने छाँट देखिँदैन । ‘उसले तीव्र गतिमा काम गरे यसै वर्ष काम सम्पन्न हुन्छ,’ इन्जिनियर मिश्र भन्छन्, ‘ठेकेदारको ताल हेर्दा सम्भव देखिएको छैन ।’ अहिले केप सम्मको काम सकिएको छ । यो ६ स्पान भएको पुल हो ।


तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर तीन वर्षभित्र निर्माण पूरा गर्ने लिखित गर्दै २०७१ असार २९ मा पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेको थियो ।


त्यसपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट २०७१ कात्तिक २९ गते शिलान्यास भयो । सम्झौताअनुसार २०७४ माघ २९ मा निर्माणको काम सम्पन्न हुनुपर्ने थियो । ठेकेदारले निर्माणकै अवधिमा काम छाडेर गए पछि पुल अलपत्र पर्‍र्यो । त्यहि बिच घाँस काट्न, खेतमा काम गर्न गएका र पर्व मनाउन आएकाहरू चढेको डुंगा त्यहीं दुर्घटना भयो । त्यसमा सवारमध्ये ५जनाको मृत्यु भयो । २४ जनाले पौडिएर ज्यान जोगाए ।


समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुर खाप दर्जनौं गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नु बाध्यात्मक अवस्था बन्यो । अहिले नदीमा बाँसको अस्थायी पुल बनाइएको छ । त्यहींबाट स्थानीय ओहोरदोहोर गर्छन् । मोटरसाइकल, साइकल लगायतका साना सवारी बाँसकै पुलबाट वारपार गर्छन् ।


पप्पुका साइड इन्जिनियर सुरेन्द्र यादवले अहिले कामले गति लिएको दाबी गरे । ‘पहिला भन्दा अहिले स्पिडमा काम भइरहेको छ,’ उनले भने, ‘यस वर्ष कुनै हालतमा निर्माणको काम सक्छौ ।’ स्थानीयले खिया लागेको डन्डी प्रयोग गरेको आरोपको उनले खण्डन गरेका छन् । ‘पुलमा पुरानो डन्डी लगाएकै छैन,’ उनले भने ।


सडकले समयमा भुक्तानी दिनुपर्ने उनको भनाइ छ । ठेकेदारले यसअघि ३५ प्रतिशत भुक्तानी लगिसकेको सडकले जनायो । ठेकेदारले कछुवा गतिमा काम गर्न थाले पछि पुल निर्माण भइरहेको स्थलमा स्थानीयले रखबारी गर्न थालेका छन् । उनिहरूले चाडो काम गर्न दबाब दिईरहेका छन् ।


ईन्जिनियर मिश्रका अनुसार स्थानिय पनि आएर निर्माणस्थलमा दिनभर जसो बस्छन् । यसले ठेकेदारलाई दबाब पारेको छ । निर्माणको प्रगति बारे चासो देखाउदै प्रदेशका भौतिक निर्माण राज्य मन्त्री डिम्पल झाले टिकुलीया पुलको स्थलगत हेरेकी छिन् । निर्मणस्थल पुगेकी मन्त्री झाले समयमा काम सक्नु पर्ने बताईन् । ‘अव पनि ढिला भयो भने जनताले दुख पाउछन,’ उनले भनिन, ‘जति सक्दो ठेकेदारले निर्माणको काम सकेर पुल चालु गर्न पर्छ ।’


डुंगा दुर्घट्ना भए पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत उसै बेला टिकुलीया पुगेका थिए । तीन वर्षमा निर्माण गरिसक्नुपर्ने पुल पप्पुले ४ वर्ष बिति सक्दा पनि नसकेको स्थानिय आक्रोस छन् । पुलके कारण सर्वसाधारण नदी तर्न डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुदै आएका थिए । समयमा पुल निर्माण नभएकै कारण दुर्घटना भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले पप्पुलाई कारबाही गर्नुपर्ने माग राखेर जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।


नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सञ्जाल मार्फत वक्तव्य जारी गर्दै टिकुलिया घटनाका मुख्य दोषी निर्माणाधीन पुलका ठेकेदारलाई कारबाही गर्नुपर्ने बताएका थिए । मुख्यमन्त्री राउतलाई पीडित परिवारले दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन नै भएकाले कारबाही गर्नुपर्ने माग अघि सारेका थिए । डुंगा दुर्घटनाको झण्डै ६ सातापछि ठेकेदार सुमित रौनियारका आफन्त आई मृतक परिबारलाई फकाउन रकम दिइएका थिए ।


पप्पुको अर्को पुल उस्तै

यता दुर्गा भगवती गाउँपालिका ५ स्थित रौतहट–सर्लाही सिमाक्षेत्रको बडहर्वा नजिक बागमति नदीमा र्मिाणाधीन पुलको ठेकेदारले एकतर्फी रूपमा ठेक्का रद्द गरेको छ । पुलको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको थियो ।


ठेकेदार कम्पनीसित २०६७ जेठ ३१ गते निर्माणको सम्झौता भएको हो । २०७० जेठ ३० गते निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का लुम्बिनीले सकार गरे पनि निर्माणको काम पप्पु कन्स्ट्रक्सनले थालेको हो । ठेक्का सकार गर्ने बेला पप्पु कालो सूचीमा परेको थियो ।


उसले लुम्बिनीको नाममा ठेक्का सकारेर काम थालेको हो । निर्माणको सबै जिम्मा पप्पुले लिएको थियो । नदीले धार परिवर्तन गरे पछि झन्डै ५ वर्षदेखि निर्माणको काम बन्द छ । पुल निर्माणको सम्झौता भएको ८ वर्ष बिते पनि सम्पन्न हुन सकेन ।


हुलाकी सडक आयोजना अन्तर्गत दुवै जिल्लाको सीमा जोड्ने गरी वाग्मतीमा पुल निर्माणकै क्रममा काम बन्द गरिएको थियो । नदीले धार बदलेपछि निर्माणको विषयमा अनुसन्धान गर्नुपर्ने निर्देशनालयले जानकारी दिँदै कामअघि नबढाउन भनिएको थियो । त्यसपछि पप्पुले काम बन्द गरेको हो । पुलको लम्बाइ ६३३ मिटर हो । चौडाइ डबल लेनको छ । पुलको १७ वटा पिलरको काम सकिएको छ । अब सुपर स्ट्रक्चरको काम बाँकी छ ।


निर्देशनालयका अनुसार ६० प्रतिशत बढी काम सकिएको छ । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले लुम्बिनीको काम पप्पु कन्स्ट्रक्सनले प्रतिनिधित्व गरेको बताए । ‘त्यो बेला काम गर्ने वातावरण नभएका र काम गर्नुपर्ने बाध्यताले पप्पु कन्स्ट्रक्सनलाई सहयोगको रूपमा काम गर्न दिएका हौं,’ उनले भने, ‘पप्पुले लुम्बिनी बिल्डर्सको फर्म प्रयोग गरेको हो ।’ पप्पुले देशभर पुल निर्माणको काम सकारेर त्यत्तिकै अलपत्र छाडेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?