कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानीगाउँको बस्ती सार्न सुझाव

हरिराम उप्रेती

गोरखा — भूकम्पपछि पहिरोको जोखिममा परेको धार्चे गाउँपालिका–७ लापुको खानीगाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने भूगर्भविदको स्थलगत अध्ययनले देखाएको छ । 

खानीगाउँको बस्ती सार्न सुझाव

जिल्ला विपद् व्यवस्थापन समितिले खानीगाउँसहित आरूघाट गाउँपालिका–१ मान्बुको स्याम्चेत बस्तीको भौगर्भिक अध्ययनका लागि पुनर्मिर्माण प्राधिकरणमा पत्राचार गरेको थियो ।


गत साता प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुली, भूगर्भविद् लेखप्रसाद भट्ट र नापी अधिकृत कृष्णबहादुर थापाको टोलीले उक्त बस्तीको स्थलगत निरीक्षण गरेको थियो । ‘बस्न उपयुक्त छैन, खानीगाउँ बस्ती सार्नुपर्छ भनेर रिपोर्ट तयार पारेका छौं,’ पराजुलीले भने, ‘प्रमुख कार्यकारी अधिकृतलाई रिपोर्ट बुझाएपछि, कार्यकारी समितिमा छलफल हुन्छ, अनि एउटा निर्णयमा पुग्छौं ।’


भूकम्पपछिको निजी आवास पुनर्निर्माणअन्तर्गत पाउने सरकारी अनुदानले घर बनाएका यहाँका स्थानीयको बस्ती गत साउन पहिलो साताको पहिरोले जोखिममा परेको हो । दोङस्योङ खोलाले बस्तीतर्फ कटान गर्दा ४० घरधुरी गत साउनमै विस्थापित भएका थिए ।


‘पहिरोको छेउछाउ रहेको तर नढलेका २१ घरका मान्छे बर्खा सकिएपछि फर्किएका छन्,’ स्थानीय चन्द्रमान गुरुङले भने, ‘१९ घरमा बस्न मिल्दैन । पुरानै घरका काठपात लगेर गोरखनाथ आधारभूत विद्यालय नजिकै सुरक्षित लागेको ठाउँमा टहरो हालेर बसेका छौं ।’ विस्थापित बनेर बसेका १९ घरको बस्ती पनि बसोबासका लागि उपयुक्त नरहेको स्थानीयको बुझाइ छ ।


खोलाको कटान र बस्तीभित्र धाँजा फाटदा जोखिम बढेको उनको भनाइ छ । ‘भूकम्पले भत्काएको घर ऋणधन गरेर बनाएपछि आरामले बस्न पाइने भयो सोचेका थियौं,’ गुरुङले भने, ‘घर बनिसकेपछि अर्को आपत आइपर्‍यो । खोलाको कटान छँदै छ, आँगन र घरभित्रकै जमिन चिरा पर्‍यो, कमजोर माटो रहेछ घर पनि तल दबिएपछि बाध्य भएर सर्नुपर्‍यो ।’


सरकारी अनुदानले नपुगेपछि ऋण खोजेर बनाएको घर पहिरोको जोखिममा परेपछि यहाँका स्थानीय चिन्तित छन् । ‘ढुवानी भाडा बढी लाग्छ, कम्तीमा एउटा घर बनाउन ४–५ लाख लागेको छ,’ उनले भने,‘ बनेको नयाँ घरमा बस्न पनि पाएनौँ, दुई घरको त अन्तिम किस्ता लिन नपाउँदै घर पहिरोको जोखिममा पर्‍यो ।’ बस्ती जोखिममा परेपछि यहाँका स्थानीयहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन माग गर्दै आएका छन् । खानेपानी पाइप पहिरालेले लगेपछि झनै समस्या थपिएको गुरुङले गुनासो गरे ।


भौगर्भिक सर्वेक्षणअनुसार खानीगाउँभरिका १ सय २१ घर नै पहिरोको जोखिममा परेका छन् । ऊक्त बस्तीको स्थलगत अध्ययनको त्रममा साना–ठूला थुप्रै पहिरा भेटिएको प्राधिकरणका भूगर्वविद् लेखप्रसाद भट्टले बताए । खोला रोकथामभन्दा स्थानान्तरण गर्न सजिलो रहेको उनको बुझाइ छ । ‘दोङस्योङ खोलाले बस्तीतर्फको जमिन कटान गरेको छ, बस्तीभित्रका खोल्सामा पनि साना पहिरा थुप्रै छन्,’ उनले भने, ‘सानो पानी परे पनि जमिन कटान गरेको छ, बर्खामा अझै जोखिम बढ्ने देखियो ।’


स्थलगत अध्ययनको क्रममा उक्त बस्तीको माटो निकै कमजोर रहेको पाइएको पनि उनले बताए । ‘खोलाको पारिपट्टि चट्टान छ, बस्तीतर्फको माटो खुकुलो हुँदा सजिलै बग्ने भयो,’ उनले भने ।


पुरानो बस्ती जोखिममा परेपछि स्थनान्तरणका लागि स्थानीयले प्रस्ताव गरेको ठाउँको पनि उक्त टोलीले अध्ययन गरेको छ । ‘अहिलेको बस्तीभन्दा डेड–दुई किलोमिटर पर स्थानीयले देखाएको वैकल्पिक ठाउँ पनि हेर्‍यौं,’ भट्टले भने, ‘एउटा ठाउँ ओसिलो छ, अर्को ठाउँमा पर्याप्त जग्गा छैन, तत्काल राम्रो देखिए पनि १०–१५ वर्षपछि पहिरो सर्दै आउन सक्छ भन्ने निर्क्योल निकाल्यौं ।’ स्थानीयले प्रस्ताव गरेको कोलडाँडा र थुसुकुम भन्ने स्थान स्थानान्तरणका लागि उपयुक्त नरहेको उनको भनाइ छ ।


स्थानीयलाई अन्य वैकल्पिक ठाउँ हेर्न सुझाव दिएको भट्टले बताए । ‘एकीकृत बस्ती बसाल्दा बाटो खानेपानीलगायतका पूर्वाधार चाहिन्छ,’ उनले भने, ‘स्थानीयले देखाएको वैकल्पिक ठाउँ उपयुक्त नरहेपछि अर्को विकल्प खोज्न मौखिम रूपमा भनेका छौं ।’


आरूघाट गाउँपालिका–१ मान्बुस्थित स्याम्चेतको बस्ती माथिको पहिरो रोकथाम गर्ने सम्भावना भने देखिएको भट्टले बताए । वर्षातको समयमा स्याम्चेतको मजङ पाखाबाट बग्ने लेदो माटो बस्तीसम्म आउन सक्ने भन्दै यहाँका सयभन्दा बढी घरका स्थानीय त्रासमा छन् । ठूलो पानी पर्दा बस्तीमाथि कुलो बनाएर लेदो कटाउने गरेका स्थानीयहरू बताउँछन् । ‘बस्ती माथि लेदो कटाउने स्ट्रक्चर बनाउन सके रोकथाम गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?