कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ महिनामा ३६ चेलीको उद्धार

कान्तिपुर संवाददाता

पर्सा — काभ्रेपलाञ्चोककी ३५ वर्षीया एक महिला आफ्नी ४ वर्षीया छोरीसहित वीरगन्जको सीमावर्ती सहर रक्सौल रेलवे स्टेसनमा बेवारिसे अवस्थामा फेला परिन् ।

कोलकाताबाट रक्सौलसम्म आइपुगेका आमा–छोरी नेपाल प्रवेश गर्न नसकेपछि भारतीय प्रहरीले सीमावर्ती नेपाली प्रहरी चौकीलाई खबर गर्‍यो ।


माइती नेपाल वीरगन्ज आवधिक गृहका कर्मचारी सहितको टोलीले ती आमाछोरीलाई उद्धार गरी गृहमा ल्याई राख्यो । पछि आफन्त बोलाएर जिम्मा लगाई उनीहरूलाई गृह जिल्ला पठाइयो । गृहकी प्रमुख संगीता पुरीका अनुसार उनी एकल महिला हुन् । १ वर्षअघि आफन्तसँग कोलकाता पुगेकी उनी त्यहाँ पर्स बनाउने उद्योगमा मजदुरी गर्थिन् ।


उद्योग बन्द भएपछि बेरोजगार भएकी उनी डेराभाडा समेत तिर्न नसक्ने भएपछि सम्पूर्ण सामान त्यसै छोडी भागेर नेपाल आउन खोजेकी थिइन् । बेखर्ची अवस्थामा जसोतसो रेल चढेर रक्सौलसम्म आइपुगेकी उनी बेवारिसे बनेकी थिइन् ।


माइती नेपाल वीरगन्ज आवधिक गृहले डेढ महिनाको अवधिमा भारतबाट मात्र ८ चेलीलाई उद्धार गरी स्वदेशी भूमिमा ल्याएको छ । ८ मध्ये ४ लाई रक्सौल रेलवे स्टेसनबाट तथा ४ लाई भारतकै रामगढवाबाट उद्धार गरी ल्याएको हो ।


भारतीय प्रहरीको सहयोगमा रामगढवाबाट उद्धार गरिएका ४ जना किशोरी नाबालक थिए । उनीहरू त्यहाँ बन्धक बनाइएका थिए । अर्केस्टा भनिने नृत्य समूहमा जबरजस्ती नृत्य गर्ने उनीहरूको त्यहाँ शारीरिक शोषण पनि हुने गरेको किशोरीहरूले बताए ।


यस अवधिमा वीरगन्ज नाकाबाट मात्रै जोखिमपूर्ण रूपमा भारत प्रवेश गर्न लागेका २७ चेलीलाई गृहका कर्मचारीले उद्धार गरी फर्काएका छन् । उनीहरू दलालको प्रलोभनमा परी भारत जान लागेको अवस्थामा फेला परेका थिए ।


कुल उद्धार गरिएका ३६ चेलीमध्ये पर्साका ८, मोरङका ५, बाराका ३, सुनसरी, सिन्धुली, तनहुँ, काभ्रेपलाञ्चोक र रौतहटका २/२, चितवन, गोरखा, लमजुङ, नवलपुर, सप्तरी, खोटाङ, झापा, सर्लाही, ललितपुर र सिन्धुपाल्चोकका १/१ थिए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?