आफ्नै मन्त्रीप्रति राजपा सांसद असन्तुष्ट

अजित तिवारी

जनकपुर — राष्ट्रिय जनता पार्टीभित्र प्रदेश २ सरकारका मन्त्रीलाई लिएर असन्तुष्टि चुलिएको छ । प्रदेशका बहुमत सांसदले मन्त्रीहरू परिवर्तन गर्न अध्यक्षमण्डलसँग माग गरेका छन् । पार्टीका मन्त्रीहरू अनियमिततामा मुछिएको, मन्त्री–राज्यमन्त्रीबीच दूरी बढेको र सत्ता गठबन्धन दलबीच समन्वय नगरी काम गर्ने गरेको आरोप उनीहरूले लगाएका छन् ।

राजपा अध्यक्षमण्डलका नेतासँग छलफल गर्दै प्रदेश २ का मन्त्री । तस्बिर : कान्तिपुर

अध्यक्षमण्डलले पार्टीका संघीय सांसद, प्रदेश २ का मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग जनकपुरमा गरेको छलफलमा सांसदले मन्त्रीका कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । शुक्रबारदेखि सुरु छलफलमा तीनै तहका जनप्रतिनिधिले आफ्ना कामबारे अध्यक्षमण्डललाई ब्रिफिङ गरेका थिए । छलफलआइतबार अबेर साँझ सकिएको छ ।

महासचिव एवं प्रदेश सांसद मनीष सुमनले प्रदेश मन्त्रीको ‘क्लास’ लिइएको बताए । ‘प्रदेशका मन्त्रीले बजेट आफूखुसी छरेका छन्, कानुन निर्माण सुस्त छ, मन्त्रालय सञ्चालन प्रभावकारी छैन,’ उनले कान्तिपुरसँग भने, ‘यही मामिलामा मन्त्रीहरूको क्लास लिइएको छ । प्रायः सांसदले मन्त्रीका काम गराइप्रति असन्तुष्टि पोखे ।’ उनले कामै गर्न नसक्ने मन्त्रीलाई फेर्न सांसदहरूले आग्रह गरेको बताए ।

प्रदेश २ मा राजपाका ११ जना संघीय सांसद, २५ जना प्रदेश सांसद, प्रदेश २ सरकारमा ३ जना मन्त्री र ३ जना राज्यमन्त्री तथा २५ वटा स्थानीय तहमा प्रमुख–उपप्रमुख छन् । अध्यक्षमण्डलले आफ्ना यी सबै जनप्रतिनिधिसँग बेग्लाबेग्लै बिफ्रिङ लिएका थिए । केन्द्रीय प्रवक्ता कृष्णा सिंहले आन्तरिक समस्या बुझ्न छलफल गरिएकाले किचलोकै विषयले बढी प्राथमिकता पाएको बताए ।

‘राज्यमन्त्रीले मन्त्रीले नटेरेको गुनासो गरे, प्रदेश सांसदले पनि मन्त्रीको काम चित्तबुझ्दो नभएको आरोप लगाए,’ प्रवक्ता सिंहले भने, ‘मेयरले अधिकार दिएनन् भन्ने उपमेयरहरूको गुनासो छ । उपमेयरका पतिले काममा अवरोध पुर्‍याउने गरेको बाध्यता मेयरले सुनाए ।’

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार छ । ६ मन्त्रालयमध्ये ३ वटा पाएको राजपाका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साह सरकारमा छन् । राजपाको भागमा परेको तीनवटै मन्त्रालयमा राज्यमन्त्री छन् ।

‘अध्यक्षमण्डलका नेताले सबैको असन्तुष्टि टिपोट गर्नुभएको छ ।’ अध्यक्षमण्डलकै सामुन्ने प्रदेश सांसदले मन्त्रीहरू उपभोक्ता समितिमार्फत अनियमिततामा मुछिएको, बजेट आफ्नै जिल्लामा बढी खन्याएको, मन्त्रालय हाँक्न नसकेको र आसेपासेको घेराबन्दीबाट फुत्किन नमानेको आरोप लगाएका थिए । ‘राजपाले जिम्मा लिएको मन्त्रालयको बजेट समावेशी–समानुपातिक वितरण गरिएको छैन,’ प्रदेश सांसद उपेन्द्र महतोले कान्तिपुरसँग भने, ‘मन्त्रीले आफ्ना गृहजिल्लामा बजेट खन्याएका छन् । अरू जिल्लामा कनिका मात्र छरेका छन् ।’

तीनै जना मन्त्रीले भने आफ्नो बचाउ गरेका थिए । कर्मचारी अभाव रहेको, पार्टी पंक्तिबाटै असहयोग भएको र गरेका कामको जस नदिई आफूहरूलाई बदनाम गराउन खोजेको उनीहरूले गुनासो गरे । बजेट वितरणमा त्रुटि भएको स्विकार्दै उनीहरूले सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । प्रवक्ता सिंहले बिफ्रिङपछि प्रदेश सरकारका मन्त्रीका विषयमा छलफल गर्न अध्यक्षमण्डलको बैठक केही दिनमै बस्ने बताए । ‘मन्त्रीलाई निरन्तरता दिने कि फेर्ने अर्को बैठकमा छलफल हुनेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०९:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किम रेल चढेर ट्रम्प भेट्न हिँडे

रोयटर्स

सोल/हनोई — उत्तर कोरियाली नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न प्योङयाङबाट हनोईतर्फ प्रस्थान गरेका छन् । किम र ट्रम्पबीच यही बुधबार र बिहीबार भियतनामको राजधानी हनोईमा दुई दिने शिखर वार्ता हुँदै छ । दुई नेताबीच गत वर्ष सिंगापुरमा पहिलो शिखर वार्ता भएको थियो । 

उत्तर कोरियाली नेता किम जोङ–उन भियतनाम प्रस्थान गर्नुअघि प्योङयाङमा रेल चढेर अभिवादन गर्दै । तस्बिर ः एजेन्सी

गत वर्षको सम्मेलनका क्रममा दुई नेताबीच कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति भएको थियो । तर त्यसबारे कुनै प्रगति हुन नसकेका कारण दोस्रो शिखर बैठकलाई विश्व समुदायले चासोपूर्वकहेरेका छन् ।

किम सीमावर्ती चिनियाँ सहर डानडोङ हुँदै हनोईका लागि प्रस्थान गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किम चढेको रेल आउनुअघि उक्त क्षेत्रका होटल समेत खाली गराइएको थियो ।

चीन र उत्तर कोरियाली सीमामा पर्ने यालु नदीको पुल तरेर चीन प्रवेश गरेको किमको रेल सोमबार साँझ भियतनाममा पुग्ने जनाइएको छ । रेलमा किमकी बहिनी किम यो जोङ र प्रमुख वार्ताकार किम योङ चोलसमेत छन् ।

उत्तर कोरियाली टोली चढेको रेल चीनसँग सीमा जोडिएको भियतनामको डोङडाङ स्टेसनसम्म पुग्नेछ । त्यहाँबाट उक्त टोली कारमा राजधानी हनोई पुग्ने जनाइएको छ । किमको सुरक्षाका लागि डोङडाङ स्टेसन पुग्ने सडकमा गह्रौं सवारीको आवागमनमा रोक लगाइएको छ ।

भ्रमणका क्रममा किमले भियतनामी नेतृत्वसँग सद्भावभेट हुने जनाइएको छ । आफ्नाहजुरबुबा र बुबाजस्तै किमले पनि रेल यात्रालाई महत्त्व दिने गरेका छन् । किमका हजुरबुबा किम इल–सुङ र बुबा किम जोङ–इल पनि रेलबाट चीन गएका थिए ।

किम जोङ–इल हवाईजहाजमा यात्रा गर्न डराउने भएकाले रेल चढ्ने गर्थे । उनले याक्राका त्रममा रेलमा मनोरञ्जनका लागि केही महिलासमेत राख्ने गर्थे । इलको रेलसँगै गुड्ने अन्य दुई रेलमा सुरक्षाकर्मी र सरसामान राखिन्थ्यो । रेलका प्रत्येक डिब्बा बुलेटप्रुफ भएकाले बढी तौल छ । जसका कारण तीव्र गतिमा गुड्न नसक्ने जनाइएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT